पुथाङ गाउँसमाजद्वारा पाँच लाख ५१ हजार बाढीपीडितलाई सहयोग

मुस्ताङ,१३, भदौ ।

 रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको उद्दार तथा राहतका लागि मुस्ताङको घरपझोङ गाउँपालिका—३ जोमसोम स्थित पुथाङ गाउँ समाज (एयरपोर्ट)ले पाँच लाख ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको छ । समाजले गाउँ समाजको मौज्याद कोषको रकमबाट खर्च गर्ने गरी बाढीपीडितहरुको सहयोगार्थ उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

 मुस्ताङको पुथाङ एयरपोर्ट जोमसोम स्थित गाउँ समाजघरमा शनिबार बिहान समाजका गाउँमुखिया अनिल  शेरचनको अध्यक्षतामा बसेको पन्धौ समितिको बैठकले भोटेकाशी बाढीपीडितहरुको सहयोगार्थ रु. पाँच लाख ५१ हजार रुपैया सहयोग गर्ने लिखित निर्णय भएको समितिका सचिव पेमा छेतेन विकले जानकारी दिनुभयो ।

 सचिव विक अनुसार बाढीपीडितहरुको सहयोगार्थ तत्काल उक्त रकम प्रधानमन्त्री बाढीपीडित राहत कोषमा जम्मा गर्ने र प्रमाणित विवरण सार्वजनिक गर्ने बताएको छ ।

 गाउँमुखिया अनिल शेरचनले भोटेकोशी बाढीका कारण सयौं नागरिकहरुको मृत्यु र सयौं नागरिक बेपत्ता भएको खबरले समाजलाई अन्त्यन्तै दुखित तुल्याएको बताउँनुभयो । बाढीका कारण राष्ट्रिय संकट आईपरेको र यस दुखद घडीमा आई परेको संकटको मोचनका लागि सम्पूर्ण नेपालीहरु एकतावद्ध भई विपद् व्यवस्थापनका लागि सहयोगमा जुट्न आह्वान गरिएको छ ।


प्रतिक्रिया