हिमपहिरोले थुनिएको बोक्सीखोलामा पानी बग्न थाल्यो

जोमसोम— मुस्ताङको थासाङ स्थित बोक्सी खोला माथि छिप्लुङमा थुनिएको हिमपहिरो सामान्य अवस्थामा फर्किन थालेको छ । शुक्रबार दिउँसो करिव १२ बजेदेखि हिमपहिरो गएपछि बोक्सामा पानीको सहत सुकेर ९० प्रतिशत घटेको थियो । हिमपहिरो थुनिएकाले बोक्सी खोला आसपास क्षेत्रका करिव ९ घरधुरी उच्चजोखिममा परेको थियो ।

शुक्रबार दिउँसो धौलागिरी क्षेत्रको पानापाथी हिमालको फेंदबाट हिमनदी फुटेर थासाङको बोक्सी खोला माथिको लेंकमा जमेर करिव ५ घण्टा नदी थुनिएको थियो । बोक्सी खोला माथिको लेंकमा हिमपहिरो थुनिएको सूचनापछि प्रशासन,प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली त्यसक्षेत्रमा पुगेको थियो । प्रशासन र सुरक्षाकर्मीले हिमपहिरोका कारण हुने सम्भावित जोखिम न्यूनिकरण गर्न बोक्सी खोला आसपासका जेष्ठ नागरिक र बालबालिकालाई अन्य स्थानमा स्थान्तरण गरेको थियो । तर, बस्तीका अन्य र भौतिक सम्पतीहरुलाई यथास्थानमा राखेर सुरक्षाकर्मीले निगरानी गरेका थिए ।

 जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी भोजराज पाण्डेयले हिमपहिरोले थुनिएको बोक्सी खोला पुन लयमा फर्किन थालेको जानकारी दिए ।हिमपहिरो बोक्सी खोल थुनिएर तटीय बस्ती जोखिममा परेका थिए, डिएसपी पाण्डेयले भने,‘ अहिले बोक्सी खोलामा पानीको सहत बिस्तारै बहन थालेको छ ।’ डिएसपी पाण्डेले हिमनदी एकैसाथ फुटेको भए जोखिम हुने थियो तर हिमनदी विस्तारै पग्लिदै पानी बहन थालेकाले संम्भावित जोखिम टरेको उल्लेख गरे ।

 शुक्रबार धौलागिरि हिमालको मानापाथी हिमालको फेंदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरो  छिप्लुङसम्म पुगेर थुनिएको थियो । थासाङको उक्त क्षेत्रमा २०७८ सालमा पनि हिमपहिरो जाँदा स्कुल विद्यार्थी र स्थानीय नागरिक हाताहाती भएका थिए ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण जमिनको तापक्रम वृद्धि हुँदा हिमालको हिउँ र हिमनदी फुट्ने जोखिमले कालिगण्डकी नदीको तटीय क्षेत्रका वस्ती जोखिममा पर्न थालेका हुन् । मुस्ताङमा हिमपहिरो र कालिगण्डकी नदीको उकास बर्सेनि वृद्धि हुँदा यहाँका धेरैजसो बस्ती प्राकृतिक जोखिम पर्ने गरेका छन् ।


प्रतिक्रिया