वारागुङ मुक्तिक्षेत्रमा ऐतिहाँसिक ‘लुम्बुक गुफा’

जोमसोम ।

अग्ला÷अग्ला विशाल कडा चट्टानी पहाड । त्यही विशाल पहाडको फेंदसंगै जोडिएको छ धार्मिक तिर्थस्थल ‘लुुम्बुक गुफा’ । यो गुफा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—५ स्थित धार्काजुङ र फल्याक गाउँको माथि पश्चिम तर्फको उच्चउचाईको विशाल चट्टानी पहाडमा अवस्थित छ ।

निकै ठुलो ऐतिहाँसिक तथा धार्मिक महत्व बोकेर पनि यहाँको ‘लुम्बुक’ गुफा आवश्यक प्रचार÷प्रसार तथा पर्यटन प्रर्वद्धनात्मक कार्य हुन नसक्दा अहिलेसम्म पनि ओझेलमा पर्दैआईरहेको छ ।

यहाँको लुम्बुक गुफामा १५ औै शताब्दीमा गुरु रिम्पोर्छे अर्थात पद्यसंम्भवले ध्यान÷साधना गरी बसेको भन्ने धार्मिक किंवदन्ती रहेको छ ।यहाँको गुफालाई बुद्ध धर्म अन्तर्गत निङ्मापा धर्म संम्प्रदायसंग पनि जोडिने गरिएको छ । यहाँको लुम्बुक गुफा यहाँको वारागुङ मुक्तिक्षेत्र—५ स्थित धार्काजुङ र फल्याक गाउँको साझा धार्मिक तिर्थस्थलको रुपमा लिने गरिएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले यहाँको लुम्बुक गुफामा गुरु पद्यसम्भवले ध्यान गरेर बसेको गुफाको रुपमा लिने गरिएको बताउँनुभयो । उहाँले यहाँको गुफा निकै ठुलो धार्मिक आस्था र विश्वासको धरोहरको रुपमा लिने गरिएको भएपनि यहाँको आवश्यक प्रचार÷प्रसार हुन नसक्दा ओझेलमा परेको उल्लेख गर्नुभयो ।

 गुरु पद्यसम्भवले ध्यान साधना गरेको यहाँको लुम्बुक गुफा भित्रै निकै आश्चार्य चकित लाग्ने प्राकृतिक रुपमा निर्माण भएका ऐतिहाँसिक किंवदन्ती विद्यमान रहेको छ । गुरु पद्यसम्भवले ध्यान गरेको बताईने यहाँको लुम्बुक गुफा भित्र गुरु पद्यसम्भवको प्राकृतिक रुपमा निर्माण भएको स—साना प्रतिमा अवलोकन गर्न सकिन्छ । गुफा भित्र पस्न सर्वसाधरणलाई केही कठिन हुन्छ ।

 गुफा भित्र पस्दा टाँउको निहुराएर मात्रै जानुपर्छ । पद्यसम्भवले ध्यान गरेको गुफा भित्र देवीदेवताले त्यससमय अन्नबाली लगाउने गरेको खेतबारीको आकृतिको सचित्र देख्न सकिन्छ । गुफा भित्रको भित्तामा चटन कुदिंए जस्तै गरी प्राकृतिक रुपमा निर्माण भएको पुरुष र महिलाले सहबास गरेको यौनाङ्गको आकृति अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष  गुरुङले बताउँनुभयो । सन्तान प्राप्त गर्न नसकेका दम्पतीहरुले यहाँको गुफा भित्र दर्शन गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रहेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।

 यसैगरी यहाँको धार्मिक महत्वको लुम्बुक गुफा भित्रको अर्को स्थानमा शिवजीको लिंग, गुफा भित्र सूर्य र चन्द्रामा अंकित  आकृति देख्न सकिन्छ । यहाँको गुफा भित्र धार्मिक सम्पदाहरु कुनै कालिगढले कँुदेको नभई प्राकृतिक रुपमा स्वतः आफै उत्पती भएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।

विशाल पहाडको फेंदमा अवस्थित लुम्बुक गुफाको प्रवेश मार्गमा विशाल हात्तीको सुढ जस्तो ठुलो चट्टानी कलात्मक आकृति देख्न सकिन्छ । यही हात्तीको सुँढबाट छिरेर गुफा भित्र पस्नुपर्ने हुन्छ । गुफा भित्रको जमिनमा दलदले पानी रहेको छ । यहाँको गुफा भित्रको चट्टानमा पानी रसाई रहने भएकाले यहाँको पानीलाई सर्वसाधारण भक्तजनहरुले पवित्र जलको रुपमा प्रयोग गर्ने गरिएको छ । यहाँ विशेष महत्वपूर्ण चाडपर्वमा विशेष पुजाआजा गर्ने गरिन्छ ।

यहाँ मुख्य पद्यसम्भवले ध्यान गरेको गुफा नजिकै अर्को विशाल ओढार छ । ओढार भित्र पनि अर्को एक सानो प्वाल परेका गुफा छन् । गुफा नजिकको ओढारमा फल्याक र धार्काजुङ गाउँका स्थानीयले पुजाआजा गर्ने स्थान छ ।वारागुङ मुक्तिक्षेत्र गाउँपालिका उपाध्यक्ष दिकी गुरुङले यहाँको गुफा नजिकको ओढारमा लामाहरुले ध्यान साधना( छम) बस्ने गरेको बताउँनुभयो । यहाँको गुफा भएको स्थान ध्यान साधना गर्ने व्यक्तिलाई समेत उपयुक्त स्थान रहेको उपाध्यक्ष गुरुङको भनाई छ । यहाँको गुफा नजिक ध्यान गर्ने स्थल,बत्ती बाल्ने ठाउँ, खाना पकाएर खाने किचनको व्यवस्था ,पुजापाठ गर्ने ठाउँ र शौचालय आदी गाउँपालिकाको सहयोगमा निर्माण भएको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

बर्सेनि हिउँदयामको पुस ,माघ र फागुन महिना यहाँको गुफा र गुफा रहेको चट्टानी विशाल पहाड सेताम्मे हिउँले सुसज्जित हुने गरेको वारागुङ—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । ‘बर्खायाममा यहाँको गुफा र पहाड हेर्दा सामान्य पहिरनमा देखिन्छ, जाडो समयमा यहाँ पानीनै बरम बनेर जम्ने भएकाले यहाँको गुफा रहेको स्थानले यहाँ आउने जोकोही पर्यटकहरुलाई मोहित तुल्याउछ,’ वडाध्यक्ष गुरुङले भने।’

यहाँको लुम्बुक गुफा अगाडीको भागमा चारैतिर ध्वंजापतका (लुङ्ता) फहराईएको छ ।भिरालो सतहमा अवस्थित यहाँको गुफा समून्द्री सतहको करिव चार हजार भन्दा माथिको उचाईमा रहेको छ । गुफासम्म पुग्न प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गोरेटो बाटो निर्माण गरेकाले त्यहाँ दर्शन गर्न जाने पर्यटक तथा दर्शनार्थीहरुलाई निकै सहज तुल्याएको छ ।

 धार्मिक तथा पर्यटकीय दृष्ट्रिकोणले अथाह सम्भावना हुँदा हुँदै पनि यहाँको गुफा ओझेलमा परेको छ । यहाँको पर्यटन प्रर्वद्धन,थप पूर्वाधार निर्माण र आवश्यक प्रचारप्रसार हुन सकेमा यहाँको पर्यटन विकासमा नयाँ आयाम थपिने फल्याक गाउँका स्थानीय राजु गुरुङले जानकारी दिनुभयो । 


प्रतिक्रिया