कोरलानाकामा २ करोड २४ लाख मुल्य बराबरको बिद्युतीय चुरोट (भेप) बराबद

नेपाल—चिन उत्तरी कोरलानाकाबाट दुई करोड २४ लाख मुल्य बराबरको बिद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । चिनबाट कोरलानाका हुँदै लुकाईछिपाई नेपालतर्फ अवैंध रुपमा ठुलो परिमाणमा संकास्पद वस्तु ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र मुस्ताङ भन्सार कार्यालय न्हेचुङले सोमबार साँझ ५ बजे संयुक्त रुपमा कोरलानाकामा रहेको एक मालबाहक कन्टेनरलाई खानतलासी गर्दा ८० कार्टुन अर्थात १६००० थान बिद्युतीय चुरोट (भेप) बरामद भएको हो ।

चिनबाट ३÷४ दिन अघि लोड गरी नेपालतर्फको कोरलानाकामा ल्याई राखिएको ना ६ ख ७५९१ नम्बरको मालबाहक कन्टेनरमा अवैंध रुपमा बिद्युतीय चुरोट (भेप) ल्याई राखिएको भन्ने विशेष सूचनाका आधारमा उक्त कन्टेनरलाई कोरलानाकामा खानतलासी गर्दा ठुलो परिमाणमा अवैंध बिद्युतीय चुरोट बरामद भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षण सन्तोष बस्यालले जानकारी दिनुभयो ।

 कोरलानाकाबाट बिद्युतीय चुरोट ल्याउन प्रतिबन्ध छ । प्रहरी स्रोतलाई प्राप्त विशेष सूचनाका आधारमा मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख रमेश खड्का,ईलाका प्रहरी कार्यालय छोसेरका प्रहरी सहायक निरीक्षक विष्णु रानाभाटको कमाण्डमा ९ जना प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट(बीओपी) न्हेचुङबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा १० जना सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधि ५ जना गरी २५ जनाको संयुक्त टोली खटिएर नेपाल—चिन कोरलानाकाबाट अवैंध रुपमा ल्याईएको बिद्युतीय चुरोट (भेप) सहित कन्टेनर र कन्टेनर चालकलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो ।

 अवैंध रुपमा बिद्युतीय चुरोट (भेप) ओसार÷पोसारमा संग्लन चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—५ बस्ने ३२ वर्षी पेमा लामालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । कोरलानाका मुस्ताङ स्थित मुस्ताङ भन्सार कार्यालय छोसेरबाट १४ किमी उत्तरतर्फ पर्दछ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्का अनुसार कोरलानाकामा बरामद गरिएको बिद्युतीय चुरोट कानुनी रुपमा अवैंध भएको र उक्त कन्टेनरमा राखिएका मालवस्तुको भन्सार घोषणा समेत नभएकाले अवैंध भएकाले भन्सार ,सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नियन्त्रणमा लिईएको बताउँनुभयो । कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएपछि ठुलो परिमाणमा अवैंध बिद्युतीय चुरोट बरामद भएको भन्सार प्रमुख खड्काले बताउँनुभयो ।

यसअघि वि.स. २०८१ साल पुस २० गते पनि यहाँको नेपाल—चिन उत्तरी कोरलानाकाबाट लुकाईछिपाई अवैंध रुपमा जोमसोम ल्याउँदै गर्दा  ६करोड ८१ लाख मुल्य बराबरको बिद्युतीय चुरोट (भेप) बरामद गरिएको थियो । त्यसबेला यहाँको कोरलानाका माथिल्लो मुस्ताङका दुई पालिकाका नागरिकहरुलाई मात्रै खुल्ला गरिएको थियो ।

हिउँदयामको मौसममा कोरलानाकाबाट अवैंध रुपमा चारी÷शिकारी र अवैंध क्रियाकलाप हुनसक्ने भएकाले सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीले निरन्तर सीमा गस्ती गर्ने गरेका छन् । नाकामा अत्यधिक चिसोका कारण सुनसान हुने भएकाले चिनबाट नेपालतर्फ अवैंध मालसामान भित्रिने सम्भावना रहेकाले कोरला सीमाक्षेत्रमा सुरक्षा निगरानीमा कडाई गरिएको छ ।


प्रतिक्रिया