चैत्रमै बढ्यो मुस्ताङको मार्फा (राज) खोला बाहव,सवारी साधनलाई सास्ती



जोमसोम—हिउँदयाम सकिएर मनसुन सुरु भएसगै मुस्ताङको मार्फा स्थित मार्फा (राज) खोलाको बाहव उच्च भएको छ । हिउँदमा निकै सानो हुने मार्फा खोला आईतबार दिउँसो खोलाको सतह बढेको हो ।

राष्ट्रिय गौरवको बेनी—जोमसोम राजमार्ग सडकमा पर्ने मार्फा उर्फ  राज खोलाको सतह बढेको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए । उनले राजखोलाको सतह बढ्दै गरेको र खोलामा सवारी साधन तर्न कठिनाई भईरहेको तस्विर र भिडियो समेत सामाजिक संञ्जालमा पोस्ट गरेका छन् ।


बर्सेनि साउन र भदौं महिनामा बढ्ने राज खोला यसवर्ष चैत्र महिनामा बढेको उनले बताए । उनले लेदो र गेग्रानसहित खोलाको सतह वृद्धि भएको जानकारी दिए । यद्यपी अहिले सम्म खोलाले धार परिवर्तन नगरेको स्थानीय लालचनको भनाई छ । खोलाको सतह बढेपछि जोमसोमबाट बेनी र बेनीबाट जोमसोम आउने सवारीलाई समस्या उत्पन्न भएको बताए ।‘अहिले सम्म खोला बढेपनि खोलाले धार परिवर्तन गरेको छैन,धार परिवर्तन भयो भने त सवारी साधन  तथा पैदल यात्रीलाई आउजाउमा समस्या हुन्छ ।

हिउँद सकिएर गर्मीयाम सुरु भएसंगै  तापक्रम बढ्दा हिउँ पग्लिएर खोलाको सतह बढेको अनुमान गरिएको छ । मार्फामा राष्ट्रिय गौरवको बेनी —जोमसोम—कोरला सडक आयोजनाले पक्की पुल निर्माण गरिहेको छ ।

मार्फा र छुसाङमा गरी २१ करोड लागतमा पक्की पुल निर्माण गर्न २०७५ सालमा हिमढुङ एण्ड ठोक्कर ईमोटल जेभी कन्टक्सनले आयोजनासंग ठेक्का सम्झौता गरेको थियो ।तर, साँढे २ वर्षमा सक्नु पर्ने पक्की पुल निर्माण कम्पनीको ढिलासुस्तीले अझै पुल निर्माण हुन सकेको छैन । हाल त्यहाँ ३ स्पान मध्ये २ स्पानको स्ल्याप ढलान भएको छ ।

आयोजना अन्तर्गत मार्फा खोलामा ३ स्पानको १२० मिटर पक्की पुल निर्माणधिन अवस्थामा छ । छुसाङमा ३ स्पानकै ९० मिटरको पुल निर्माणधिन अवस्थामा छ ।

मुस्ताङको मार्फा खोलामा पक्की पुल निर्माणमा विलम्व हुँदा त्यहा बर्खायाममा सवारी साधनलाई निकै समस्या हुँने गरेको छ ।

तस्विर ःदिपक लालचन



प्रतिक्रिया