चालु वर्षको छ महिनामा १ लाख ९० हजार जना मुस्ताङ भित्रिए


जोमसोम—पछिल्लो समय मुस्ताङ भित्रिनेको संख्या बढ्दै गईरहेको छ । मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक एवं जिल्ला भित्रिने कर्मचारी ,स्थानीय नागरिक र स्थानीय कामदारहरुको अभिलेख अनुसार चालु वर्षको छ महिनामा १ लाख ९० हजार ४७४ जना मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस सम्ममा  नेपाली १ लाख ५५ हजार ३८,  सार्क राष्ट्रका पर्यटक २९ हजार ९ सय ९२ र अन्य राष्ट्रका फरेनर पर्यटक ५ हजार ४४४ जना मुस्ताङ भित्रिएका हुन् । यस्तै, चालु वर्षको साउन देखि पुससम्ममा ३५ हजार ८९७ वटा सवारी साधन मुस्ताङ भित्रिएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।

  चालु वर्षको साउनमा आन्तरिक तथा बाह्य गरी ९ हजार ६०२ जना र स्थानीय नागरिक,कर्मचारी र कामदार १९१ जना मुस्ताङ भित्रिएका थिए । भदौमा पर्यटक १० हजार ७२५ र स्थानीय तथा कर्मचारी २०५ जना ,असोजमा पर्यटक ३३ हजार २९२ र स्थानीय र कर्मचारी,कामदार ५७५,कार्तिकमा पर्यटक ७८ हजार ३२३ र स्थानीय,कर्मचारी र कामदार  १ हजार ५० जना ,मंसिरमा पर्यटक ४१ हजार ३२९ र स्थानीय,कर्मचारी र कामदार ९५५ जना र पुसमा पर्यटक १६ हजार ८०४ र स्थानीय,कर्मचारी र कामदार ६५७ जना मुस्ताङ भित्रिएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङ अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका—४ घाँसामा प्रहरीको चेक पोष्ट छ । जहाँ मुस्ताङ भित्रिने हरेक व्यक्तिहरुको अभिलेख कम्प्युटर प्रणाली मार्फत दैनिक अभिलेख राख्ने गरिएको छ । प्रहरीले हिमाली जिल्ला मुस्ताङमा शान्ति सुरक्षा,अवान्छित गतिविधि रोक्न र कुनै पनि संम्भावित घटनाको सहज व्यवस्थापन गर्न अभिलेख राख्ने गरेको छ ।


प्रतिक्रिया