कालीगण्डकी नदी तिरमा एक्लै बस्दा

याम बहादुर थापा मगर

बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचउर, बागलुङ

कालीगण्डकी नदी तिरमा एक्लै बस्दा

--------------------------------------------

कालीगण्डकीको किनारमा,

साँझको सुनौलो घाम पानीमा चिप्लिँदै

थकित भएर अस्ताउँदै थियो घाम ।

म एक्लै थिएँ—न कसैको पर्खाइ, न कुनै आवाज।

नदीको बहावमा एउटा पुरानो गीत सुनिन्थ्यो,

जुन गीत कसैले गाएको थिएन,

तर सबैले महसुस गरेको थियो।

-------------------------------------------------------

चिसो बतासले गालामा केही भन्छ जस्तो लाग्थ्यो,

जस्तो कि नदीले आफ्नो कथा भन्न खोजेझैं।

काठका ढुंगाहरू, बालुवाका छेउहरू,

र ती चिप्ला गजुरीहरू—सबै चुपचाप थिए,

तर मौनताले नै गहिरो संवाद बुनिरहेको थियो।

---------------------------------------------------

त्यही मौनतामा, म आफू भित्र हराएँ।

जीवनका घुम्तीहरू सम्झेँ, कतै बिर्सेका सपनाहरू,

कतै चुँडिएका सम्बन्धहरू, कतै अझै बाँकी रहेका प्रश्नहरू। नदीको बहाव जस्तै समय पनि बगिरहेको थियो,

तर म त एकै थलोमा स्थिर थिएँ ।

पानीको बहावसँग होइन, मनको बहावसँग यात्रा गरिरहेको।

-------------------------------------------

कालीगण्डकी कुनै नदी मात्र होइन,

एउटा सम्पत्ति हो—जहाँ म आफ्नो छायाँ होइन,

आत्मा देख्थेँ,कहिले आँसु, कहिले हाँसो,

कहिले शून्यता—सबै अनुभूतिहरू

पानीमा विलीन भएर नयाँ आकार लिँदै थिए।

-------------------------------------------

एक्लोपनको त्यो क्षण मलाई डर लाग्दो थिएन,

बरु त्यो एकान्तमा मैले आफ्नै आवाज भेट्टाएँ—सानो,

तर प्रष्ट रुपमा म फर्कन नचाहने गरी बसेको थिएँ।

नदीको छेउमा होइन, आफ्नै अन्तरात्माको छेउमा।

----------------------------------------

र, जब अँध्यारो चुपचाप झरिरहेको थियो,

कालीगण्डकी अझै बोलिरहेकी थिइन्

मात्र सुन सक्नेहरूका लागि।

निरन्तर सुनसान गन्तव्यमा बगिरहेको

-----------------------------------------

समाप्त



प्रतिक्रिया