यहाँको उपल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय मुस्ताङले स्थानीयको घरदैलोमै पुगेर राष्ट्रिय परिचय पत्र वितरण गरेको हो ।
सदरमुकाम जोमसोमदेखि ९० किलोमिटर टाढा भौगोलिक रुपले विकट स्थानमा रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचै वटा वडामा पुगेर राष्ट्रिय परिचय पत्र वितरण गरिएको हो । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट तयार भएर आएको २६५ थान राष्ट्रिय परिचय पत्र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय नागरिकहरुलाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत वडा १ चराङ, वडा—२ घमी र ढाक्मर, वडा—३ घिलिङ,वडा—४ सुर्खाङ र वडा —५ को ध्ये र ताङ्ग्या गाउँका स्थानीय नागरिकहरुलाई पञ्जिकरण विभागबाट प्राप्त राष्ट्रिय परिचय पत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालय अन्तर्गतका राष्ट्रिय परिचय पत्र शाखाका दर्ता अपरेटर बुद्धिरत्न थकालीले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचय पत्र प्राप्तिका लागि निवेदन दिएका मध्ये लोघेकर दामोदरकुण्डका नागरिकहरुको स्मार्ट राष्ट्रिय परिचय पत्र बनेर आएसंगै स्थानीय नागरिकहरुको सुविधाका लागि शाखाका कर्मचारी दर्ता अपरेटर बुद्धिरत्न थकाली र खरिदार सागर प्रताप अर्याल उपल्लो मुस्ताङ पुगेका थिए । टोलीले दुईदिनसम्म बसेर स्थानीयको घरदैलोमै राष्ट्रिय परिचय पत्र वितरण गरेको दर्ता अपरेटर थकालीले उल्लेख गर्नुभयोे । सरकारी सेवा,प्रशासन र नीति प्रणालीलाई छिटो,पारदर्शी र प्रभावकारी बनाउन सरकारको १०० दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत नागरिकको सहज सुविधाका लागि घरदैलोमै राष्ट्रिय परिचय पत्र वितरण सेवा प्रदान गरिएको हो ।
यसअघि राष्ट्रिय परिचय लिन महंगौ खर्च र दिनै फालेर सदरमुकाम जोमसोम धाउनु पर्ने बाध्यता रहेकोमा प्रशासन शाखाको टोलीले जनताको घरदैलोमै राष्ट्रिय पत्र वितरण सेवा पु¥याउँदा स्थानीय नागरिकहरुको समय र आर्थिक भार बचत भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । ‘जिल्ला मुकाममै लिनु जानु पर्ने राष्ट्रिय परिचय पत्र घरदैलामै वितरण भयो, सरकार जनताप्रति उत्तरदायी भएको महशुस भईरहेको छ, अध्यक्ष बिष्टले भन्नुभयो, जोमसोम पुगेर राष्ट्रिय प।िरचय पत्र लिएर फर्किदा एक जनालाई ५०० हजारसम्म खर्च लाग्छ, सबैको हिसाब गर्ने हो भने १३ लाख बढी पैसा खर्च हुन्थ्यो ।’ अध्यक्ष बिष्टले नागरिकता,राहदानी र राष्ट्रिय परिचय पत्र जस्ता सेवाहरुलाई गाउँ तहसम्म पु¥याउनु पर्ने उल्लेख गर्नुभयो ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले मुस्ताङमा यसप्रकारको राष्ट्रिय परिचय पत्रको शाखा २०७७ सालदेखि सुरु गरेको हो । मुस्ताङका करिव तेह्र हजारको हाराहारीमा जनसंख्या रहेकामा हालसम्म करिव सात हजार बढीले राष्ट्रिय परिचय पत्रका लागि आवेदन तथा फोटोसहितको बायोमेट्रिक विवरण पेश गरेका शाखाका दर्ता अपरेटर बुद्धिरत्न थकालीले जानकारी दिनुभयो ।
मुस्ताङमा हालसम्मको राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिएका र बायोमेट्रिक विवरण पेश गरेकाहरु मध्ये छ हजार १४२ जनाको विभागबाट स्मार्ट राष्ट्रिय परिचय पत्र बनेर जिल्लामा आईपुगेको शाखाले जनाएको छ । जसमध्ये पाँच हजार ९६४ जनाको राष्ट्रिय परिचय पत्र वितरण भईसकेको र बाँकी १७८ जनाको राष्ट्रिय परिचय पत्र वितरण हुन बाँकी रहेको छ ।
पछिल्लो समय सरकारले बैंक खाता खोल्न र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय अनिवार्य गराएसंगै मुस्ताङमा राष्ट्रिय पत्रका लागि आवेदन दिनेतर्फ नागरिकहरुको ध्यान जान थालेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली