मुस्ताङका पाँच पालिकाबाट १५ हजार भेडाच्यांग्रा निकासी हुने प्रक्षेपण

जोमसोम ।

यसवर्ष हिमाली जिल्ला मुस्ताङमा दशै लक्षित भेडाच्यांग्रा पन्ध्र हजारको संख्यामा निकासी हुँने प्रक्षेपण गरिएको । मुस्ताङका पाँचै वटा स्थानीय तहसंगको समन्वयमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गरेको प्रारम्भिक रिपोर्टिङमा यहाँबाट उक्त संख्यामा भेडाच्यांग्रा बाहिरिने प्रारम्भिक प्रक्षेपण गरिएको हो ।

यहाँ गरिएको प्रारम्भिक आंकलन अनुसार गतवर्षको भन्दा यसवर्ष दोब्बर संख्यामा भेडाच्यांग्रा मुस्ताङबाट निकासी हुँने अनुमान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले उल्लेख गर्नुभयो । गतवर्ष मुस्ताङमा पालन गरिएका ८ हजारको संख्यामा दशै लक्षित भेडाच्यांग्रा बेसीतर्फ निकासी भएको कार्यालय प्रमुख डा. अर्यालको भनाई छ । उहाँका अनुसार गतवर्ष डोल्पाबाट मुस्ताङ हुँदै चार हजार बढी भेडाच्यांग्रा बाहिरिएको थियो ।  गतवर्ष मुस्ताङ र डोल्पाको गरी मुस्ताङबाट कुल १२ हजार बढी च्यांग्रा निकासी भएको उहाँको भनाई छ ।

 भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङको वार्षिक तथ्यांक अनुसार यहाँका पाँचै वटा पालिकामा ६४ हजार ४०८ भेडाच्यांग्रा र बाख्राको सख्या रहेको छ । यहाँको पाँच पालिकामा च्यांग्रा ५६ हजार ४०५, भेडा ५ हजार ४२६ र बाख्रा २ हजार ५७७ वटा रहेको कार्यालय प्रमुख डा. अर्यालले बताउँनुभयो ।

यहाँको लोमान्थाङ गाउँपालिकामा च्यांग्रा १४ हजार ३९८  र भेडा  एक हजार ८२९, लोघेकर दामोदरकुण्डमा च्यांग्रा १७ हजार ३४९ र भेडा १४९, वारागुङ मुक्तिक्षेत्रमा च्यांग्रा २० हजार ६१६ र भेडा एक हजार ३०८,घरपझोङ गाउँपालिकामा च्यांग्रा ४ हजार ४२ , भेडा ४३३, बाख्रा एक हजार १९४ र मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकामा भेडा ३७ र बाख्रा एक हजार ३८३ वटा रहेको जनाईएको छ ।

मुस्ताङमा सबै भन्दा बढी च्यांग्रा पालन भएको वारागुङ मुक्तिक्षेत्रबाट पाँच हजार र अन्य चारपालिकाबाट दुई हजार पाँच सयको संख्यामा भेडाच्यांग्रा जिल्ला बाहिर निकासी हुने प्रक्षेपण गरिएको हो । यहाँ पालन गरिएको चार वर्ष कटेका वयस्क भेडाच्यांग्रा  दशै÷तिहार पर्वको छेकोमा निकासी हुने गरेको भेटेरिनरी चिकित्सक डा. अर्यालले बताउँनुभयो । उहाँले मुस्ताङको तल्लो क्षेत्रमा दुई हजार पाँच सय बढीको संख्यामा सिनाल प्रजातीको बाख्रा र अन्य जातका बाख्रा पालन भईरहेको बताउँनुभयो ।

यसवर्ष मुस्ताङमा १५ हजार बढी भेडाच्यांग्रा निकासी हुने र छिमेकी जिल्ला डोल्पाबाट ५ हजार बढी च्यांग्रा आउने प्रारम्भिक अनुमान गरिएको हो । यहाँको उत्पादन र डाल्पाबाट भित्रिने भेडाच्यांग्रा गरी करिव २० हजार बढी भेडाच्यांग्रा मुस्ताङको जोमसोम हुँदै म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसाबाट बाहिरिने पशु चिकित्सक डा. अर्यालको दावी छ । गतवर्ष मुस्ताङमा प्रति च्यांग्रा २८ हजारदेखि ३५ हजार मुल्यमा च्यांग्रा बिक्री गरिएको थियो ।

आवश्यक प्रक्रिया पुगे तिब्बतबाट च्यांग्रा ल्याउन कुनै समस्या नरहेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । मुस्ताङको न्हेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयका निमित्त प्रमुख नायब सुब्बा उत्तम राईले नेपाल—चिन उत्तरी कोरलानाकाबाट भेडाच्यांग्राका पाठापाठी भित्रिएको बताउँनुभयो । उहाँले मासुजन्य प्रयोगका लागि वयस्क भेडाच्यांग्रा नभित्रिएको जानकारी दिनुभयो ।

‘यहाँ भेडाच्याग्रा आयात गर्नमा कुनै समस्या छैन, ब्यापारीहरुले चाईनाबाट पशु क्वारेन्टाईन रिपोर्ट लिएर आउनु प¥यो,’ निमित्त प्रमुख राईले भन्नुभयो,‘ यहाँ तिब्बतबाट भित्रिएका भेडाच्यांग्राको लोमान्थाङ गाउँपालिकाको पशु शाखा चिकित्सकले यहाँ भन्सारमा पशु निरोगिता सम्वन्धि प्रमाणित गर्नुहुन्छ, त्यसपछि हामीले भन्सार राजश्व काट्छौं ।’  निमित्त प्रमुख राईले भन्सार कार्यालयको क्वारेन्टाईन पूर्वाधार नभएकाले पालिकाको सहयोगमा आवश्यक चेकजाँच गरी भन्सारले बैधता प्रदान गर्ने बताउँनुभयो ।


प्रतिक्रिया