साँढे दुई वर्षमा चार हजार २२० जनालाई कोरला बोर्डर पास वितरण

जोमसोम

मुस्ताङमा चार हजार २२० जना नागरिकलाई उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने प्रस्थान अनुमति पत्र (सीमापार) पास वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र ईलाका प्रशासन कार्यालय लोमान्थाङले नाका खुलेको सांढे दुई वर्ष अवधिमा उक्त संख्यामा मुस्ताङका नागरिकहरुलाई चिन जाने प्रस्थान अनुमति पत्र सीमापार पास वितरण गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार चिनको सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा हालसम्म दुई हजार ३२५ जनाले चिन प्रस्थान गर्ने सीमापार पास प्राप्त गरेका छन् । उपल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिकामा छ सय ३८ जना नागरिकलाई चिन जाने सीमापार वितरण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

 यसैगरी मुस्ताङको तल्लो क्षेत्रमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छ सय ३१ जना ,घरपझोङ गाउपालिकामा  चार सय ५८ जना र थासाङ गाउँपालिकामा एक सय ६८ जना नागरिकलाई चिन प्रस्थान अनुमति पत्र (सीमापार)पास वितरण गरिएको मुस्ताङका प्रजिअ भुसालले बताउँनुभयो ।

यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले त्यहाँको ईलाका प्रशासन कार्यालय र सम्वन्धित गाउपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकहरुलाई शिविर सञ्चालन गरेर चिन जाने प्रस्थान अनमति पत्र (सीमापार) पास वितरण गरेको थियो । यसैगरी तल्लो मुस्ताङका तीन गाउँपालिकामा भने सम्वन्धित स्थानीय तहको सिफारिस —पत्रमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले सीमापार पास वितरण गरेको थियो ।

 मुस्ताङको कुल जनसंख्याको तुलनामा एक तिहाईले मात्रै चिन जाने प्रस्थान अनुमति पाएका हुन् । यहाँका कतिपय नागरिक विदेशमा रहेको र कतिपय जिल्ला बाहिर बसोबास गर्ने भएकाले सिमापार पास बनाउनेको सख्या उल्लेख्य रुपमा वृद्धि हुन नसकेको हो ।

 तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को चिन भ्रमणपछि वि.स. २०८० साल कार्तिक २७ गते नेपाल—चिन कोरलानाका औपचारिक रुपमा बाह्रै महिना खुल्ला गरिएको थियो । चिन पक्षले खासगरी उपल्लो मुस्ताङको सीमावर्ती गाउँपालिका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै कोरलानाका खुल्ला गरेको थियो । नाका खुलेको केही समयपछि नेपाल—चिन पक्षको आपसी समझदारीमा मुस्ताङका पाँच वटै पालिकाका नागरिकहरुलाई सीमापार पास वितरण गर्न थालिएको थियो । त्यसबेला चिन पक्षले कोरलानाकाको तिब्बती भूमी लिग्चेमा निकै तामझाँमका साथ आतसबाजी गरेर कोरलानाका खुल्ला भएको सन्देश दिएको थियो ।

 कोरलानाका खुल्ला गरिनु अघि कोरना कहरको संक्रमणकालिन अवस्थामा चिन पक्षले लगातार चार वर्षसम्म एकपक्षिय रुपमा कोरलानाकाको ढोका बन्द गरेको थियो । त्यससमय चिन पक्षले नाका बन्द गरेपछि उपल्लो मुस्ताङमा चिनियाँ समाग्रीको अभाव खट्किएको थियो ।

  त्यसअघि नेपाल—चिन कोरलानाका अन्तरदेशीय अल्पकालिन ब्यापार मेलाको रुपमा चिनको तिब्बती भूमीमा सञ्चालन हुने गथ्र्यो । नेपाल—चिन उपल्लो मुस्ताङका सीमावर्ती बासिन्दाहरुको सुविधाका लागि भन्दै चिन पक्षले त्यससमयमा बर्सेनि असार र भदौ महिनामा अन्तरदेशीय अल्पकालिन ब्यापार मेला चलाउने गथ्र्यो । त्यहाँ उपल्लो मुस्ताङका नागरिकहरुले आफुलाई चाहिने दैनिक उपभोग्य वस्तु आयात गर्ने गरिन्थ्यो । त्यहाँ सीमावर्ती क्षेत्रका नागरिकहरुलाई लक्षित गरेर चिनको तिब्बती भूमी लिग्चेमा हाटबजार चलाउने गरेको थियो । 

 कोरलानाका चिन पक्षले औपचारिक रुपमा बाह्रे महिना खुल्ला गरेपछि उपल्लो मुस्ताङका स्थानीय नागरिकहरु निकै खुसी र उत्साहित भएका थिए । तर,उनीहरुको उत्साह विगत  साँत महिनादेखि पूर्ण विराम लागेको छ । नाकामा नेपाल पक्षले भन्सार नाकालाई सशक्त तुल्याउन विलम्व हुँदा त्यहाँका नागरिकहरुलाई चिनियाँ सामान आयातमा नियमन गरिएको हो । मुस्ताङको लोमान्थाङ—२ न्हेचुङमा भन्सार कार्यालय संञ्चालनमा रहेपनि भन्सारलाई आवश्यक खाद्य क्वारेन्टाईन,पशु क्वारेन्टाईन, पेय पदार्थ क्वारेन्टाईन लगायतका संरचना निर्माण नहुँदा त्यहाँको मुस्ताङ भन्सार कार्यालयको कार्यसम्पादन सशक्त बन्न नसकेको हो ।

भन्सार कार्यालयका लागि आवश्यक पूर्वाधार निर्माण नहुँदा उपल्लो मुस्ताङका स्थानीय ब्यापारीहरुले चिनिया सामान आयात गरी आन्तरिक व्यापार गर्नमा समेत समस्या परेको छ ।

 सरकारले उत्तरी कोरलानाका खुल्ला भएपछि त्यहाँका दसगजा क्षेत्रमा अध्यागमन कार्यालय समेत स्थापना गरिसकेको छ ।


प्रतिक्रिया