मुस्ताङमा सातौ पटक फेरी हिमपात

मुस्ताङमा सातौं पटक फेरी हिमपात भएको छ ।बुधबार दिउँसो ११ बजेदेखि वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो ।

यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो । गत कार्तिक१० गते पहिलो हिमपात भएकोमा जारी सिजनको चैत्र महिना सकिन लाग्दा समेट मुस्ताङमा पटक पटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन ।

गर्मीयाम सुरु भईसक्दा समेत हिमपात हुने क्रम नरोकिंदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकहरुको यात्रा कष्ठकर बनेको छ । गर्मीयामको बेअनुकुल समय हिमपात हुँदा मुक्तिनाथ तिर्थयात्रीहरुलाई सवारी आवागमनका कठिनाई भईरहेको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । हिमपात भएपनि जमिन ताँतिसकेकाले पग्लिएर सडक हिलाम्मे हुँदा मुक्तिनाथ आउजाउ गर्ने सवारी साधन गन्तब्यतर्फ पु¥याउन असहज भएको वडाध्यक्ष गुरुङको भनाई छ ।

मुक्तिनाथक्षेत्र परेको सातौं पटकको हिमपातले मुक्तिनाथ सडकमा सवारी साधन आउजाउ गर्नमा असहज भएकाले वडाध्यक्ष प्रमेश गुरुङसहित सुरक्षाकर्मीले डोजर परिचालन गरी दुईतर्फी सडक खुलाएका छन् । ‘यहाँ बुधबार पनि हिउँ परिरहेको छ, सडक सास्ती बनेको छ, वडाध्यक्ष गुरुङले भन्नुभयो,तत्कालका लागि हलुका सवारी साधनलाई सवारी आवागमनमा सहजीकरण गराईएको भएपनि ठुलो सवारी साधनलाई कागबेनीबाट माथि नलैजान भनेका छौं ।’

 यसैगरी लगातारको हिमपातले पर्यटन क्षेत्रमा असर पुगेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिमपातले लमजुङको बेसी सहरदेखि मनाङबाट थोरङपास गरी मुस्ताङ आउने विदेशी पर्यटकहरु मनाङबाट फर्किने गरेको बताउँनुभयो । हिमपात र मौसम प्रतिकूलताका कारण मुक्तिनाथ दर्शनार्थी पनि घटेकाले यहाँको पर्यटन व्यवसायमा आशिंक असर पुगेको पर्यटन व्यवसाय गुरुङको भनाई छ ।

 मुक्तिनाथ क्षेत्रमा लगातार पाँच दिनको फेरोमा तीन पटकसम्म हिमपात भएको हो । हिमपातका कारण मुक्तिक्षेत्रका डाँढाकाँढा पुरै हिउँले सेताम्मे भईसकेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष ढिकी गुरुङले जानकारी दिनुभयो । हिमपातका कारण मुक्तिक्षेत्रको कालोभीरदेखि खिङ्गा,झारकोट,पुराङ रानीपौवा,छेङ्गुर, मुक्तिनाथ र थोरङपास क्षेत्र लगायतका क्षेत्र हिउँले ढाँकिएका छन् ।

यसैगरी उपल्लो मुस्ताङमा पनि बुधबार सातौ पटक हिमपात भईरहेको एक्याप लोमान्थाङ कार्यालयले जनाएको छ ।बैशाख महिना सुरु हुन केहीदिन बाँकी रहँदा भएको हिमपातले बस्तीमा जम्न नसकेको एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । ‘मौसम एकदमै प्रतिकुल छ, हुस्सु र कुहिरोले नजिकका डाँढाकाँढा केही देखिदैन,प्रमुख पौडेलले भन्नुभयो,बस्ती क्षेत्रमा लगातर चार घण्टा अघिदेखि बाक्लो हिमपात भएपनि तापक्रम बढेकाले जम्न सकिरहेको छैन ।’

उपल्लो मुस्ताङमा हिमपात भएसंगै तापक्रम घट्न थालेको बताईएको छ । हिमपातका कारण स्थानीय नागरिकहरुको दैनिकीमा असर पुगेको बताईएको छ ।हिमपात भएपछि स्थानीय घरभित्र बसेका छन् भने पशुचौपायालाई आहारा व्यवस्थापन तथा चरनक्षेत्रमा लैजान समस्या परेको छ ।

 मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात हुँदा मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाको उच्चलेंकमा आशिंक हिमपात भएको छ भने बस्ती क्षेत्रमा निरन्तर वर्षा भईरहेको छ ।


प्रतिक्रिया