मुस्ताङको थासाङमा भालुको डर

यहाँको थासाङ गाउँपालिका—५ स्थित कुञ्जो,ताक्लुङ ,छयो र झिप्रा देउराली लगायतका स्थानमा हिमाली कालो भालुको मानवीय जोखिम बढेको छ ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसोमको अधिनमा रहेको उक्त स्थानमा हिमाली कालो भालुको जोखिम बढेसंगै स्थानीयबासीलाई तनाव सृजना गरिदिएको छ ।

थासाङको कुञ्जो —ताक्लुङ लगायतका जंगलमा स्थानीयबासी घाँस दाउँरा गर्न, जंगलमा च्याउ टिप्न र पशुचौपाया चराउनका लागि स्थानीयलाई भालुको कतिबेला आक्रमण गर्न आउँछकी भन्ने जोखिम बढेको छ । भालुले आक्रमण गरिदेलाकी भन्ने भयले स्थानीयबासी निर्धक्क रुपमा जंगलमा जान सक्ने अवस्था समेत नरहेको स्थानीय बताउँछन् ।

करिव पाँच वर्षअघि उक्त स्थानमा भालुको आक्रमण परी त्यहाँका केही व्यक्ति घाईते समेत भएका थिए । गत असोज २१ गते मंगलबार बिहान थासाङ—५ स्थित कुञ्जो—ताक्लुङको  किमुलपाखा बन क्षेत्रमा च्याउँ टिप्न जाँदा स्थानीय ५५ वर्षीय भीमप्रसाद मगर घाईते भए ।मगरलाई च्याउ टिप्न जाने क्रममा भालुले पछाडीबाट झम्टिएर आक्रमण गरेको थियो । केहीबेर भालुसंग मुठभेड गरेका मगर धन्नले ज्यान जोगाउन सफल भएका थिए । भालुको आक्रमण परी घाईते भएका स्थानीय मगरको घाँटी,छाती,कान, गर्दन,पेट,औला र ओठमा गम्भिर चोट पटक लागेको थियो । त्यसपछि मगरलाई स्थानीयले थासाङ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए । तर मगरलाई शरिरको अन्य भागको चोटपटक निको भएपनि हातको औला निको भएन । केन्द्रमा उपचार गराएका घर फर्किएका मगर थप उपचारका लागि म्याग्दीको बेनी अस्पतालमा गए । त्यहाँ एक्सरे गर्दा भालुको दारा औलामा गडेको भेटियो । बेनी अस्पतालमा औलामा गडेको दारा झिकेर घर फर्किएका मगरको स्वास्थ्य अहिले सामान्य छ ।

 एक्यापले भालुको आक्रमण परी घाईते भएका मगरको घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको थियो । त्यसपछि मगरले भालुले आक्रमण गरी घाईते भएको र उपचारमा खर्च भएको व्यवहोरासहित मंसिर ७ गते व्यक्तिगत निवेदन र बन समितिको निवेदन एक्याप कार्यालय जोमसोममा बुझाए । यसैगरी पीडित मगरले क्षतिपूर्तीको माग गर्दै मंसिर १९ गते गाउँपालिका अन्तर्गत वडा कार्यालयको सिफारिस पनि एक्यापमा पेश गरे । मगरले भालुको आक्रमण परी घाईते भएको र उपचारमा १३ हजार २६० रुपैया खर्च भएको पत्र एक्यापलाई बुझाए ।

 एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले भालुको आक्रमण परी घाईते भएका मगरलाई बन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० को दफा ४ को उपदफा  ख र ग मा भएको व्यवस्था बमोजिम क्षति राहत उपलब्ध हुने जानकारी दिनुभयो ।

 यहाँको थासाङ गाउँपालिकाको बनक्षेत्रमा हिमाली कालो भालुको जोखिम बढ्दै गईरहेको थासाङका उपाध्यक्षा सोमल हिराचनले जानकारी दिनुभयो । उपाध्यक्ष हिराचनका अनुसार हिमाली भालुका कारण जंगलमा जान सहज अवस्था नरहेको र भालुको आतंकले स्थानीय किसानको बालीनाली समेत सखाप पारिदिने गरेको उल्लेख गर्नुभयो ।

थासाङको कुञ्जो—ताक्लुङ,छयो र झिप्रा देउराली लगायतका स्थानमा हिमाली भालुले स्थानीय किसानले उत्पादन गरेको मकै,फापर र आलु सखाप पारिदिने गरेको छ । थासाङ—४ घाँसामा वन्यजन्तु रतुवा मृगले स्थानीय किसानले उत्पादन गरेको अन्नबाली खाईदिने गरेको छ । यसैगरी घरपझोङ—१ मा पनि हिमाली कालो भालुले स्थानीय किसानले उत्पादन गरेको बालीनाली खाएर दुख दिने गरेको छ ।


प्रतिक्रिया