जोमसोम— चार वर्षअघि स्थानीयले सित्तैमा जग्गादान गरेको भएपनि मुस्ताङको थासाङ गाउँपालिकाले अझै आफ्नो प्रशासकीय भवन निर्माण सुरु गर्न सकिरहेको छैन । २०७७ सालमा थासाङ—२ लार्जुङका स्थानीय केही व्यक्तिले गाउँपालिकाका लागि प्रशासकीय भवन बनाउन करिव ६ रोपनी जग्गा निःशुल्क दान गरेका थिए । तर, स्थानीयले दिएको जग्गामा राजनीति असमझदारी र विभिन्न कारणले थासाङ गाउँपालिकाले अझै आफ्नौ प्रशासकीय भौतिक संरचना निर्माणको प्रक्रिया अघि बढाउन सकेको छैन ।
थासाङ गाउँपालिकालाई प्रशासकीय भवन तथा कर्मचारी आवास भवन निर्माणका लागि थासाङ—२ का स्थानीय प्रविण गौचन, दुरेन्द्र शेरचन, विष्णुप्रसाद शेरचन र राम थकाली लगायतले करिव ६ रोपनी भन्दा बेसी जग्गा गाउँपालिकाको नाममा नामसारी गरी निःशुल्क जग्गा प्रदान गरेका थिए । उनीहरुले बेनी—जोमसोम सडकमार्ग अन्तर्गत थासाङ—२ स्थित कोवाङ स्वास्थ्य चौकीको पश्चिम सडकको अपोजिट साईडमा निःशुल्क जग्गादान भएको हो । संघीयता कार्यान्वयनसंगै कोवाङ खन्तीको भट्टचन समाजघरमा भाडामा कार्यालय संञ्चालन गर्दैआईहेको थासाङ गाउँपालिकाले प्रशासकीय भवन लगायतका संरचना निर्माण गर्न सित्तैमा व्यक्ति जग्गा प्राप्त गरेपनि ४ वर्ष बितिसक्दा समेत कुनै पूर्वाधार निर्माण गर्न सकिरहेको छैन ।
चालु आर्थिक वर्ष गाउँपालिकाको प्रशासकीय भवन बनाउन गाउँ कार्यपालिका र गाउँसभाले ३ करोड बजेट विनियोजन गरेको भएपनि संघीय सरकारले बजेट सुनिश्चिता गर्न नसक्दा प्रशासकीय भवन निर्माणको ठेक्का प्रक्रिया अघि बढ्न नसकेको प्रमुख प्रशासकीयअधिकृत महेश अधिकारीले जानकारी दिए । ‘ ‘गाउँपालिकालाई पहिल्यै भवन बनाउन जग्गादान भएको रहेछ, गाउँपालिकाले ४० र संघीय अनुदान ६० प्रतिशत साझेदारीमा भवन बनाउने प्रावधान छ, माथिबाट बजेट सुनिश्चित नहुँदा पूर्वाधार निर्माण गर्ने प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।’ उनले चालु वर्ष गाउँपालिकाले आफ्नो तर्फबाट विनियोजन गरेको रकम स्रोत सनिश्चित नहुँदा फ्रिज हुने पक्का छ, आगामी आर्थिक वर्ष फेरी गाउँपालिकाले पूर्वाधार निर्माणका लागि बजेट विनियोजन थपघट गर्न सक्छ ।
यसैगरी थासाङका वडाध्यक्ष गौतम शेरचनले गाउँपालिकाको प्रशासकीय भवन बनाउन स्थानीयबासीबाट निःशुल्क जग्गादान भएको र त्यसको गाउँपालिकाले समेत बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण गरिसकेको जानकारी दिए । उनले गाउँपालिकाको प्रशासकीय भवन र कर्मचारी आवास भवन बनाउन गापा अध्यक्ष समेतको टोली मन्त्रालय पुगेर माग गरेको भएपनि त्यसको स्रोत सुनिश्चित हुन ढिलाई भईरहेको बताए ।‘मन्त्रालयले लागत बढी भयो घटाउनु भनेको थियो, हामीले प्रशासकीय भवनको मात्रै लागत सिफारिस गरेका छौं, अझै पनि बजेट आउने नआउने टुंगो लागेको छैन ।
थासाङका स्थानीय समाजसेवी कृष्णकुमार शेरचनले थासाङको प्रशासकीय भवन बनाउन दुई वर्ष अगावै गाउँपालिकाले बजेट विनियोजन गरेको सुनाए । गाउँपालिकाको बैठकमा बजेट गर्ने बेला नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्षसहित ५ जना वडाध्यक्षहरुले गापाको बजेट विनियोजनप्रति असहमती जनाउँदै नोट अफ डिसेन्ट गरेकाले त्यसबेला ठेक्का खुलाउन नसकेको बताए । उनले त्यसबेला गापाको बजेट विनियोजनप्रति दलीय सहमती ,सहकार्य र समन्वय हुन नसकेको र संघीय बजेटको सुनिश्चितता नभई गाउँपालिकाले बजेट विनियोजन गरेको भन्दै कांग्रेसका जनप्रतिनिधिले त्यसमा असहमती जनाएको स्थानीय शेरचनको भनाई छ । उनले विगतका कमीकमजोरीहरुलाई आत्मसाथ गर्दै राजनीतिक समझदारी र सहकार्य गरी अघि बढ्नुको विकल्प नभएको बताए ।
संघीयता कार्यान्वयनमा आएसंगै सुरु भएको स्थानीय तहको केन्द्र विवादको समस्याले थासाङको प्रशासकीय भवन निर्माण प्रभावित बन्दै आईरुहेको थियो । थासाङमा एक पक्षले गाउँपालिकाको केन्द्र थासाङ—३ लेतेमा हुनुपर्ने अडान राखेको थियो । अर्को पक्षले थासाङको केन्द्र कोवाङमा हुनुपर्ने भनेको थियो । भौगोलिक केन्द्र विवादको रस्साकस्सी विवादले थासाङ गाउँपालिकाको भवन निर्माण ओझेलमा पर्दैआईरुहेको छ । भौगोलिक र राजनीतिक उतार चढावले गिजोलिएको थासाङको केन्द्र विवाद अझै सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । त्यसबेला थासाङको केन्द्र हेरफेरका लागि संघीय मामिला मन्त्रालय ६ महिने समय निर्धारण गरेको थियो । बहुमत पक्षले केन्द्र कोवाङमै हुनपर्ने भनेका थिए । सोही अनुसार संघीय सरकारले थासाङको केन्द्र कोवाङमै रहने गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो । थासाङमा कांग्रेस र एमाले पक्षका जनप्रतिनिधिहरुबीचको टसल अझै कायमै छ । जसका कारण थासाङको प्रशासकीय भौतिक संरचना निर्माणको काम सुरु हुन सकिरहेको छैन ।
संघीयताता कार्यान्वयनको सातौंवर्ष पुरा भईसक्दा मुस्ताङका ५ स्थानीय तह मध्ये ४ वटा स्थानीय तहले आफ्नै प्रशासकीय भौतिक संरचना निर्माण गरिसकेका छन् । मुस्ताङको लोमान्थाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रशासकीय भवन बनाईसकेका छन् भने लोघेकर दामोदरकुण्ड गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
थासाङ गाउँपालिकाले आफ्नै सरकारी कार्यालयको भौतिक संरचना निर्माण गर्ननसक्दा बर्सेनि लाखौं रुपैया भाडा बुझाउँदै आईरहेको छ । गाउँपालिकाको कार्यालय भवन नहुँदा भट्टचन समाजघरको सानो स्पेसमा गाउँपालिकाको नियमित कार्य गर्नुपर्दा समस्या पर्ने गरेको छ भने त्यहाका स्थानीय तहका कर्मचारीले व्यक्तिगत भाडा तिरेर आवासको व्यवस्था गर्नुपर्ने बाध्यता छ ।