पर्यटकको क्रेज ‘ढुम्बाताल’

जोमसोम— निलगिरि हिमालको फेंदैमा अवस्थित मुस्ताङको घरपझोङ—५ सम्लेमा अवस्थित महत्वपूर्ण पर्यटकीय गन्तब्य ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषणको केन्द्र बनेको छ । समून्द्री सतहको दुई हजार ८ सय ८३० मिटरको अग्लो उचाईमा अवस्थित ढुम्बातालमा पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा विकास हुन थालेको छ ।

जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि ३ किलोमिटर दुरीमा पर्ने पर्यटकीय गन्तब्य ढुम्बातालसम्म सडकको पहुँच जोडिएसंगै ढुम्बातालमा आन्तरिक तथा पर्यटकको उपस्थिती बर्सेनि वृद्धि हुँदै जान थालेको हो । जोमसोमदेखि ठिनी गाउँसम्म करिव २ किलोमिटर सडक कालोपत्रे र ठिनी गाउँदेखि ढुम्बासम्म एक किलोटिमर सडक ग्राभेल सडक विस्तार भएसंगै मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलाानकासम्म पुगेर फर्किएका पर्यटकले ढुम्बातालको अवलोकन गर्न छुटाउँदैनन् । गण्डकी प्रदेस सरकारले ढुम्बाताल जोड्ने गरी घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेकाले मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई ढुम्बातालसम्म पुग्न सहज भएको हो ।

 ढुम्बाताल छेउ रेष्टुरेन्ट सञ्चालन गर्नु भएकी सनी थकालीले पर्यटकीय याममा दैनिक दुई सयदेखि पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्न आउने गरेको जानकारी दिनुभयो । ‘ विशेषगरी दशै—तिहार र औसी तिथिमा धेरै भन्दा धेरै पर्यटक यहाँ आउनु हुन्छ, अन्यसमयमा औसत ४०÷५० जना को हाराहारी पर्यटकले ढुम्बातालको अवलोकन गर्ने गर्छन’ रेष्टुरेन्टकी सञ्चालिका थकालीले भन्नुभयो,‘ बर्सेनि सडक सहज हुँदै गएकाले पर्यटक संख्या पनि वृद्धि भईरहेकोे छ, पर्यटकले बढेकाले आफ्ने रेष्टुरेन्ट पनि सन्तोषजनक रुपले चलेको छ ।’

भिरालो सतहको अग्लो उचाईमा अवस्थित ढुम्बाताललाई पछिल्लो समय ‘पान बुट्टे’ तालको रुपमा परिचित छ ।ढुम्बाताल माथिको अग्लो स्थानमा अवलोकन गर्दा ढुम्बाताल लभ साईन (प्रेम चिन्ह)को रुपमा देख्न सकिन्छ । यसैका कारण ढुम्बाताललाई पान बुट्टे ताल भन्ने गरिएको हो । करिव एक सय ३० मिटर दुरीमा फैलिएको निलो रंगको ढुम्बाताल अग्लो स्थानको जंगलको फेंदमा अवस्थित छ । निलगिरि हिमालको फेंदमुनिको मुलको पानी सिञ्चित हुँदै ढुम्बाताल बनेको स्थानीयको भनाई छ ।

ढुम्बातालबाट निलिगिरि हिमाल र धौलागिरि हिमाल लगायत आसपासका डाँडाकाँढा निकै मनमोहक देखिन गर्छ । ढुम्बातालमा कुछ्प तेरङ्गा गुम्बा, कालिगण्डकी करिडोर लगायत जोमसोम,ठिनी,स्याङ,मार्फा र सम्ले लगायतका गाउँ निकै आर्कषण देखिन्छनन् । यसका अलवा ढुम्बातालबाट मार्फा,जोमसोम,स्याङ, ठिनी र सम्ले गाउँ लगायतका स्थानका स्याउबारी तथा उवा खेतीले त्यहाँ पुग्ने पर्यटकलाई झनै मोहित तुल्याउन गर्छ ।

काठमान्डौंबाट मुस्ताङ भ्रमणका क्रममा ढुम्बाताल पुग्नु भएकी  सोनी अवालले कोलाहल मुक्त स्थानमा रहेको मुस्ताङको ढुम्बातालमा आईपुग्दा बेग्लै फरक अनुभूती भएको सुनाउँनुभयो । तालतलैया त बेसीमा छन्, तर, त्यहाँ निकैनै कोलाहल हुन्छ’, अवालले थप्नुभयो,‘ यहाँको प्राकृतिक सौन्दर्यता र रमणीय कोलाहल मुक्त स्थानले बेग्लै संसारमा आईपुगको महशुस भएको छ ।’ मुक्तिनाथ दर्शन र उपल्लो मुस्ताङ घुम्न आउँदा ढुम्बाताल छुटाउँनै नहुँने पर्यटकीय गन्तव्य रहेको अवालले उल्लेख गर्नुभयो ।

मुस्ताङको महत्वपूर्ण पर्यटकीय गन्तब्य ढुम्बाताल ऐतिहाँसिक ,धार्मिक तथा सांस्कृतिक दृष्ट्रिकोणले पनि निकै महत्वपूर्ण रहेको ठिनीका स्थानीय निरज थकालीले जानकारी दिनुभयो । ढुम्बाताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बाको ईतिहाँससंग जोडिएको थकालीको भनाई छ ।

थकालीका अनुसार परापूर्व कालमा ठिनी गाउँका स्थानीय लामा उर्गेन पाल्साङले तिब्बत पुगेर बोद्ध शिक्षा प्राप्त गरेका थिए । त्यसक्रममा लामा पाल्साङलाई बुद्ध धर्म फैलाउन गुरु दक्षिणा स्वरुपमा गुरुले पद्यसम्भव (गुरु रिन्र्पोछे)को पाँच रत्न उपहार दिएका थिए । गुरुले पाँच रत्न दिने क्रममा त्यसलाई विशाल हात्तीको सुढ आकारको पहाड र त्यसको देब्रे दाहिने हिमाल देख्न सकिने, त्यसको तल कालिगण्डकी नदी र उत्तरतर्फ ताल भएको ठाउँमा विराजमान गराउनु भन्ने आदेश दिनुभयो । सोही अनुसार ढुम्बातालको छेउमा गुरु पद्यसम्भवको पाँच रत्न कुछ्प तेरङ्गा प्रतिस्थापन गर्नु भएको भन्ने धार्मिक किवदन्ती छ ।

 बौद्ध धर्मको चार हाँगा मध्ये निङ्पा धर्मसंग कुछ्प तेर्ङगा गुम्बा र ढुम्बाताल सम्वन्धित रहेको स्थानीय थकालीको भनाई छ ।  बर्सेनि कुछ्प तेरङ्गा गुम्बामा विशेष धार्मिक पुजाआजा चल्दा ढुम्बातालको जल चढाउने गरेको थकालीले उल्लेख गर्नुभयो ।

 मुस्ताङको पर्यटकीय गन्तब्य ढुम्बाताल कुछ्प तेर्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा रहेको छ । ताललाई एक्याप अन्तर्गत स्थानीय जोमसोम,ठिनी र सम्ले संरक्षण व्यवस्थापन समितिले संरक्षणका लागि योगदान गर्दैआईरहेका छन् । गुरु पद्यम सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पुजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने गरेको छ । तालको उत्तरतर्फको भागमा ढुलो सेतो ढुंगा अवस्थित छ । त्यहाँ नाग देवताको थान रहेको बताईन्छ । तालमा माछा मार्न प्रतिबन्ध गरिएको छ । तालमा माछा खानका लागि लोपोन्मुख पानी हासहरु जम्मा हुने गर्छन् ।

 गुरु पद्यम सम्भवसंग जोडिएको धार्मिक महत्वको ढुम्बातालाम कहिल्यै लेउ लाग्दैन र फोहोर पनि हुँदैन । ढुम्बातालमा कुछ्प तेरङ्गा गुम्बाका लामाहरुले विशेष धार्मिक कर्म हुँदा पुजाआजा गर्ने प्रचलन रहेको स्थानीय निरज थकालीको भनाई छ । 

पछिल्लो समय प्रदेश सरकार ,स्थानीय सरकार, एक्याप ,संरक्षण व्यवस्थापन समिति ,गुम्बा संरक्षण व्यवस्थापन समिति र स्थानीयबासीको पहलमा ढुम्बातालमा पूर्वाधार विकासमा समेत जोड दिईएको छ । ढुम्बताल वरिपरी रेलिङसहितको सिंढी बाटो, बिश्राम स्थल ,हर्ट रुम लगायत विभिन्न सूचनामूलक साईनबोर्डहरुको व्यवस्थापन गरिएको छ ।

मुस्ताङको ढुम्बातालमा विभिन्न स्वदेश तथा विदेशी चलचित्रहरुको छायांकन भईसकेको र सामाजिक सञ्जालको कारण ढुम्बातालको प्रचार÷प्रसारमा ठुलो योगदान पुगेको स्थानीय थकालीले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया