मुस्ताङमा ७२ हजार पशुचौपायालाई पूर्ण खोप

जोमसोम—हिमाली जिल्ला मुस्ताङका ५ वटै स्थानीय तहलाई लक्षित गरी पशुको पूर्ण खोप अभियान संञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहमा रहेका ७२ हजार ७० वटा पशुचौपायालाई पूर्ण खोपको सुनिश्चितता गर्न अभियान चलाएको हो ।

पशुपालन व्यवसायका रुपमा हिमाली जिल्ला मुस्ताङ  प्रचूर संम्भावना भएको जिल्ला हो । यहाँ मुख्य गरी भेडा÷च्यांग्रा र याकचौरी व्यवसायिक रुपमा पालन गरिएको छ । पछिल्लो समय मुस्ताङमा व्यवसायिक रुपमा उन्नत गाई पालन समेत निकै फस्टाउँदै जान थालेको छ ।

पशुपालन व्यवसायको चुनौतीको रुपमा रहेको प्रमुख रोगहरुको नियन्त्रण गर्दै पशु स्वास्थ्यको ग्यारेण्टी गर्न पशुमा पूर्ण खोप अभियान संञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका पशु चिकित्सक डा. लालमणी  अर्यालले जानकारी दिए । उनका अनुसार पशुमा लाग्ने जुनेटिक रोगहरुको निदान गर्न र प्रति जैविक प्रतिरोध न्यूनिकरण गर्न अभियानले महत्वपूर्ण योगदान पू¥याउने पशु चिकित्सक डा. अर्यालले बताए ।

‘पशुमा नियमित खोप लगाऔं,रोगको रोगथामसंगै उत्पादन बढाऔं’ भन्ने नारासहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले मुस्ताङमा पशुमा पूर्ण खोप अभियान संञ्चालन गरेको हो । पशुमा पूर्ण खोप अभियान अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकामा ६ हजार १२६,घरपझोङ गाउँपालिकामा  ५ हजार ६४५,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा  २० हजार २९३, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १६ हजार ९४९ र लोमान्थाङ गाउँपालिकमा १३ हजार ५७ वटा पशुचौपायामा पूर्ण खोप लगाउने गरी तथ्यांक संकलन गरिएको छ ।

पशुमा पूर्ण खोप अभियान कार्यक्रममा गाई ५ हजार ७७,भैसी १८८,बाख्रा १ हजार ९०,बंगुर १९०,कुकुर ५१०, याकचौरी ४ हजार १५७ , भेडा ४ हजार ७९९ र च्यांग्रा ४५ हजार २९२ वटामा पूर्ण खोप लगाईने पशु चिकित्सक अर्यालले उल्लेख गरे । पशु तथ्यांकमा सबै भन्दा बेसी उपल्लो मुस्ताङमा पशु चौपायाको संख्या रहेको छ । उपल्लो मुस्ताङका २ पालिकामा गरी झन्डै ४० हजार पशुलाई पूर्ण खोपको सुनिश्चितता गर्न लागिएको हो । पालिका स्तरीय संख्यामा वारागुङ मुक्तिक्षेत्रमा सबै भन्दा धेरै पशुचौपाय रहेको तथ्यांकमा समेटिएको छ । सबै भन्दा कम संख्यामा घरपझोङमा पशुचौपाया रहेको पाईएको छ ।

दशै—तिहार जस्ता महत्वपूर्ण चाडपर्वमा जिल्ला बाहिरका व्यापारीहरु मुस्ताङ आएर भेडाच्यांग्रा खरिद गर्ने भएका पशु रोग रोकथाम गर्न पूर्ण खोप अभियान प्रभावकारी हुने विश्वास गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले पशुमा पूर्ण खोप लगाउन गाईभैसी तथा बंगुरका लागि सम्वन्धि पशुपालक फार्ममा खोप स्थान तोकिएको छ । यसैगरी भेडाबाख्रा तथा कुकुरको कुनै स्थान तोकी खोप कार्यक्रम संञ्चालन गर्ने कार्यालयले बताएको छ ।

मुस्ताङमा पशुमा पूर्ण खोप अभियान संञ्चालन गर्न स्थानीय तह छनौट,पशु तथ्यांक संकलन र अभिमुखिकरण लगायतका कार्यक्रम संम्पन्न भईसकेका छन् । यसका साथसाथै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहका पशु शाखा कार्यालयसंग समन्वय  र सहकार्य गरी पशुमा पूर्ण खोप लगाउने कार्य समेत संञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पशुमा पूर्ण खोप लगाउने कार्यक्रम भईरहेको पशुचिकित्सक अर्यालले जानकारी दिए । कार्यालयको मापदण्ड अनुसार जिल्लाका ७२ हजार पशु चौपाया मध्ये  ८० प्रतिशत भन्दा माथि पशुलाई पूर्ण खोप लगाईसकेपछि मुस्ताङलाई पशुमा पूर्ण खोपयूक्त जिल्ला घोषणा गर्न सकिने छ ।

मुस्ताङमा पशुमा पूर्ण खोप अभियान सुरु भईसकेको र यसका लागि बजेट तर्जुमा भई खोपका भ्याक्सिनहरु पर्याप्त मौजाद रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । मुस्ताङमा विभिन्न प्रजातीका पशुचौपायाहरुलाई ५ प्रकारका खोप लगाईदै छ । पशु खोप अभियानका लागि कार्यालयले भोलियन्टरका रुपमा सम्वन्धित पशु प्राविधिकहरुलाई स्थानीय स्तरमा परिचालन गरिएको छ । खटाईएको प्राविधिकहरु पशु धनीका गोठ,फार्म, तोकिएको स्थान र उच्चलेंकका गोठमा पुगेर पशुपालकलाई सेवा दिन थालिएको छ । पशुमा पूर्ण खोप लगाएका पशुधनीलाई पशु निरोगिताका साथै पूर्ण खोप प्रमाणपत्र वितरण गरिने छ ।

पशु चिकित्सक अर्यालले पूर्ण खोप लगाएका पशुपालकलाई सरकारी अनुदान सहुलियत दिने मापदण्ड तोकिएमा खोप कार्यक्रम फलदायी हुने बताए । उनले मुस्ताङका कतिपय पशु धनीले पशुमा खोप लगाउदा साईड ईफेक्ट पर्ने भन्दै ईन्कार गरेकाले उनीहरुमा सचेतना अभिवृद्धि गर्ने  खोपका माध्यमबाट अनुदानमा जाडिनुपर्ने स्थानीय तहलाई सुझाएका छन् । उनले उत्तरी कोरलानाकाबाट मुस्ताङ भित्रिन सक्ने भेडा÷च्यांग्राहरुलाई पनि खोपको वैकल्पिक व्यवस्था गरिएको उनले बताए ।


प्रतिक्रिया