जोमसोम—मनसुन सुरु भएसंगै राष्ट्रिय गौरवको बेनी—जोमसोम ७४ किलोमिटर सडक बिग्रने र भत्किने क्रम सुरु हुन थालेको छ ।हिउँदयाममा ठिकठाक हुने निर्माणधिन बेनी—जोमसोम सडक बर्सेनि बर्खायाम लागेपछि भत्किने र बिग्रने गर्छ । राष्ट्रिय गौरवको कोरलानाका जोड्ने बेनी—जोमसोम ७४ किमी सडक म्याग्दीको कमजोर भूगोलका कारण सडक संरचना विभिन्न खालका समस्याहरु उत्पन्न हुने गरेको छ ।
नेपाली सेनाले म्याग्दी र मुस्ताङको सिमान काभ्रेभीरमा चट्टान काटेर ट्र्याक खुलाईएकोमा राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले २०७३÷०७४ सालदेखि सडक स्तरोन्नति गर्दैआईरहेको छ । बेनी—जोमसोम ७४ किलोमिटर सडकका लागि ४ वटा प्याकेजमा कालोपत्रसहितको सडक विस्तार गर्न आयोजनाले ठेक्का लगाएको थियो । हालसम्म बेनी—जोमसोम ७४ किमी सडक मध्ये ५० किलोमिटर दुरीमा कालोपत्र भईसकेको आयोजनाले जनाएको छ । अब बेनी—जोमसोम सडकमा २४ किमी दुरीमा कालोपत्र गर्न बाँकी छ । बेनी—जोमसोम सडकखण्डको तेस्रो प्याकेज कैकुदेखि खन्तीसम्मको १९ किमी कालोपत्र सडक शर्मा गजुरमुखि जेभी कन्ट्रक्सनले आयोजनालाई हस्तान्तरण गरिसकेको छ भने बाँकी ३ वटा खण्ड निर्माणधिन अवस्थामै छन् ।
आयोजना अन्तर्गत बेनी—जोमसोम ७४ किमी सडक स्तरोन्नति भईरहँदा बर्खायामको मौसममा म्याग्दी खण्डको दर्जनौं स्थानमा बाढी,पहिरो,नदी कटानले सडक संरचनामा क्षति पू¥याउने गरेको छ ।बर्खायाममा मुस्ताङ यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले बेनी—जोमसोम सडकमा सधै सास्ती भोगिरहनु पर्ने बाध्यता रहेको छ । म्याग्दीको कमजोर भू—बनोटका कारण म्याग्दीको काभ्रेभीरदेखि बेगखोलासम्मको सडकमा बाढी ,पहिरो र नदी कटानले दुःख दिईरहने गर्छ । त्यसो त मुस्ताङ र म्याग्दीको सिमान यता घाँसा पुछारदेखि मुस्ताङको मार्फासम्म बाढी,पहिरो र नदी कटानले सडक संरचनामा क्षति पू¥याउने गरेको छ । आयोजनाले सडक स्तरोन्नति सुरु गरेदेखि यता पछिल्लो अवस्था सम्म सडक क्षति हुने गरेको छ ।

मनसुनसंगै म्याग्दी खण्डमा परेको अविरल वर्षाका कारण म्याग्दीको गुईठेमा निरन्तर पहिरो खस्न सुरु गरिसकेको छ । गत हप्ता म्याग्दीको गुईठेमा सुख्खा पहिरो जाँदा मुक्तिनाथ दर्शन गरी फर्किएर भारतीय पर्यटक सवार रातो रंगको कार क्षति भयो । भाग्यवश कारमा सवार ४ जना भारतीय पर्यटकको पहिरोको जोखिमबाट ज्यान जोगियो । उनीहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरिएको थियो । सुख्खा पहिरोले सडकमा फसेको कारलाई आयोजनाको उपकरण झिकाएर बाहिर निकालिएको थियो ।
गत हप्तानै म्याग्दी र मुस्ताङको सिमानामा पर्ने थाप्लाङ खोलामा बाढी आउँदा बेनी—जोमसोम सडक ४ घण्टासम्म अवरुद्ध हुन पुगेको थियो । म्याग्दीको अन्नपूर्ण —३ रुप्से झरनामा भयानक अकल्पिनीय बेजोड बाढी आउँदा बेनी—जोमसोम सडकको रुप्से बेलिब्रिज समेत जोखिममा पर्ने खतरा बढ्यो । रुप्सेको भयानक बाढीले मुस्ताङ आउजाउ गर्दै गरेका सवारी चालक समेत त्रसित बने । यसै साता म्याग्दीको तिप्ल्याङ नजिकको सानो खोला पनि बढेर सडक संरचनामा क्षति पुग्यो । त्यहाँ पनि आयोजनाको पहलमा ३ घण्टापछि डोजरले सडक सफा गरेर बाटो खुलाईएको थियो । काभ्रेभीरमा पनि आरसीसी सडक विस्तार गरिएको भएपनि अझै पनि त्यहाँ सडक भाँसिन र भत्किने जोखिम ज्यूँका त्यूँनै छ ।
यसैगरी मुस्ताङको थासाङ स्थित कैकु खोला, लेते खोला र घरपझोङको मार्फा खोलामा बेमौसमे बाढी आउँदा सडक संरचनामा क्षति पुग्ने गरेको छ । बेनी—जोमसोम निर्माणधिन सडकमा बर्खायामको बाढी ,पहिरो र नदी कटानले सडक क्षति हुँदा सम्वन्धित ठाउँमा काम गरिरहेका निर्माण कम्पनीका उपकरणले सडक सूचारु गर्ने काम गर्दैआईरहेका छन् । बर्खायाममा ठाउँ ठाउँमा बाढी,पहिरो र नदी कटानले सडक संरचनामा क्षति हुँदा बेनी—जोमसोम सडक पटक÷पटक अवरुद्ध हुन्छ । हिमाली कनेक्टिभिटी जोड्ने राष्ट्रिय राजमार्ग अन्तर्गतको बेनी—जोमसोम बर्खायामको यो सास्ती अझै कति वर्ष झेल्नुपर्ने हो ,त्यो अनुमान गर्न सकिंंदैन ।

बेनी—जोमसोम सडकका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले बर्खायाम बर्सेनि बेनी—जोमसोम सडकमा बाढी,पहिरो र नदी कटानले दुःख दिईरहने गरेको बताए । उनका अनुसार बर्खायामको मौसममा बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा—२ बैसरी कुनौउटो, रघुगंगा —१ तिप्ल्याङ गाउँ आसपास, तातोपानी भीर,जलथले, गुईठे भिर,खाम भित्ता,लाटो खोला,रुप्से,काभ्रेभीर,थाप्लाङ खोला, मुस्ताङको कैकु,लेते खोला र मार्फा खोलामा बाढी ,पहिरो र नदी कटानको निकै ठुलो समस्या रहेको छ ।
बर्खायाममा बेनी—जोमसोममा बाढी पहिरो र नदी कटानले बर्सेनि पटक÷पटक सडक अवरुद्ध पर्यटक तथा सर्वसाधारणले सवारी साधन परिवर्तन गर्नुपर्ने ,कतिपय स्थानमा जोखिम मोलेर पैदलयात्रा गर्नु पर्ने ,गन्तब्य पुग्न नसकीबीच बाटोमै अलपत्र पर्नुपर्ने समस्या भोग्नुपर्ने अवस्था छ । मुस्ताङका लागि ल्याईएका खाद्यान्न तथा निर्माण सामाग्री सडक अवरुद्ध हुँदा ढुवानीमा समस्या पर्ने गर्छ ।
उत्तर÷दक्षिण ब्यापारिक मार्ग बिस्तारित आयोजना अन्तर्गत निर्माणधिन सडक अन्तर्गत सडक निर्माणको काम भईरहेको भएपनि बर्सेनी बर्खायाममा बाढी ,पहिरो र नदी कटानको समस्याले सडक निर्माणको कामले अपेक्षाकृत गति लिन नसकेको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले उल्लेख गरे । उनले निर्माणधिन सडकमा बर्खायामको बाढी,पहिरो र नदी कटानले क्षति भईरहँदा सडक संरचना दिगो बन्न नसकेको सुनाए ।

त्यसो त बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डमा बढी मात्रामा पानी पर्ने र जमिनको सतह कमजोर हुँदा सडक आवागमनमा समस्या गर्ने गरेको बताईन्छ । बेनी—जोमसोम सडकको लागि दीर्घकालिन सडक स्तरोन्नतिको मोडालिटी तयार भएमात्रै बाह्रै महिना मुस्ताङको यात्रा सुरक्षित हुने जनाईएको छ । बर्खायाममा बाढि ,पहिरो र नदी कटानको समस्याले मुस्ताङ यात्रा गर्ने पर्यटक तथा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने हुन्छ ।
राष्ट्रिय गौरवको कोरला सडकको ८२ प्रतिशत भौतिक प्रगती भईसकेको छ । आयोजनाले सडक तथा पुलपुलेसातर्फ ६ वर्षको अवधिमा ७ अर्ब ५ करोड बजेट खर्च गरिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता