जोमसोम—कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र कागबेनीदेखि छुसाङसम्मको ९ दशमलव ८ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । यसका लागि नेपाल सरकार अर्थ मन्त्रालयले बजेट श्रोत सुनिश्चित गरेको आयोजनाले जनाएको छ ।
मुस्ताङको कागबेनीदेखि छुसाङ सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले बहवुर्षीय ठेक्का योजनाका रुपमा ५० करोड बजेट सुनिश्चत गरेको आयोजनाका प्रमुख धुब्र झाले जानकारी दिए ।
योसंगै कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि छुसाङसम्म करिव ११५ किलोमिटर सडक कालोपत्रे हुने आयोजना प्रमुख झाको भनाई छ । यसअघि कोरला सडक अन्तर्गत मालढुंगादेखि कागबेनीसम्म १०५ किमी सडकको कालापत्रे ठेक्का भई काम अघि बढेको थियो ।
आयोजनाले कोरला सडक अन्तर्गत कालोपत्रे योजनाको ७५ प्रतिशत भौतिक प्रगती सम्पन्न गरेको उनले बताए । यस्तै, कोरला सडक अन्तर्गत कागबेनीदेखि कोरलासम्म ९७ किलोमिटर ग्राभेल भईसकेको आयोजना प्रमुख झाले बताए ।
कालोपत्रे नयाँ योजना अन्तर्गत कागबेनीदेखि छुसाङसम्मको दुरीमा अस्फाल्ट कालोपत्रे सडकको नयांँ ठेक्का प्रक्रिया जेठ महिना भित्र सम्पन्न हुने जानकारी दिए ।