मुस्ताङमा ‘अफ सिजनमा पनि पर्यटकको ओईरो



जोमसोम—हिमाली जिल्ला मुस्ताङको पर्यटन क्रेज कत्ति छ भन्ने कुरा अहिले ‘अफ सिजन’मा पनि मुस्ताङमा भित्रिएको पर्यटकीय आगमनले प्रमाणित गरेको छ । हिउँदयाममा अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले मुस्ताङमा पर्यटकको उपस्थिती निकै कम हुन्छ । तर, यसपालि भने मुस्ताङमा चिसो र हिमपातको जोखिमले पर्यटक आगमनलाई छेक्न सकेको छैन ।

 बर्खायाममा पर्यटक आगमनले गुल्जार हुने मुस्ताङमा चिसोले गुमनाम हुन्छ भन्ने थियो । विगतको वर्षको पर्यटकीय तथ्यांक हेर्दा पनि मुस्ताङको पर्यटन हिउँदयाममा ठप्पै हुन्थ्यो । पर्यटकको उपस्थिती कम हुँदा यहाँका पर्यटन व्यवसायीहरु पनि हिउँदयामको जाडो छल्न बेसी झथ्र्ये ।तर, हिउँदयामको पुस महिना लाग्दा समेत पर्यटक आगमन नरोकिएपछि यहाँका पर्यटन व्यवसायीहरु साविककै स्थानमा बसेर पाहुना कुरेर बसिरहेका छन् । मुक्तिनाथ,कागबेनी, जोमसोम, मार्फा र लेते लगायतका स्थानमा रहेका पर्यटक लक्षित होटलहरु अहिले पाहुना कुरेर बसिरहेका छन् ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिउँदयामको पहिलोसाता बितिसक्दा समेत म्याग्दी हुँदै दैनिक १ हजार २ सय बढी पर्यटक आउने गरेको छ । सामान्यतया दैनिक २ सय भन्द बढी पर्यटक अहिले पनि मुस्ताङ भित्रिने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको दाबी छ ।‘ हिउँदयाममा यहाँको मौसम माईनस छ, हावाहुरी र हिमपातको जोखिम छ,’ जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले भने,‘ तर, प्रतिकुल मौसमका बाबजुद मुस्ताङको पर्यटन भने सुस्ताएको छैन, दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमन घटेको छैन ।’ डिएसपी बोगटीका अनुसार हिउँदयाममा पनि दैनिक ४०÷५० जनाको सख्यामा पर्यटक उपल्लो मुस्ताङ जाने गरेको बताए । उपल्लो मुस्ताङमा एकाध होटलहरु बाहेक अधिकाँश होटलहरु चिसोले बन्द छन् । त्यहाँका पर्यटन व्यवसायी तथा स्थानीय नागरिकहरु जाडो छल्न बेसी झरेकाले उपल्लो मुस्ताङ सुनसान छ । तर, सुनसानको अवस्थामा पनि उपल्लो मुस्ताङमा पर्यटक जाने गरेका छन् ।

 हिउँदयाममा पनि मुक्तिनाथ दर्शनका लागि भारतीय तथा आन्तरिक पर्यटकको आगमन यथावत रहेको वारागुङ मुक्तिक्षेत्र—१ झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले जानकारी दिए । उनले हिउँदयामको पछिल्लो अवस्थामा समेत दैनिक ५ सय भन्दा बढी पर्यटकले मुक्तिनाथको दर्शन गरी फर्किने गरेको बताए । ‘ मुक्तिनाथमा अहिले पनि पर्यटकको उपस्थिती रोकिएको छैन, विगतमा हिउँदको बेला मुक्तिनाथ दर्शन गर्ने नगण्य हुन्थे,’ईञ्चार्ज अधिकारीले भने, पर्यटक पनि आईरहेका छन्, मुक्तिनाथका होटलहरु पनि सबै खुल्लै छन् ।’ उनले मुस्ताङमा चिसो यामको परवाह नगरी भारतीय तथा नेपाली दर्शनार्थी आउने गरेको उनको भनाई छ । मुस्ताङमा अहिले पनि विभिन्न अध्ययन अवलोकन भ्रमण तथा स्कुल क्याम्पसका विद्यार्थीहरु आउने गरेको ईञ्चार्ज अधिकारीले बताए ।

 मुस्ताङको तापक्रम तल्लो क्षेत्रमा माईनस १० र उपल्लो मुस्ताङमा माईनस २० डिग्री छ । अत्यधिक चिसो याममा समेत हिमाली जिल्ला घुमफिरको केन्द्र बनेको हो । त्यसो त मुस्ताङमा हिउँ पर्न सकेको छैन । चिसोले स्थानीय जनजिवन निकै कष्ठकर छ । यद्यपी अत्यधिक चिसो छिचोल्दै मुस्ताङमा पर्यटक भित्रिने क्रम रोकिएको छैन ।

मुस्ताङमा चिसो ह्वात्तै बढेकाले आवश्यक सावधानी अपनाउन आवश्यक छ । योयाममा पर्यटकले हिमाली क्षेत्रको उच्चस्थानमा उक्लिदा स्वास्थ्य समस्या देखिन सक्छ । चिसो कुण्डमा स्नान गर्ने, स्वास्थ्य समस्या भएका र न्यानो कपडा नलगाई आउने पर्यटकलाई चिसोले समस्या पार्ने गर्छ ।  झारकोट स्वास्थ्य चौकीका ईञ्चार्ज अधिकारीले हिउँदको चिसो याममा आउदा न्यानो कपडा लगाएर आउनुपर्ने र स्वास्थ्य अवस्था बारेमा सचेत रहन आग्रह गरे ।



प्रतिक्रिया