जोमसोम ।
उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ स्थित कोरलानाकाबाट एक सय बढी चाईनिज विद्युतीय (ईभी) गाडी भित्रिएका छन् । भन्सार विभागको प्रक्रिया पु¥याई चिनबाट आयात गरिएका उक्त ईभी गाडीहरु अहिले मुस्ताङ भन्सार कार्यालयको न्हेचुङ स्थित बाहिरी परिसरमा राखिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव पाँच सय बढी बीवाईडी कम्पनीबाट बनेका ईभी गाडी भित्रिने अनुमान गरेको छ । आठ दिन अघि मात्रै पूर्ण रुपमा खुल्ला गरिएको कोरलानाकाबाट हालसम्म एक सय बढी चाईनिज गाडीहरु भित्रिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले कोरलानाकाबाट चाईनिज ईभी गाडीहरु भन्सार कार्यालय न्हेचुङमा आईपुगेको बताउँनुभयो ।
यसअघि उक्त चाईनिज ईभी गाडीहरु रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्र्याउने तयारी थियो । तर, त्यहाँको नाकामा बाढी पहिरोका कारण त्यहाँको नाका अवरुद्ध बनेपछि यहाँको कोरलानाका बैकल्पिक रुपमा प्रयोग गरी नेपाल भित्र्याईएको प्रमुख जिल्ला अधिकारी भुसालले उल्लेख गर्नुभयो । ‘भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट पाँच सय बढी ईभी गाडी ल्याउने जनाईएको छ,अरु गाडीहरु चाईनाबाट कोरला स्थित चाईनिज भन्सार कार्यालयमा आउने क्रममा छ ,’ प्रमुख जिल्ला अधिकारी भुसालले भन्नुभयो,‘ त्यहाँको चाईनिज भन्सारमा जाँचपास भएपनि नेपाल भित्रिने र नेपाली भन्सारले मालवस्तुको जाँचपास गरिन्छ ।’
चाईनाबाट नेपाल भित्रिएका ईभी गाडीका लागि चार्जिङ स्टेशनको समस्या परेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङ भन्सार कार्यालय रहेको स्थानमा थ्रिफेस विद्युत लाईन नभएको र चार्जिङ स्टेशन पनि नभएकाले चलाएर गन्तब्यसम्म लैजान समस्या परेको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।
यसैगरी बैकल्पिक रुपमा प्रयोगमा ल्याईएको यहाँको कोरलानाकाबाट चाईनिज ईभी गाडीसहित दसै पर्वका लागि लक्षित गरी लत्ता कपडा,ईलेक्टोनिक सामान र कस्मेटिक सामानहरु भित्रिने तयारीमा रहेको छ । कोरला स्थित चाईनिज भन्सारमा जाँचपास भई नेपाल भित्रिएका केही मझौला खालका मालवाहक कन्टेनर पनि न्हेचुङमा आईपुगेका छन् । कोरलानाकामा चिनिया मालवस्तु ढुवानीका लागि ७० देखि ८० वटासम्म मझौला कन्टेनरहरु बेनी—जोमसोम—कोरला सडक हुँदै कोरलानाकामा जम्मा भएको भन्सार प्रमुख खड्काले बताउँनुभयो । भन्सार विभागमा अनलाईन राजश्व भुक्तानी गरी त्यहाँको कोरलानाका हुँदै नेपाल भित्रिने मालवस्तुहरुको भन्सारले जाँचपास गरी गन्तब्यसम्म लैजान भन्सार कार्यालयले शिलबन्दी गरी वैधता प्रदान गर्ने भन्सार प्रमुख खड्को भनाई छ ।
कोरलानाकालाई ब्यापारिक मार्गको रुपमा विस्तार गर्न विभागले नेपाल बैंकको समन्वयमा लोमान्थाङ स्थित प्रभु बैंकलाई राजश्व दाखिला गर्ने अनुमति प्रदान गरिसकेको जनाईएको छ । विभागले कोरलानाकामा चाईनिज मालवस्तु ढुवानीका लागि एमएसटी ( शून्य वान) एक्जिम कोर्ड अनिवार्य गराएको छ । भन्सार कार्यालय र बिभागको अनलाईन सफ्टवेयरमा मार्फत राजश्व दाखिला गरेपछि मात्रै चिनिया मालवस्तु नेपालतर्फ आयात गर्न पाईनेछ । यसैगरी सिमाक्षेत्रमा वारपार गर्ने यात्रुहरुको लागि एमएसटी (शुन्य टु)को फाराम भरेपछि मात्रै नेपाली दश हजार रुपैया सम्मको मालवस्तु आयात गर्न पाईने प्रावधान रहेको भन्सार प्रमुख खड्काले जनाउँनुभयो ।
कोरलानाकाबाट आयात हुने मालवस्तु र ढुवानीका साधनलाई सुरक्षा र आवश्यक चेकजाँच गर्ने राजश्व चुहावट लगायतका कार्यहरुलाई नियन्त्रण गर्न आपसी सहयोग आदानप्रदान र सहजीकरण गर्ने निर्णय गरिएको छ । यहाँको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको अध्यक्षतामा बसेको जिल्ला राजश्व चुहावत नियन्त्रण समन्वय समितिले भन्सार कार्यालयलाई व्यवस्थित तुल्याउन ८ बुँदे निर्णय समेत गरिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली