मुस्ताङको फल्याकमा गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कप सुरु

मुस्ताङ, ५, भदौं ।

यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित फल्याक गाउँमा बिहिबारदेखि प्रथम गाउँपालिका स्तरीय  अध्यक्ष कप २०८२ विविध खेलकुद प्रतियोगिता शुभारम्भ भएको छ । यहाँ स्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना तथा सेर्घुङ ल्हुङबुग युवाक्लवको सहआयोजनामा वारागुङ—५ फल्याक गाउँ खेलमैदानमा प्रथम अध्यक्ष कप प्रतियोगिता आयोजना गरिएको हो 

‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद, स्थानीय खेलकुद तथा संस्कृतिको संरक्षण गरौं‘ भन्ने उद्घोषसहित सुरु भएको प्रथम अध्यक्ष कप २०८२ को मुस्ताङका पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले ब्यानर वाचन गरी कार्यक्रमको समुद्घाटन गर्नुभयो । उहाँले खेलकुदका माध्यमबाट संस्कृति संरक्षणमा योगदान पुग्ने बताउँनुभयो । यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले प्रतियोगितामा सहभागि खेलाडीहरुले अनुशासन र धैर्य भएर आफ्नो खेलकुद कला प्रर्दशन गर्नुपर्ने सुझाउनुभयो । अध्यक्ष कपमा उपाध्यक्ष दिकी गुरुङले आमन्त्रित अतिथि तथा खेलाडी लगायतलाई स्वागत गर्नुभएको थियो ।

यसअघि यहाँ स्थित फल्याक गाउँका महिला तथा पुरुषहरुको समुहले स्थानीय भाषामा गीत गाउँदै खेलमैदानमा पुगेर खेलाडी, खेल हेर्न पुगेका दर्शन र अतिथि पाहुनाहरुलाई भव्य स्वागत गरेको थियो ।स्थानीय मौलिक भेषभूषाको पहिरनमा त्यहाँका स्थानीय महिला तथा पुरुषहरुले स्थानीय भाषमा विभिन्न शुभकार्यहरुमा गाईने गीतलाई मौलिक संस्कृतिको रुपमा पस्किएका थिए ।

यहाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्तरीय अध्यक्ष कप २०८२ अन्तर्गत परम्परागत घोडा दौड प्रतितियोगिता, तारा खेल प्रतियोगिता र  सेभेन ए साईड फुटबल प्रतियोगिता संञ्चालन हुने वारागुङ—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता अन्तर्गत घोडा दौडको विजेताले नगद ५० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाउँने छ । यसैगरी घोडा दौडको उपविजेता र तेस्रो हुनेले क्रमश ः नगद ३५ हजार र २० हजार रुपैया पुरस्कार राशीसहित मेडल र प्रमाणपत्र पाउँनेछ ।

 परम्परागत तारा खेल प्रतियोगिताको प्रथमले नगद ५० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाउँने छ । उपविजेता टिमले नगद ३५ हजार र तेस्रो हुने टिमले नगद २० हजार पुरस्कार राशीसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

अध्यक्ष कप सेभेन ए साईड फुटबल प्रतियोगिताका गाउँपालिका भित्रका कुल ११ वटा टिमको सहभागिता रहेको छ । तारा खेलतर्फ कुल १६ वटा टिमको सहभागिता रहेको जनाईएको छ ।

प्रतियोगिता अन्तर्गत तारा खेलको गाउँपालिका अध्यक्ष रिनजिन नाम्गेल गुरुङले धनुषवाण प्रहार गरी कार्यक्रमको उद्घाटन गुर्नुभएको थियो । सेभेन ए साईड फुटबल प्रतियोगिताको गाउँपालिकाका पूर्व अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले रेफ्रीलाई बल हस्तान्तरण शुभारम्भ गर्नुभएको थियो ।

 यसैगरी हाईअल्टिच्युड सेभेन ए साईड फुटबुल प्रतियोगिताको च्याम्पियनले नगद ६० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद ४० हजार र तेस्रो हुनेले नगद २० हजार पुरस्कार राशीसहित मेडल र प्रमाणपत्र प्र्रदान गरिने वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

यहा आयोजित महिलाहरुको मनोरञ्जनका लागि डोरी तान्ने र घैटो फुटाउने खेल प्रतियोगिता समेत समावेश गरिएको वडाध्यक्ष गुरुङको भनाई छ ।

यहाँ आयोजित अध्यक्ष कप २०८२ अन्तर्गत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । तीनदिनसम्म संञ्चालन हुने अध्यक्ष कपमा स्थानीय भाषा ,संस्कृति र परम्परालाई उजागर गर्ने गरी स्थानीय सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । यसैगरी सोही क्रममा ख्यातीप्राप्त कलाकारहरुद्वारा नाईट कन्सर्ट समेत आयोजना गरिएको छ ।


प्रतिक्रिया