थासाङ रणनीतिक सडकको भौतिक प्रगति ८५ प्रतिशत

हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गत छयो,कुञ्जो र कोेखेठाटी जोड्ने निर्माणधिन ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ अन्तिम चरणमा पुगेको छ । संघीय सरकारद्वारा विनियोजित बजेट मार्फत थासाङ गाउँपालिकाका अन्तर्गतका चार वडा वडाहरुलाई सडक सञ्जालको पहुँच स्थापित गर्ने उद्देश्यले सडक डिभिजन कार्यालय बाग्लुङले सडक निर्माण योजनालाई कार्यान्वयनमा ल्याएको थियो ।

 मुस्ताङको थासाङ गाउँपालिका स्थित कालिगण्डकी पारी अवस्थित गाउँहरु वर्षौवर्षदेखि सडकको पहुँच नहुँदा ओझेलमा पर्देआईरहेको थियो । जसका कारण त्यसक्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारिकरण तथा त्यहाँका सर्वसारण नागरिकहरुलाई सरकारी तथा सार्वजनिक सेवा प्रवाहको पहुँचबाट बञ्चित हुँदै आईरहेका थिए ।

 तत्कालिन पूर्व प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको कार्यकालमा कार्यान्वयनमा आएको संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय बाग्लुङका ईन्जिनीयर सागर भण्डारीले जानकारी दिनुभयो । ईन्जिनीयर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको रणनीतिक महत्वको सडकको भौतिक र वित्तिय प्रगति ८३ प्रतिशत पुगेको जानकारी दिनुभयो ।

उक्त सडक योजना अन्तर्गत थासाङ स्थित कालिगण्डकी पारी अवस्थित छयो, कुञ्जो, ताक्लुङ ,टिटी,धम्पु,सिर्खुम,कोखेठाटी र सौरु गाउँ जोड्ने १० किलोमिटर डिबिएसडी कालोपत्र सडक निर्माण योजना चालु वर्षको जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको ईन्जिनीयर भण्डारीको भनाई छ । वि.स. २०७७ साल पुस ७ गते सडक डिभिजन कार्यालयल बाग्लुङले उक्त सडक योजना महालक्ष्मी हिमाली जेभी कन्ट्रक्सनसंग ३८ करोड ८८ लाख ६१ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अवधि तीन वर्ष तोकिएको रणनीतिक महत्वको सडक सम्झौता अनुसार वि.स. २०८० पुस ६ गते सम्पन्न भईसक्नु पर्ने थियो । तर, अन्नपूर्ण संरक्षण क्षेत्र पर्ने र सडक विस्तारका लागि पाँच सय बढी रुख विरुवा फडानी गर्नुपर्ने प्राविधिक समस्या उत्पन्न भएको थियो । यसैगरी संघीय सरकारको बहुवर्षीय ठेक्का अन्तर्गत सडक योजना कार्यान्वयमा आएको भएपनि पर्याप्त बजेट विनियोजन नहुँदा सडक निर्माणकार्यमा ढिलाई हुन पुगेको थियो ।

 निर्माणको अन्तिम चरणमा रहेको थासाङ गाउँपालिकाको रणनीतिक महत्वको सडकका लागि चालु आ.व.मा संघीय सरकारले पाँच करोड ७० लाख बजेट विनियोजन गरेको छ । हालसम्म निर्माण कम्पनीलाई ३१ करोड ७० लाख रकम भुक्तानी भईसकेको र निर्माण सम्पन्न भएपछि थप अपुग रकम रकामान्तर गरी भुक्तानी गर्ने गरी सडक निर्माणलाई तिब्रता दिईएको ईन्जिनीयर भण्डारीको भनाई छ ।

 सडक डिभिजन ईन्जिनीयर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको कालिगण्डकी पारी ओझेलमा परेको १० किलोमिटर सडक अन्तर्गत छयोदेखि कुञ्जो,टिटी,धम्पु हुँदै कोखेठाँटी सम्म सबबेसको काम सम्पन्न भई ४ किलोमिटर सडकमा कालोपत्र गर्न बेसको काम सकिएको छ । यसैगरी कोखेठाटी देखि सौरु गाउँतर्फको ५०० मिटर दुरीमा सवबेस र बेस बिच्छ्याउने कार्य बाँकी रहेको ईन्जिनीयर भण्डारीको भनाई छ ।

मुस्ताङको छयोदेखि कोखेठाटी सम्मको १० किलोमिटर सडकमा नाली निर्माण बाहेक ८ दशमलव ५ मिटर चौडा सडकमा डिबिएसडी कालोपत्र गरिने योजना रहेको जनाईएको छ । उक्त सडकमा सडक स्टक्चर लगायतको सबै काम सकिएर कालोपत्रको स्टक्चर तयारी चलेको ईन्जिनीयर भण्डारीले बताउँनुभयो ।

 कालिगण्डकी पारी ओभेलमा परेका गाउँहरु जोड्ने कालोपत्र रणनीतिक महत्वको सडक सम्पन्न भएमा त्यसक्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरण सहज हुने विश्वास गरिएको छ । यसैगरी उक्त सडक जोड्ने गरी पूर्वाधार विकास कार्यालय मुस्ताङले लेते—छयो र लेते—धम्पु दुईवटा मोटरेबल पुल निर्माणधिन अवस्थामा रहेको छ । कालिगण्डकी नदीमा पुल निर्माण हुने र रणनीतिक महत्वको सडक सम्पन्न भएमा त्यसक्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । थासाङको टिटीमा मनमोहक टिटी ताल अवस्थित भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि ताल अवलोकन गर्न सहज हुने देखिन्छ ।


प्रतिक्रिया