तीन महिनादेखि साङ्ता मतदान स्थल सडक अवरुद्ध

जोमसोम ।

आगामी फागुन २१ गते हुँने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत यहाँको वारागुङ मुक्तिक्षेत्र—५ स्थित साङ्ता मतदान स्थल जोड्ने (मुस्ताङ—डोल्पा) सडक सेताम्मे हिउँले तीन महिनादेखि अवरुद्ध छ । हिउँले सडक अवरुद्ध हुँदा निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मी तथा स्थानीय मतदाताहरुलाई सकस पर्ने देखिएको छ । यहाँ गत कार्तिक १० गतेको हिमपातपछि (मुस्ताङ—डोल्पा) सडक पूर्ण रुपमा अवरुद्ध छ ।

 डिभिजन सडक कार्यालय बाग्लुङले मुस्ताङको पाक्लिङदेखि साङ्ता गाउँ हुँदै उपल्लो डोल्पालाई सडक कनेक्टिभिटीले जोड्ने गरी २०७४ सालपछि सडक स्तरोन्नति तथा ट्रयाक खोल्ने कार्य गर्दैआईरहेको छ । विभिन्न चरणमा विभिन्न निर्माण कम्पनीले खण्डखण्ड गरी मुस्ताङ—डोल्पा सडक निर्माण गरिएका थिए । समून्द्री सतहको चार हजार मिटर अग्लो उचाईको स्थानबाट सडक विस्तार गरिएको मुस्ताङ—डोल्पा सडक अझै पूर्ण हुन सकिरहेको छैन । निर्माण कम्पनीको ढिलासुस्ती र न्यून बजेट विनियोजन हुँदा (मुस्ताङ —डोल्पा) सडकको ट्रयाक खोलिएको भएपनि उक्त सडक अझै जोखिमयुक्त र कष्ठकर छ । 

मुस्ताङ सदरमुकाम जोमसोमदेखि करिव ४० किलोमिटर दुरीमा रहेको साङ्ता गाउँ सम्मको कच्ची सडक आशिंक रुपमा सहज छ । यसैगरी मुस्ताङको साङ्ता गाउँदेखि करिव १० किलोमिटर दक्षिण÷ पश्चिम छुकसम्व सम्मको कच्ची सडकको अवस्था पनि तुलानात्मक रुपमा सहज छ । तर, छुकसम्व देखि (मुस्ताङ—डोल्पा) सिमाना याकखर्क जोड्ने करिव २५÷३० किलोमिटर सडकमा चट्टान फोरेर सडक विस्तार गर्ने भएकाले समेत मुस्ताङ —डोल्पा सडकको अवस्था चुनौतिपूर्ण छ ।

 यही संघीय सरकारद्वारा निर्माणधिन मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ—डोल्पा) सडकमा बाँक्लो हिउँ जमेकाले  गत कार्तिकदेखि पूर्ण रुपमा सडक अवरुद्ध बनेको त्यहाँका वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण मुस्ताङ—डोल्पा सडक अवरुद्ध हुँदा उपल्लो डोल्पाका स्थानीय नागरिकहरुलाई मुस्ताङ आउजाउ तथा खाद्यान्न ढुवानीमा समस्या परेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

 हिउँदयामको जाडो समयमा मुस्ताङ—डोल्पा सडकमा स्थानीयको आउजाउ नहुने भएपनि अतिआवश्यक काम परेर मुस्ताङ आउने उपल्लो डोल्पाका नागरिकहरु सेताम्मे हिउँ छिचोल्दै पैदल हिडेर मुस्ताङ आउनु पर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

 मुस्ताङको ३९ वटा मतदान स्थल मध्ये वारागुङ मुक्तिक्षेत्र—५ को साङ्ता स्थित हिमाली आधारभूत मतदान स्थल जाने सडक मात्रै हिउँले अवरुद्ध अवस्थामा रहेको जनाईएको छ । यहाँ स्थित साङ्ता गाउँमा १३ घरधुरीका ३९ मतदाता रहेका छन् । हिउँदयाममा जाडो छल्न त्यहाँका नागरिकहरु अहिले गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा बस्दैआईरहेका छन् । जाडो छल्न गाउँका नागरिकहरु पारिलो स्थानमा झरेपनि साङ्ता गाउँमा पशुचौपाया हेर्ने एकाध गोठाला बाहेक पुरै गाउँ रित्तो अवस्थामा छ ।


 वारागुङ मुक्तिक्षेत्र—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले हिउँदयामको चिसो घटेपछि चैत्र महिनाको पहिलो हप्ता मात्रै साङ्तेली नागरिकहरु गाउँ फर्किने योजनामा रहेको जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङले हिउँ पर्ने समय अझै कायम रहेकाले फेरी हिमपातको सम्भावना रहेकाले मुस्ताङ—डोल्पा सडकको हिउँ पन्छाउने कार्य सुरु नगरिएको बताउँनुभयो ।

मुस्ताङ जिल्लाकै सबैभन्दा कान्छो गाउँ भनी पत्ता लागेको साङ्ता गाउँका नागरिकहरु सडक सहज भएको अवस्थामा फागुन २१ गते हुँने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गाउँ फर्किएर मतदान प्रक्रियामा सामेल हुने मनस्थितीमा रहेका छन् । यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत वडा कार्यालयले साङ्ता गाउँ जाने मुस्ताङ—डोल्पा सडक हिउँले अवरुद्ध भएको कारण दर्शाउँदै साङ्ता मतदान केन्द्र सोही वडाको फल्याक गाउँमा सार्न लिखित अनुरोध गरेको थियो ।

तर, उक्त मतदान केन्द्र सार्ने विषयमा हालसम्म कुनै छलफल अघि नबढेकाले साङ्ता मतदान केन्द्रने कायम हुने अवस्था रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । त्यहाँको मतदान स्थल पुग्ने सडकलाई हिउँ पन्छ्याएर सडक सहज पार्ने विषयमा छलफल भईरहेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाई छ ।


 यसैगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङ स्थित जिल्ला सुरक्षा समिति,मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय लगायतले यहाँका पाँच वटै मतदान केन्द्र तथा मतदान स्थलहरुको अनुगमन गरिसकेको छ । यसैक्रममा शनिबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित, नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी  र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले (मुस्ताङ —डोल्पा) सडकको स्थलगत अनुगमन गरेको छ । साङ्ता मतदान स्थलको अनुगमन गर्न गएको प्रजिअ शर्मासहितको टोली हिमपातले अवरुद्ध सडक छिचोल्न नसकी बिच बाटोमै फर्किएको हो ।

 मुस्ताङको साङ्ता स्थित हिमाली आधारभुत मतदान स्थल जाने सडकको हिउँ पन्छ्याउन चार÷पाँच दिन लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरुको समन्वय र सहकार्यमा डोजर परिचालन गरी मुस्ताङ —डोल्पा सडकको हिउँ पन्छ्याउने योजना रहेको बताईएको छ ।


प्रतिक्रिया