मुस्ताङमा संघ,प्रदेश र तहको भौतिक निर्माण चिसोले प्रभावित

जोमसोम— मुस्ताङमा अत्यधिक मात्रामा चिसो बढेसँगै भौतिक विकास निर्माणको काम ठप्पै भएको छ ।चिसोको कारण उपकरण सञ्चालन, जनशक्ति व्यवस्थापन तथा विकास निर्माण कार्यमा अवरोध सृजना भएकाले मुस्ताङमा संघ तथा प्रदेश र स्थानीय निकायका दर्जनौं योजनाको काम रोकिएको हो ।

राष्ट्रिय गौरवको उत्तर÷दक्षिण जोड्ने (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङ खण्डको सडक निर्माण योजनाको काम चिसोले प्रभावित भएका हुन् । त्यसो त मुस्ताङमा निर्माणधिन केही सडक तथा पुलका योजनाहरु निर्माण कम्पनीका कारण अलपत्र छन् । आयोजना अन्तर्गत सञ्चालनमा रहेका केही योजनाहरु पनि अहिले चिसोका कारण रोकिएको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका प्रमुख धुव्र झाले जानकारी दिए । आयोजना प्रमुख झाका अनुसार मुस्ताङमा आयोजनाका विकासका कामहरु पुस अगावै चिसोले ठप्पै रोकिएको हो । ‘अहिले चिसोले केही काम गर्न सकिने अवस्था छैन, कामदार समेत तल झरिसके, आयोजना प्रमुख झाले भने,‘ अनुकुल मौसम सुरु हुन साथ स्थगित विकासका कामहरु पूनः सञ्चालन हुनेछन् । मुस्ताङमा आयोजना अन्तर्गत सडक तथा पुलपुलेसा निर्माणका कामहरु चिसोले रोकिएको भएपनि म्याग्दी खण्डमा भने धमाधम  काम भईरहेको आयोजना प्रमुख झाको भनाई छ ।

 मुस्ताङको तापक्रम माईनसमा झरेको छ । उपल्लो मुस्ताङमा झनै अत्यधिक चिसोले स्थानीय नागरिकको दैनिकी समेत निकै कष्ठकर छ । यसैका कारण पनि मुस्ताङका संघीय तथा प्रादेशिक सरकार तथा स्थानीय निकायका विकास योजनाका कामहरु सञ्चालन गर्न निकै चुनौती हुन्छ । चिसोका कारण विकास निर्माण कार्यका लागि परिचालन हुने उपकरणहरु स्टार्ट नहुने, निर्माण स्थलमा काम गर्न नसकिने भएकाले विकास निर्माणमा प्रयोग भएका उपकरण चलाउने अपरेटरहरु कार्यस्थलमा खटिन सक्तैनन् । चिसोले सडक तथा पुल लगायतका विभिन्नन योजनामा परिचालन भएका मजदुर जनशक्ति समेत चिसो सहन नसकेर अन्य स्थानमा फर्किने गर्छन । चिसोले विकास निर्माणको कार्य गर्दा सिमेन्ट,छठ र बालुवाको काम गर्न सक्ने अवस्था रहदैन ।

प्रादेशिक योजना अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङका अधिकाँश विकास योजनाको काम चिसोले अवरुद्ध बनेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । चालु वर्ष नयाँ र पुरानो साना ठुला गरी २४ वटा योजना रहेकोमा तल्लो मुस्ताङको २ वटा स्थानमा मात्रै आशिंक काम भएको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार थासाङमा लेते—धम्पु पुलको फाउन्डेसनको कटिङ काम र न्याउरिकोट जाने सडकको ढलानको काम भईरहेको उनले जनाए । कार्यालय प्रमुख श्रेष्ठले प्राविधिक समस्याले रोकिएका विकासका कामहरुको आवश्यक प्रक्रिया अघि बढाईएको र निर्माणधिन अवस्थामा रहेका विकासका कामहरु फागुन महिनाको दोश्रो सातादेखि पूनः सुरु गरिने बताए ।

यस्तै , खानेपानी,जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालय मुस्ताङको विकास योजनाका कामहरु समेत चिसोका कारण रोकिएको कार्यालयका ईन्जिनीयर कल्याण पौडेलले जानकारी दिए । खानेपानी, जलश्रोत र सिचाई योजनाका करिव २ दर्जन साना ठुला योजनाले चिसोले रोकिएको ईन्जिनीय पौडेलको भनाई छ । कार्यालय अन्तर्गत कालिगण्डकी नदी अन्तर्गत बृहत नदी नियन्त्रण परियोजना अन्तर्गतको ३ वटै खण्डकाको काम चिसोले प्रभावित बनेको उनले जनाए ।

 मुस्ताङमा चिसोका कारण मंसिर महिनादेखिनै विकास निर्माणका योजनाहरु प्रभावित हुन थालेका हुन् । जसअन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहबाट सञ्चालन भएका साना ठुला योजनाहरु चिसोले अवरुद्ध बनेको हो । अहिले मुस्ताङमा स्थानीय निकायबाट सञ्चालन भएका दर्जनौ योजनाको काम रोकिएको सम्वन्धित स्थानीय तहले जनाएका छन् ।  १ करोड भन्दा कम लागतमा निर्माण भईरहेको उपभोक्ता समितिबाट काम भएका योजनाहरु समेत नागरिक बेंसी झरेकाले टुक्रे योजनाको काम ठप्प भएको हो ।

 लोमान्थाङ गाउँपालिकाका सवईन्जिनीयर उदय तिमिल्सिनाले उपल्लो मुस्ताङमा चाहेर पनि विकासको काम नियमित गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । सवईन्जिनीय तिमिल्सिनाले पालिकाबाट ठेक्का सम्झौता भएका र उपभोक्ता समितिले गर्ने सबै विकासका कामहरु चिसोले रोकिएको बताए । यस्तै, घरपझोङ गाउँपालिकाका सवईन्जिनीयर राजन कडेलले चिसोका कारण कामदारहरु मुस्ताङ बस्न नसक्ने अवस्था भएकाले विकासको काम ठप्प हुन पुगेको बताए । ‘चिसोले ज्यान लिन्छकी भन्ने डर छ, दैनिक जिवनयापनमा पनि समस्या छ, सवईन्जिनीयर कडेलले भने, चिसोयाममा जबरजस्ती काम गर्दा विकास योजना दिगो पनि हुदैन, अब फागुन लागेपछि पालिकाका योजनाहरु पुनः सञ्चालनमा आउने छन् ।’

 मुस्ताङमा सघ,प्रदेश र स्थानीय निकायबाट सञ्चालन हुने भौतिक निर्माणका विकास योजना चिसोले प्रभावित भएपनि यहाँका कृषि लक्षित विकास योजनाहरु भने निरन्तर छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई , कृषि ज्ञान केन्द्र र शीतोष्ण वागवानी विकास केन्द्र मार्फा कार्यालयले भने कृषि लक्षित सैद्धान्तिक तथा प्राविधिक कामहरुलाई निरन्तरता दिएका छन् ।

मुस्ताङमा स्याउ बगैचा व्यवस्थापन ,स्याउको अनाधिकृत हाँगाबिगा काटछाँट, विषादी छर्किने, सिचाई र खेतीयोग्य जमिनमा आवश्यक मलजल गर्नका संघ तथा प्रदेशका कृषि लक्षित कार्यालयले निरन्तरता दिईरहेको पाईएको छ । मुस्ताङको तल्लो क्षेत्रका स्थानीय निकायले पनि वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका कृषकहरुलाई स्याउ बगैचा व्यवस्थापन सम्वन्धि आवश्यक तालिम दिन थालेका छन् ।


प्रतिक्रिया