कोरलानाकामा चिनियाँ सेलिब्रेसन


जोमसोम— चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको उत्तरी कोरलानाकामा चिन पक्षले खुसीयाली स्वरुप बुधबार हर्षउल्लासका साथ सेलिब्रेसन कार्यक्रम आयोजना ग¥यो । नेपाल—चीन नाका खुलेको प्रथम वार्षिकोत्सवको उपलक्षमा चीन पक्षले कोरलानाको आफ्नो भूमी लिग्जेमा खुसीयाली स्वरुप सेलिब्रेसन कार्यक्रम आयोजना गरेको हो ।
 कोभिड अघि बर्सेनि अल्पकालिन अन्तरदेशीय ब्यापार मेला संञ्चालन गर्दैआईरहेको चीनले गतवर्षको कार्तिक २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङका नागरिकका लागि नाका खुल्ला गरेको थियो । चीन पक्षका स्थानीय जनप्रतिनिधि,सुरक्षा अधिकारी लगायतको उपस्थितीमा नेपाल पक्षलाई सहभागी गराएर चीन पक्षले एक वर्षअघि नाकामा निकै तामझामका साथ  आतसबाजी गरेर नाका खुल्ला गरेको थियो ।
 नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीन पक्षले आयोजना गरेको कार्यक्रममा मुस्ताङका प्रजिअ बिष्णुप्रसाद भुसालसहित सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । नाकामा आयोजित सेलिब्रेसनमा चीन पक्षले विभिन्न सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।
 उपल्लो मुस्ताङका लागि चीन पक्षले नाका खुल्ला गरेपनि चीन पक्षले भने अझै आयात निर्यातलाई सहज बनाउन नसकेको कतिपयको बुझाई छ । चीन पक्षले आफ्नो उत्पादनको आयातमा कुनै बाधा अवरोध सृजना नगरेको भएपनि नेपाली पक्षले निर्यात गर्ने नेपाली उत्पादनका सामाग्रीहरुमा कडाई गरेको छ ।
नाका खुलेको एक वर्ष पुगेको उपलक्ष्यमा चीनको भूमी कोरलामा सेलिबे्रसन कार्यक्रम आयोजना भएको र त्यसपछि ढुङ्वासेनमा पुगेर द्धिपक्षिय बैठक बसेको प्रजिअ बिष्णुप्रसाद भुसालले जानकारी दिए । बैठकमा दुईबिच नाकामा भएका गतिविधि र भावी कार्ययोजनाका बिषयमा संक्षिप्त छलफल भएको बताए ।
 यता,सरकारले नेपाल—चीन बिचको ब्यापार तथा पर्यटन मार्ग विस्तार गर्ने उद्देश्यले कोरलानाकामा अध्यागमन कार्यालय स्थापना गरेको छ । हालसम्म चीन जानका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले करिव २५ सय जनालाई सीमापार प्रस्थान अनुमती प्रदान गरिसकेको छ ।


प्रतिक्रिया