मुस्ताङ अस्पताल जाने सडक कन्त विजोग

जोमसोम— मुस्ताङको जोमसोम स्थित २५ शैयाको प्रदेश अस्पताल जाने सडक ट्याक नहुँदा सेवाग्राहीलाई सास्ती बनेको छ । कालिगण्डकी करिाडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साविक सडक ग्रेड डाउन गरेपछि जोमसोम स्थित प्रदेश अस्पताल जाने सडक एक वर्षदेखि अवरुद्ध बनेको छ ।

 यसअघि जोमसोमको प्रदेश अस्पताल जाने बाटो मुल  सडकबाट सिधैं अस्पतालसम्मनै हलुका सवारी साधन लानेलैजाने गर्न मिल्ने सडक थियो । अस्पताल जाने सडकमा दायँबायां व्यक्तिका घरहरु परेकाले अस्पताल जाने सडक निकै साँघुरो थियो ।  साँघुरो भएपनि अस्पताल प्रशासनका सवारी साधन तथा बिरामी बोक्ने एम्बुलेन्स र बिरामीका आफन्त आउने जाने सवारी साधनलाई कामचलाउ अवस्थामै थियो ।

 अहिले कोवाङ—जोमसोम सडक अन्तर्गत अस्पताल अगाडीको मुल सडकको ग्रेड डाउन गरेसंगै अस्पतालसम्म सिधै जाने आउने सवारी साधनको सडक  पुर्ण रुपमा बन्द भएको छ । अस्पताल सडकको लेवल भन्दा मुख्य राजमार्ग सडकको ग्रेड निकै तल झरेकाले  अस्पताल जाने सडकमा सवारी साधन लैजान ट्याक नै क्षति भईसकेको छ । सडक ग्रेड डाउन गरेरै मुख्य राजमार्ग सडक  विस्तार गरेकाले सवारी साधन प्रवेश गर्ने सवारी मात्रै होईन पैदलै हिडेर अस्पतालसम्म जाने बाटोनै अप्ठ्यारो र जीर्ण बनेको छ । अस्पतालको साविक सडकको ट्याक विस्थापित भएसंगै अस्पतालमा सेवा लिन जाने बिरामी तथा आफन्तका लागि निकैनै समस्या उत्पन्न भएको छ ।

त्यसो त मुख्य राजमार्ग सडक तल कालिगण्डकी नदीको सतह भएकै कारणले पनि युटर्न गरेर अस्पतालसम्म लैजाने सडक विस्तार गर्न नमिल्ने अवस्था छ । अहिले जोमसोम स्थित प्रदेश अस्पतालसम्म सवारी साधन लैजान वैकल्पिक बाटो प्रयोग गरिएको छ । साविकको सडक भन्दा करिव ५० मिटर माथि उत्तरतर्फको साँघुरो गल्लीबाट बैकल्पिक सवारी आउजाउ गर्ने सडक प्रयोगमा छ ।

 मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले मुस्ताङको प्रदेश अस्पताल जोमसोम जाने सडक बाटोका लागि तीन वटा विकल्प रहेको बताउँनुभयो । प्रजिअ भुसालका अनुसार मुस्ताङको प्रदेश अस्पतालसम्म सवारी साधन लैजान मिल्ने गरी पहिलो प्राथमिकता सडकको ग्रेड उचाई वृद्धि गर्ने योजना रहेको छ । सरकारी कार्यालय जाने झोलुङ्गे पुलबाट करिव दुई मिटर सडकको ग्रेड वृद्धि गर्न सकिएमा अस्पताल जाने सडकमा सवारी साधन लैजान मिल्ने उल्लेख गर्नुभयो । यस सम्वन्धिमा सडक आयोजनासंग छलफल भईरहेको प्रजिअ भुुसालले उल्लेख गर्नुभयो ।

 अस्पताल जाने अहिले सञ्चालनमा रहेको बैकल्पिक सडकलाई फराकिलो बनाएर सवारी साधनलाई सहज रुपमा अस्पतालसम्म लैजान मिल्ने दोस्रो विकल्प रहेको प्रजिअ भुसालको भनाई छ । ‘वैकल्पिक सडकमा केही व्यक्तिहरुले सार्वजनिक अतिक्रम गरेको बुझिएको छ’,प्रजिअ भुसालले भने,‘ केही भएन भने त्यहाँ मापदण्ड मिचेर बनेका घरटहरा हटाएर उक्त सडकलाई फराकिलो बनाएर सहज बनाईने छ।’

 यसैगरी तस्रो विकल्पमा अस्पताल अगाडी रहेका घरआंगनबाट सडक विस्तार गरिने प्रजिअ भुसालले बताउँनुभयो । प्रजिअ भुसालले अस्पतालसम्म सडक सहज बनाउन तीन वटै विकल्पमा रहेर छलफल अगाडी बढाईने जानकारी दिनुभयो । 

मुस्ताङ स्थित प्रदेश अस्पताल जोमसोममा सवारी साधनका लागि सडक बाटो सहज नहुँदा अस्पतालमा सेवा लिन जाने सवारी साधनलाई निकै समस्या र चुनौति बनेको छ । मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन  तेजेस नेपालले अस्पताल सडकका लागि विभिन्न चरणमा छलफल भएपनि समस्या समाधान नभएको जानकारी दिनुभयो ।

मुस्ताङको प्रदेश अस्पताल जोमसोमको २५ शैयाको सुविधा सम्पन्न तीन तलाको अपांगमैत्री भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा छ । तर, अस्पतालको भौतिक पूर्वाधार भव्य बनेपनि मुख्य सडकबाट अस्पताल जाने सडक बाटो सहज नहुँदा सेवाग्राहीले निकैनै सास्ती भोग्दै आईरहेका छन् ।


प्रतिक्रिया