जोमसोम ।।
चौबिस वर्षपछि नेपाली सेनाले मुस्ताङको थासाङ गाउँपालिका –४ घाँसामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको स्वामित्वमा रहेको २० रोपनी जग्गा बागवानी केन्द्रलाई नै हस्तान्तरण गरेको छ ।
त्यहाँ वि.स. २०५८ सालदेखि नेपाली सेनाको सुरक्षा पोस्ट बस्दैआईरहेको थियो । सशस्त्र द्धन्दकालिन समयको एक बिषम परिस्थितीमा म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङको घाँसामा नेपाली सेनाले त्यहाँ सुरक्षा पोस्ट खडा गरेको थियो । जोमसोम स्थित ईन्द्र बक्स गण्डका प्रमुख सेनानी मोहनकुमार थापाले घाँसामा रहेको सेनाको सुरक्षा पोस्ट जोमसोममा मर्ज भएकाले उक्त स्थानको जग्गा बागवानी विकास केन्द्रलाईनै हस्तान्तरण गरिएको पुष्टि गर्नुभयो ।
नेपाली सेनाले देशका विभिन्न स्थानमा रहेका सैनिक सुरक्षा पोस्टलाई आवश्यकता र औचित्यताका आधारमा मर्ज गर्ने निर्णय अनुसार यहाँको सुरक्षा पोस्ट मर्ज सूचिमा परेकाले बागवानीलाई फिर्ता गरिएको प्रमुख सेनानी थापाले बताउनुभयो । मुस्ताङको घाँसामा अस्थायी सुरक्षाका रुपमा बस्दैआईरहेको नेपाली सेनाको पोस्ट त्यहाँबाट मर्ज भएर जोमसोम स्थित ईन्द्रबक्स गणमा सरेको हो ।
नेपाली सेना अन्तर्गत ईन्द्रबक्स गणले गत असार १३ गते लिखित रुपमा सहमति गरेर उक्त स्थानको जग्गा शीतोष्ण बागवानी विकास केन्द्र मार्फालाई हस्तान्तरण भएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । ‘‘नेपाली सेनाबाट हाम्रो जग्गा हामीलाईनै हस्तान्तरण गरेको छ, निकै हार्दिकतापूर्वक दुबै पक्ष बसेर लिखित कागजात गरी हामीलाई हस्तान्तरण भएको हो,’ केन्द्र प्रमुख आत्रेयले भन्नुभयो । अब त्यहाँ बागवानी विकास केन्द्रले त्यहाको हावापानी सुहाउँदो फलफूल तथा तरकारीको विकास र विस्तारका कार्यहरु अघि बढाउने ढोका खुलेको छ, हामी त्यहाँ योजनावद्ध रुपमा कार्य गरि त्यहाँका कृषकहरुलाई प्रोत्साहित गर्दै लैजाने छौं ।’’
त्यहाँ पूर्ण रुपमा सेनाको सुरक्षा पोस्ट हटिसकेपछि केन्द्रको स्वामित्वमा रहेको जग्गालाई घेराबार गरी गह्रा सुधार तथा सिंचाई ब्यवस्थापन लगायतका कामहरु अघि बढाईने योजना रहेको केन्द्र प्रमुख आत्रेयको भनाई छ । उहाँका अनुसार सामुन्द्रिक सतह देखि करिव दुई हजार मिटर उचाईमा रहेको उक्त क्षेत्र नर्सरीको विरुवा उत्पादनका लागि निकै नै उपयुक्त स्थान रहेको छ ।
त्यहाँको जग्गामा नर्सरीको रुपमा विकास गर्न ब्यापक रुपमा गुरुयोजना अघि बढाएर केन्द्रले कार्यसम्पादन गर्ने केन्द्र प्रमुख आत्रेयको भनाई छ । त्यहाँ शीतोष्ण फलफूल अन्तर्गत उच्चघनत्वमा लगाउन सकिने स्याउका विरुवा उत्पादनदेखि ओखरको कलमी विरुवा उत्पादन, स्वीट चेरी, आरु, आरु बखडा, खुर्पानी, किवी र अंगुर लगायतका फलफूलका गुणस्तरिय विरुवा उत्पादन गर्ने लक्ष्य रहेको केन्द्र प्रमुख आत्रेयले सुनाउँनुभयो ।
यसवर्ष आर्थिक वर्ष सकिन लागेकाले आगामी आर्थिक वर्षदेखि बजेट माग गरेर त्यहाँको जग्गामा फलफूल विरुवा तथा तरकारीका बीउ÷विरुवा उत्पादन गरिने उहाँले बताउनुभयो । ’तत्कालै हामीले त्यहाँ गर्न सकिने प्रारम्भिक चरणका कामहरुलाई अघि बढाउँदै छौं’ केन्द्र प्रमुख आत्रेयको उल्लेख गर्नुभयो ।
म्याग्दी र मुस्ताङको सीमाना घाँसामा हस्तान्तरण भएको जग्गामा केन्द्रले यहाँको उपयुक्त हावापानी सुहाँउदो खेतीलाई मध्य नजर गर्दै चरणबद्ध रुपमा कार्यान्वयनमा लैजादैं जाने बताईएको छ । त्यहाँ बागवानीको शाखा स्थापना भएपछि मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिका र समग्र मुस्ताङ्गका कृषकहरुलाई निकै ठुलो टेवा पुग्ने विश्वास गरिएको छ । मुस्ताङको घाँसामा बेनी जोमसोम सडकमार्गसंगै बागवानी विकास केन्द्रको जग्गामा विगत २४ बर्षदेखि नेपाली सेनाको सुरक्षा पोस्ट बस्दैआईरहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली