मुस्ताङमा १३ प्रतिशतले बढ्यो आलुको उत्पादन

जोमसोम ।

यहाँको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङले जनाएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा यहाँको पाँच स्थानीय तहको ४७८ हेक्टर क्षेत्रफलमा  ९ हजार ६ सय ६५ मेट्रिक टन आलु उत्पादन हुँदा उक्त रकम बराबरको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।

गतवर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आशिंक रुपमा विस्तार हुँदा एघार करोड ८४ लाख ७५ हजार४०० बराबर मुल्य बराबरको आलु उत्पादन वृद्धि भएको जनाईएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षमा प्रति हेक्टर २० दशमलव २२ मेट्रिक टन आलु उत्पादन भएको हो । गतवर्ष भन्दा चालु वर्ष आलु उत्पादनको क्षेत्र १८ हेक्टर क्षेत्रफल वृद्धि भएको हो । यसैगरी  गतवर्षको तुलनामा चालु आ.व.मा यहाँ प्रति हेक्टर करिव दुई मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख गुरुङको भनाई छ ।

चालु आर्थिक वर्षमा मुस्ताङका किसानले फार्म गेट औसत मुल्य रु. प्रति केजी ६५ रुपैयामा बिक्री भएकाले सोही अनुसार कुल उत्पादन मुल्यको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङको भनाई छ ।

यहाँको कृषि ज्ञान केन्द्र कार्यालय र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाई मुस्ताङको संयुक्त समन्वय र सहकार्यमा स्थानीय तहका कृषि प्राविधिकहरुको उपस्थितीमा गरिएको क्रप कटिङ विधिबाट आलु उत्पादनको लेखाजोखा गरिएको केन्द्र प्रमुख गुरुङले बताउँनुभयो । उहाँका अनुसार माथिल्लो मुस्ताङ, मध्य मुस्ताङ र तल्लो मुस्ताङलाई तीन क्षेत्रमा विभाजन गरी त्यहाँका विभिन्न आलु उत्पादनकर्ता किसानहरुको खेतबारीमा पुगेर धेरै फल्ने,मध्यम फल्ने र कम फल्ने आलुको उत्पादन तथ्यांक संकलन गरी औसत उत्पादनको मापन गरिएको कार्यालय प्रमुख गुरुङको भनाई छ ।

गतवर्ष मुस्ताङका पाँच स्थानीय तहमा गरी कुल ४६० हेक्टर क्षेत्रफलमा  ८ हजार ४९६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।गतवर्ष यहाँ प्रति हेक्टर १८ दशमलव ३८ प्रतिशत आलु उत्पादन भएको थियो । केन्द्रका अनुसार गतवर्षको तुलनामा चालु वर्षमा  १३ दशमलव ७६ प्रतिशत स्याउ उत्पादन भएको छ । यसैगरी गतवर्ष चालु वर्ष एक हजार १६९ मेट्रिक टन आलु उत्पादन वृद्धि भएको केन्द्र प्रमुख राजेश गुरुङले बताउँनुभयो । गतवर्ष मुस्ताङमा प्रति केजी रु. ६० मा आलु बिक्री भएकोमा चालु वर्ष रु. पाँच वृद्धि भई रु. ६५ रुपैयामा बिक्री भएको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाई छ ।

केन्द्रका अनुसार चालु आ.व.मा यहाँका पाँच स्थानीय तहमा उत्पादन भएको आलु मध्ये  ६० प्रतिशत जिल्ला बाहिर,३० प्रतिशत जिल्ला भित्र र १० प्रतिशत बीउँको प्रयोजनको रुपमा खपत भएको हो । यहाँ घरायसी प्रयोजन र होटल रेष्टुरेन्टहरुमा एक तिहाई आलु खपत हुने गरेको केन्द्र प्रमुख गुरुङले जनाउँनु भयो । यहाँ स्याउबाली भित्र अन्तरबालीको रुपमा पनि आलु खेती गर्ने गरिएको छ ।

हिमाली जिल्लाको उच्च भूगोलको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलु स्वादिलो र पोषिलो हुने गर्छ । मुस्ताङको आलु तरकारीमा र उसिनेर साँधेर खाने प्रचलन रहेको छ । यहाँ मुस्ताङीले उत्पादन गर्ने लोकल सेतो आलु सहर बजारको उपभोक्ता तथा मुस्ताङमा आएका पर्यटकहरुले औधी रुचाउने गर्छन।

सहर बजारका थकाली भान्साघर होस या ठुला तारे होटलहरुमा किन नहोस मुस्ताङी आलु आम उपभोक्ता माँझ ब्रान्ड स्थापित भईसकेकाले पनि मुस्ताङी आलुको माग अधिक रहेको छ । पछिल्लो समय कोरला सडक सहज हुँदै जान थालेपछि मुस्ताङी स्याउपछि आलुको डिमाण्ड बढेको घरपझोङ—४ जोमसोमका किसान अजित थकालीले बताउँनुभयो ।


प्रतिक्रिया