मुस्ताङको छिप्लुङमा हिमपहिरो,बोक्सी खोला थुनियो

जामसोम— मुस्ताङको थासाङ—२ बोक्सी खोला माथि  शुक्रबार दिउँसो हिमपहिरो खसेर थुनिएको छ ।मुस्ताङको थासाङ स्थित मानापाथी हिमालको फेंदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरो बोक्सी खोला माथि छिप्लुङसम्म थुनिएको जनाईएको छ । 

 थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिव १ हजार मिटरको दुरीमा  ठप्प जमेर बसेको  थासाङ गाउँपालिका—२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए ।

‘ थासाङको गुरुसाङ्वो गुफा माथि छिप्लुङमा खसेको हिमपहिरो जमेर बसेको देखिन्छ ,कुनै पनि बेला हिमपहिरो फुटेमा वा पग्लिर तल झरेमा जोखिम निम्त्याउन सक्छ,वडाध्यक्ष शेरचनले भने, बोक्सी खोला आसपासका बस्ती हिमपहिरो फुटेमा मानवीय तथा भौतिक जोखिम हुनसक्छ,  हामीले पनि आवश्यक सूचना दिईसकेका छौं ।’

 यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेर थुनिएको पुष्टि गरेको छ । प्रशासनले  कुनै पनि बेला हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत गराईसकेको छ ।

 थासाङका स्थानीय कुमार अनुरागीका अनुसार पानी पाथी हिमालको फेंदबाट खसेको हिमपहिरोको असरले बोक्सी खोलामा पानीको सहत ९० प्रतिशत कम भएको जानकारी दिए ।

 यसअघि २०७८ सालमा पानीपाथी हिमालको फेंदबाट हिमपहिरो खस्दा थासाङको कोवाङ,नाउरिकोट र बोक्सी खोला क्षेत्रका स्थानीय हाताहाती भएका थिए ।

 त्यसताका हिमपहिरो खस्दा हिमपहिरोको एक भाग कोवाङको लाङ्की खोलामा झरेको थियो भने अर्को भाग थासाङको बोक्सी खोलातर्फ मोडिएको थियो । यसपटक भने मानापाथीबाट खसेको हिमपहिरो बोक्सी खोलाको छिप्लुङसम्म थुनिएको छ । 


प्रतिक्रिया