जोमसोम विमानस्थलमा कुकुर आतंक रोक्न सुरक्षा तारबार



सुन्दरकुमार थकाली

जोमसोम—नेपाल नागरिक उड्यन प्राधिकरणले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलको कम्पाण्डमा तारबार लगाउन थालेको छ ।  विमानस्थलमा अनाधिकृत रुपमा छाडा कुकुर र  चौपाया छिरेर दुःख दिन थालेपछि जोमसाम विमानस्थलको आवश्यक पर्ने स्थानमा तारबार अर्थात घेराबार लगाउन थालिएको हो ।

नागरिक उड्यन प्राधिकरणले कोभिड अघि  समृद्ध मानिएको जोमसोम विमानस्थलको स्तरोन्नति तथा जहाज अवतरण गर्ने रनवे धावनमार्गको लम्बाई विस्तार गरेपनि विमानस्थल वरपरको घेराबार तारबार मर्मत सम्भार गरेको थिएन । विमानस्थलको सुरुवाती चरणमा लगाईएको होचो तारजाली,धेरै पहिला लगाईएको जीर्ण तारबार र कोरला सडक विस्तारका कारण सडकको उचाई माथि आउँदा जोमसोम विमानस्थलको कम्पाण्ड तारबार जाली समयअनुकुल परिमार्जन हुन सकेको थिएन ।

विमानस्थलको जीर्ण  र होचो तारबार भएकै कारण जोमसोम विमानस्थलमा अनाधिकृत रुपमा छाडा कुकुर र चौपायाहरु पस्दा पोखरा—जोमसोम हवाई उडानमा जोखिम निम्त्याएको थियो । विमानस्थलमा हवाई उडान हुने बिहानको समयमा त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई विमानस्थलमा छिरेका छाडा कुकुर र चौपाय धपाउन समेत हम्मे हम्मे पथ्र्यो । विमानस्थलमा कुुकुर र अन्य चौपाया छिरेको अवस्थामा विमानस्थलमा रहेको आगो निभाउने वारुणयन्त्रको सहायताले दिनहु कुकुर र चौपाया धमाउनु पने बाध्यता थियो ।

जामसोम विमानस्थलको कम्पाण्ड तारबारको कमजोर संरचनाका कारण हवाई जोखिम बढेपछि नेपाल नागरिक उड्यन प्राधिकरणले विमानस्थलको आवश्यक स्थानमा तारबार लगाउन सुरु गरेको नेपाल नागरिक उड्यन प्राधिकरणका ईन्जिनीयर एवं योजना प्रमुख ई. दिनेस परियारले जानकारी दिए । नागरिक उड्यन प्राधिकरणले ८० लाख ७८ हजार लागतमा जोमसोम विमानस्थलमा तारबार लगाउन जित निर्माण सेवा काठमान्डौंसंग चालु वर्षको चैत्र ९ गते ठेक्का सम्झौता गरेको उनले बताए ।

जोमसोम विमानस्थलको कम्पाण्डको अनाधिकृत रुपमा छाडा कुकुर र चौपाया पस्ने स्थानमा ६ मिटरको तारबार लगाउन प्राधिकरणले निर्माण कम्पनीसंग एक वर्षको ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार विमानस्थलको ६ सय मिटरमा पुथाङ एअरपोर्ट बजार क्षेत्रको पश्चिमतर्फ ८ ईञ्चको सोलिङ,त्यसपछि पीसीसी र त्यसमाथि २ फिट वाल उठाएर ७ फिट अग्लो तारबार लगाउने काम भईरहेको छ ।

योजना प्रमुख एवं नागरिक उड्यन प्राधिकरणका ई. परियारले विमानस्थलमा तारबार लगाउने काम ३ महिना भित्रै ९५ प्रतिशत भौतिक प्रगती भईसकेको बताए । उनले निर्माण कम्पनीको तदारुकताका कारण विमानस्थलको तारबार लगाउने काम सम्झौता अगावै सम्पन्न हुने जानकारी दिए ।

जोमसोम विमानस्थलको वरिपरी आवश्यक स्थानमा तारबार लगाउने कार्य अन्तिम चरणमा रहेकाले अबको दिनमा पोखरा—जोमसोम हवाई अवतरणमा समस्या नहुँने  बताईएको छ ।



प्रतिक्रिया