स्याङ्जाबाट चाईना बोर्डरमा पुग्यो टेम्पो

स्याङ्जा टेम्पो यातयात प्रा.लि.को एक टोली (नेपाल—चीन)उत्तरी कोरलानाकामा पुगेको छ । चार वटा टेम्पोसहित र एक मेकानिक गरी नौ जनाको टोली शनिबार राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला)सडकमार्ग हुँदै नेपाल—चीन सिमाना कोरला बोर्डरमा पुगेको हो ।

 स्याङ्जाको चार जना टेम्पो चालकहरुको समुहले २८० किलोमिटर यहाँको कोरला सडक अवलोकन तथा परीक्षण यात्रा सुरु गरेको थियो ।

पहिलोदिन स्याङ्जा पुतलीबजारबाट यात्रा सुरु गरेका स्थानीय टेम्पो चालकहरु महम्मद समिम मिया,महेश थापा,ईम्रान हुसेन, राज मगर,रोशन केसी,खेम मगर,उपेन्द्र पण्डित,गणेश शाही र महेन्द्रमान श्रेष्ठ सम्मिलित रहेका थिए ।

समुन्द्री सतहको ४६१० मिटरको उचाईमा रहेको नेपाल—चीन सिमाना कोरलानाका र कोरला सडकको अवलोकन गर्दै हिमाली सडकको कठिन यात्रा गरी विद्युतीय टेम्पोको क्षमता परीक्षण गरिएको हो ।

यहाँको बहुचर्चित कोरलानाकासम्म विद्युतीय टेम्पो समेतको सहज यात्रा सम्पन्न भएपछि कोरला सडक यात्राका लागि सजह भएको सन्देश प्रवाह गरेको छ । यहाँ स्याङ्जाली युवाहरुको केवल टेम्पो यात्रा मात्रै नभई यसले माथिल्लो क्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत योगदान दिने विश्वास गरिएको छ ।

हिउँदयामको प्रतिकूल मौसम बावजुद माथिल्लो मुस्ताङमा  टेम्पो पुगेपछि त्यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । वर्षा र हिमपातका कारण ११ कार्तिकमा उपल्लो मुस्ताङको कोरला सडक ठाउँ ठाउँमा अवरुद्ध भएको थियो ।



प्रतिक्रिया