जोमसोम—बर्खायाममा गुल्जार हुने उपल्लो मुस्ताङ अहिले सुनसान बनेको छ । हिउँदयामको जाडो छल्न स्थानीय नागरिक बेसीतर्फ झरिसकेकाले उपल्लो मुस्ताङ सुनसान बनेको हो ।
उपल्लो मुस्ताङका अधिकाँश घरका नागरिक हिउँदको जाडो छल्न बेसीतर्फ झरेकाले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका गाउँबस्तीहरु सुनसान बन्दै गएको हो । उपल्लो मुस्ताङका अधिकाँश नागरिक हिउँदयामको जाडो छल्न बर्सेनि बेंसीतर्फ झर्ने परम्परा सदिंयौ वर्ष पुरानो हो । त्यसप्रकारको प्रचलन अहिलेसम्म निरन्तर छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टका अनुसार उपल्लो मुस्ताङको दुई गाउँपालिकामा बसोबास गर्ने करिव ७५ प्रतिशत नागरिक जाडो छल्नका लागि बेसी झरिसकेको बताए । अध्यक्ष बिष्टका अनुसार लोघेकर दामोदरकुण्डमा ७५ प्रतिशत र लोमान्थाङ गाउँपालिकामाा बस्ने ७० प्रतिशत नागरिक बेसी झरेको अनुमान गरे ।
यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका सरक्षण कार्यालय लोमान्थाङका कायालय प्रमुख उमेश पौडेलले उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको जानकारी दिए । कार्यालय प्रमुख पौडेलका अनुसार पर्खालले घेरिएको लोमान्थाङ बजारमा बस्ने करिव ८० प्रतिशत नागरिकहरु जाडो छल्न बेसी झरिसकेको उल्लेख गरे ।‘लोमान्थाङ बजारका ८० प्रतिशत र अन्य गाउँहरुको हेर्दा ७० प्रतिशत नागरिकहरु अहिले गाउँमा छैनन, कार्यालय प्रमुख पौडेलले भने,‘ यसको मतलव उनीहरु जाडो छल्न तल झरेकानै हुन्, गाउँबस्ती अहिले लगभग मानवविहिन जस्तै भईरहेको छ ।’
हिउँदयाममा चिसो अत्यधिक बढेकाले घरका धारा,सेफ्टी ट्याङ्की र सिंचाई कुलोहरु बरम बनेर जम्ने गरेको एक्याप लोमान्थाङका प्रमुख पौडेलको भनाई छ ।उपल्लो मुस्ताङमा बिहान र बेलुकी माईनस ११ डिग्री तापक्रममा झर्ने गरेको उनले सुनाए ।‘दिउँसो घाम लाग्दा केही न्यानो महसुश हुन्छ, तर, बिहान र बेलुकी भने ज्यादै जाडो छ।’ उनले अत्यधिक जाडोका कारण पशुचौपायाहरुको व्यवस्थापन गर्न र खानेपानीका लागि पानी तताएर पगाल्नु पर्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलको उल्लेख गरे ।
विगत वर्षको अभ्यास हेर्ने हो भने योबेला उपल्लो मुस्ताङका ९० प्रतिशत भन्दा बढी नागरिकहरु जाडो छल्न बेसी झरिसक्थे । तर, गतवर्षदेखि कोरलानाका औपचारिक रुपमा खुल्ला भएकाले केही व्यापार व्यवसाय चलाउनेहरु गाउँमै रोकिएका हुन् । अत्यधिक चिसो र हिउँदयामको हिमपात भएको अवस्थामा कोरलानाकाको ब्यापारिक काम समेत प्रभावित हुने र त्यसपछि गाउँमै रोकिएका नागरिकहरु पनि क्रमैसंग जाडो छल्न बेसी झर्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले उपल्लो मुस्ताङ सुनसान बन्दै गईरहेको र गाउँमा रोकिएकाहरु पनि जाडो छल्न बेसीमा झर्ने तयारीमा रहेको बताए । उनका अनुसार कोरलानाकामा अझै २ दर्जन बढी स्थानीय ब्यापारीहरु रहेको जनाए ।
बर्सेनि यार्तुङ पर्व सकेर गाउँको खेतीपातीको कामकाज सकेपछि कार्तिक सुरु भएपछि उपल्लो मुस्ताङका नागरिकहरु बेसीमा झर्छन। तर, पछिल्लो समयमा राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक सहज हुदै जान थालेको र पर्यटकीय चहलपहल समेत बढ्दै जान थालेकाले उपल्लो मुस्ताङका नागरिकहरु केही ढिलो गरी बेसी झर्न थालेका हुन् ।
हिउँदयामको जाडो छल्न स्थानीय नागरिक बेसी झरिसकेकाले लोमान्थाङ अधिकाँश घरहरुमा ताल्चा मारिएका छन् । लोमान्थाङमा सञ्चालित दुई दर्जन होटलहरु मध्ये ४÷५ वटा होटल बाहेक बाँकी होटलहरु बन्द अवस्थामा छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामिण बस्तीहरु स्थानीय नागरिक जाडो छल्न बेसी झरेकाले सुनसान बनेको लोघेकर दामोदरकुण्ड—१ का वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिए । वडाध्यक्ष ठकुरीले कार्तिक र मंसिर महिनामा जाडो छल्न बेसी झरेका स्थानीय नागरिकहरु गर्मी सुरु भएपछि साविककै स्थानमा माथि उक्लिने उल्लेख गरे ।
हिउँदयाममा उपल्लो मुस्ताङको मौसम निकै कष्ठकर र प्रतिकुल रहने गर्छ । त्यहाँका नागरिकहरु जाडो छल्न बेसी झरेपनि पशुचौपाया रेखदेख गर्ने र बृद्धबृद्धाहरु घर कुरुवाका लागि गाउँमै रहने जनाईएको छ । उपल्लो मुस्ताङका अधिकाँश नागरिकहरु जाडो छल्न झरेकाले स्थानीय गाउँपालिकाको कामकाज समेत पुरै ठप्प छ । सेवाग्राही बेसी झरेकाले स्थानीय गाउँपालिका कर्मचारीहरु कार्यालय सहयोगलाई कुरुवा छोडेर बेसी झरेका हुन् ।
हिउँदयाममा जाडो छल्न बेंसी झरेका उपल्लो मुस्ताङका नागरिकहरु हिउँदयामको महिनामा बेसीमा बसेर घुम्ती ब्यापार चलाउन गर्छन् । बेसीको सुगम स्थानमा घर भएकाहरु आफ्नै घरमा बस्ने र घर नभएकाहरुले बेसीको पारिलो स्थानमा ब्यापार गर्न जुट्छन । कतिपय उपल्लो मुस्ताङका नागरिकहरु जाडो महिनामा सुईटरको ब्यापार गर्न भारतका विभिन्न स्थानमा समेत पुग्ने गर्छन ।
उपल्लो मुस्ताङमा जाडो अत्यधिक बढेकाले त्यहाँका सामुदायिक तथा परम्परागत धार्मिक गुम्बा विद्यालयहरु पनि मंसिर अगावै घुम्ती कक्षा चलाउन बेसीतर्फ झरिसकेको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन पौडेलले जानकारी दिए । हिउँयाममा कार्यालय खुल्ने भएपनि स्थानीय नागरिक बेसी झरेकाले अतिआवश्यक कामकाजहरु बेसीमै बसेर सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ । हिउँदयाममा जाडो छल्न बेसी झरेका नागरिकहरुले गर्मी लागेपछि माथि उकालो उक्लिदा आफुलाई चाहिने घरायसी सामानको व्यवस्थापन गरी फर्किने गर्छन । यसवर्ष कोरलानाकाबाट चिनिया सामान खरिद गरेर बेसीमा बिक्री गर्ने र जाडो पनि छल्ने उद्देश्यले कतिपय नागरिकहरु त्यस प्रयोजनमा जुटेको पाईएको छ ।
उपल्ल्लो मुस्ताङका प्रहरी ईकाईका सुरक्षाकर्मीलाई तत्कालै न्यानो स्थानमा स्थान्तरण गर्ने योजना नरहेको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सुर्यबहादुर बोगटीले जानकारी दिए । विगतमा जाडो सुरु हुँनासाथ उपल्लो मुस्ताङका सुरक्षाकर्मीलाई तल झार्ने अभ्यास थियो, यसपटक हामीले त्यस बिषयमा कुनै योजना बनाएका छैन,डिएसपी बोगटीले भने, हेरौ जाडाले बस्न गारो हुने अवस्था आयो भने, न्यानो स्थानमा राख्ने होकी भन्ने छ, तत्काल हाम्रा सुरक्षाकर्मी जाडो छल्न भनेर तल झार्ने कुरा छैन ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली