एक्यापले ग¥यो पर्यटकीय पदमार्ग स्तरोन्नति

जोमसोम— अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङमा जीर्ण अवस्थामा रहेको पर्यटकीय पदमार्गको स्तरोन्नति गरेको छ । एक्यापले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम ‘ नयाँ पदमार्ग पहिचान तथा स्तरोन्नति’ शिर्षकको १५ लाख बजेटबाट मुस्ताङको थासाङ गाउँपालिका—३ को लेते कालोपानीदेखि धुलो डाँडासम्मको पदमार्ग स्तरोन्नति गरेको हो ।

 थासाङको लेते कालोपानी बजारदेखि माथिको अग्लो उचाईमा अवस्थित अत्यन्तै रमणीय पर्यटकीय गन्तव्य धुलो डाँडासम्मको जीर्ण पर्यटकीय पदमार्ग स्तरोन्नति गरिएको हो । एक्याप अन्तर्गत सरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) लेते मार्फत धुलो डाँडासम्मको करिव ३५५ मिटर दुरीको पदमार्ग स्तरोन्नति गरिएको एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो ।

 यसअघि लेते कालोपानीदेखि धुलो डाँडासम्मको पर्यटकीय पदमार्ग सामान्य गोरेको बाटोको रुपमा मात्रै थियो । एक्यापको चालु वर्षको विनियोजित बजेट मार्फत धुलो डाँडा गोरेटो बाटोलाई पदमार्गको रुपमा विस्तार गरिएको सरक्षण सहायक ओलीको भनाई छ ।

 आन्तरिक पर्यटकका लागि निकै महत्वपूर्ण स्थानको रुपमा रहेको थासाङको धुलो डाँडा उच्चप्राथमिकतामा राखेर पर्यटकीय पदमार्गको रुपमा विस्तार गर्ने योजना अनुरुप पदमार्ग पूर्वाधार निर्माण गरिएको संरक्षण सहायक ओलीले उल्लेख गर्नुभयो ।

 धुलो डाँडा पदमार्गको गोरेटो बाटोमा पदमार्ग फराकिलो बनाउने,छप्पनी ढुंगा बिच्छ्याउने ,फलामे रेलिङ लगाउने र अप्ठ्यारो स्थानमा पदमार्ग सुरक्षाका लागि प्रोटेक्सन वाल लगाउने लगायतका कार्य सम्पन्न भएको एक्यापले जनाएको छ ।

आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यल निर्माण गरिएको पदमार्गलाई नयां पदमार्गको रुपमा चिनाउन एक्यापले पहल गरेको हो । थासाङको कालोपानी माथिका धुलो डाँडाबाट यसअघि पनि आन्तरिक पर्यटकहरु दृष्यावलोकनका लागि जाने गरेको संरक्षण सहायक ओलीले बताउँनुभयो । बेनी—जोमसोम सडकमार्गबाट ४५ मिनेटको दुरीमा पैदल यात्रा गर्दै जान सकिने उक्त स्थानलाई छोटो दुरीको पदमार्गको रुपमा स्थापित गर्ने योजना रहेको एक्याप जोमसोमको भनाई छ ।

 कालोपानीबाट धुलोडाँडा पुग्ने जोकोही पर्यटकले त्यहाँबाट लेते कालोपानी बजार, हरियाली बनजंगल,कालिगण्डकी करिडोर, आसपासका डाँडाकांढा, विभिन्न प्रजातीका पन्छिहरु र सिजनको समयमा ढकमक्क लाली गुरासको फूल फूलेको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत एक्याप जोमसोमले मुस्ताङका पर्यटकीय पदमार्गको मर्मत सुधार, पदमार्ग सरसफाई, पर्यटकीय पदमार्गमा साईन पोष्टिङ लगायतका कामहरु गर्दै आईरहेको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । पछिल्लो सयम अन्धाधुन्द सडक विकासले मुस्ताङका कतिपय पर्यटकीय पदमार्ग मासिदै गईरहेको अवस्थामा नयाँ पदमार्ग निर्माणले पदयात्रा गर्न रुचाउने पर्यटकलाई टेवा पुग्ने विश्वाश गरिएको छ ।

 मुस्ताङका कतिपय पर्यटक पदमार्गहरुमा मुख्य राजमार्ग सडक र शाखा सडक विस्तार भएकाले यहाँका पुराना पर्यटकीय पदमार्गहरु लोप हुँदै जान थालेको छ । एक्यापले पर्यटकीय पदमार्गहरुलाई जोगाउन संरक्षण अभियान थालेको छ । मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाहय पर्यटकहरुले धुवा धुलो सहँदै पदयात्रा गर्नुपर्ने अवस्था छ ।


प्रतिक्रिया