मुस्ताङ आउँदै गरेकी भारतीय महिलाको लेंक लागेर जोमसोम अस्पतालमा मृत्यु



जोमसोम— प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेकी एक भारतीय महिला पर्यटकको शनिबार लेंक लागेर मृत्यु भएको छ । भारतको गुजरात घर भई मुक्तिनाथ दर्शन गर्न भनी आएकी वर्ष ६५ की जानी तरुना विन नाम गरेकी महिलाको हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु भएको हो ।

उनी आफ्ना श्रीमान जानी प्रभिन भाई सहित ७ जनाको टोली  शनिबार मुक्तिनाथ दर्शनका लागि आउँदै थिईन् । बेनी—जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथतर्फ आउँदै गर्दा मुस्ताङको थासाङ—१ टुकुचे आईपुग्दा हाईअल्टिच्युडको समस्या देखिएको र त्यसपछि जोमसोमको मुस्ताङ अस्पताल ल्याईएको थियो । अस्पताल ल्याई पू¥याउँदा उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले हाईअल्टिच्युड समस्याका कारण भारतीय पर्यटकको मुस्ताङ अस्पताल पू¥याउँदा मृत्यु भएको पुष्टि गरे । भारतीय पर्यटकको लेंक लागेर मृत्यु भएको घटनापछि  प्रहरी निरीक्षक मिलनबहादुर विकको कमाण्डमा ५ जनाको प्रहरी टोली शवको मुचुल्का गरी  आवश्यक अनुसन्धान अघि बढाएको छ ।

योसंगै चालु आर्थिक वर्ष २०८०÷०८१ मा मुस्ताङमा  हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । जस मध्ये २ जना नेपाली र ६ विदेशी पर्यटकको लेंक लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको ३ आर्थिक वर्षको तथ्यांक अनुसार मुस्ताङमा हाईअल्टिच्युडका कारण लेंक लागेर मृत्यु हुँनेको संख्या २६ जना पुगेको छ ।

समथर बेसीबाट समून्द्री सतहको २५ सय मिटर मिटरदेखि माथिको उचाईमा आउँने पर्यटक तथा तिर्थालुलाई हाईअल्टिच्युड हुँने सम्भावना हुन्छ । स्वास्थ्यमा समस्या भएका, नियमित औषधि सेवन गरेका र उमेर कटेका ज्येष्ठ नागरिकहरुलाई  स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा हाईअल्टिच्युडको जोखिम हुन्छ ।



प्रतिक्रिया