पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि राती सवारी नचलाउन निर्देशन

जोमसोम

गएरातीदेखि सुरु भएको निरन्तर वर्षाका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ स्थित कागखोलाको जल सतह उच्च भएको छ । खोलाको जल सतह उच्च हुँदा  कागबेनी—कोरला आवतजावत गर्ने सवारी साधनलाई जोखिम बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यहाँको कागबेनी स्थित कागखोलाको जल सतह उच्च हुँदै गईरहेकाले  उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारी साधनले जोखिम मोलेर खोला क्रस गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी विशाल अधिकारीले जानकारी दिनुभयो । 

‘हामीलाई कागखोला माथिल्ला वस्तीका केही स्थानीयले खोला बढ्दै गरेको बताएका छन्, त्यहाँ खोलाको जल सतह बढिरहेको भन्ने सूचना आएको छ,’ प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो,‘  कागखोलाको जलसतह र कतै पहिरो गएनगएको एकिन गर्न सुरक्षा टोली कागखोला शीरतर्फ पठाएका छौं, खोलाको जोखिम बढेकाले कागबेनी वस्तीलाई पनि सुरक्षित रहन आग्रह गरिसकेका छौं ।’’

यसैगरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी बेनी—जोमसोम सडकको घाँसा खण्ड र (जोमसोम —कोरला) सडक खण्डमा भारी तथा मध्यम वर्षातको कारण सडक माथिबाट पहिरो,ढुंगा खस्ने क्रम बढेकोले भौतिक तथा मानवीय क्षति हुनसक्ने भएको भन्दै रातको समयमा सवारी आवागमन नगर्न अनुरोध गरेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले गएरातीदेखिको निरन्तर वर्षातले गर्दा कोरला सडक खण्डमा सडक माथिमा पहिरो र ढुंगा खस्ने क्रम नरोकिएकोले रातको समयमा सवारी साधन नचलाउन निर्देशन दिईएको बताउँनुभयो ।



प्रतिक्रिया