हिउँदयामको अत्यधिक चिसो बढेसंगै मुस्ताङमा बालबालिका र ज्येष्ठ नागरिकलाई रुघाखोकी र निमोनिया हुने समस्याबाट प्रभावित बनेका छन् । मुख्यतया चिसोका कारण यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर पु¥याएको पाईएको छ ।
यहाँको प्रादेशिक अस्पताल जोमसोममा पछिल्लो समय चिसोका कारण बिरामीहरु भर्ना हुने क्रम बढ्दो रहेको छ । हिउँदयामको मौसममा चिसोबाट जोगिन विशेष सावधानीका उपायहरु अपनाउन नसक्दा यहाँ सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुने गरेको प्रादेशिक अस्पताल जोमसोमले उल्लेख गरेको छ । जोमसोम अस्पतालमा बिरामी भई भर्ना भएर सेवा लिन आउने मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिका रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. समिक्षा कडेलले जानकारी दिनुभयो ।
यहाँको प्रादेशिक अस्पताल जोमसोममा चालु आ.व.को साउनमा ७४९ जना, भदौमा ६०९ जना, असोजमा ५७० जना र कार्तिक महिनामा ४८८ जनाले ओपीडी सेवा लिएका थिए । चालु आ.व.को साउनमा १२० जना, भदौमा २०३ जना, असोजमा २९८ जना र कार्तिक महिनामा ३०९ जनाले प्रादेशिक अस्पताल जोमसोममा ईमरजेन्सी सेवा प्राप्त गरेका मेडिकल सुपेरिटेन्डेन्ट डा.समिक्षा कडेलले बताउँनुभयो ।
यसैगरी यसै आ.व.को साउनमा १८ जना,भदौमा ३७ जना,असोजमा ३७ जना र कार्तिक महिनामा ४८ जनाले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिएका डा. कडेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार चालु आ.व.को मंसिर १५ गतेसम्ममा २८ जना बिरामीले अस्पताल भर्ना भई स्वास्थ्य सेवा लिईसकेका छन् ।
यहाँको पन्ध्र शैयाको प्रादेशिक अस्पतालमा चिसोका कारण बिरामीको संख्या दिनहु वृद्धि भईरहँदा अस्पतालको पुरै शैया बिरामीले भरिभराउ छ । चिसोका कारण यहाँका बालबालिकाहरुमा रुघाखोकी लाग्ने,स्वाश प्रश्वासमा समस्या हुने,स्वा स्वा हुँने,छाती घ्यार घ्यार हुने र ज्वरो आउने लगायतका स्वास्थ्य समस्याहरु देखिन थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कडेलको भनाई छ ।
चिसोका कारण अधिकाँश रुघाखोकी र निमोनियाँ लगायतका स्वास्थ्य समस्याहरु लिएर आउने मध्ये ८० प्रतिशत बढी १० वर्ष मुनिका बालबालिका रहेको उहाँले उल्लेख गर्नुभयो । चिसोका कारण रुघाखोकी र निमोनिया रोगका लक्षण देखिएमा तुरुन्तै अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा जचाउँनुपर्ने डा. कडलले जनाउँनुभयो । चालु वर्षको साउनदेखि पछिल्लो मंसिर दोस्रो हप्तासम्मको डेटा हेर्दा बालबालिका बिरामी भएर अस्पताल भर्ना हुनेको संख्या ७० प्रतिशतले वृद्धि भएको अस्पतालले जनाएको छ ।
हिउँदयामको चिसोका कारण सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक र अन्य रोगबाट ग्रसित व्यक्तिहरु प्रभावित हुने जोखिम रहेको छ । यस्ता उमेर समुह र विभिन्न रोगबाट ग्रसित व्यक्तिले चिसोबाट जोगिने विशेष स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको डा. कडेलको भनाई छ । हिमाली जिल्ला मुस्ताङ अक्सर चिसो ठाउँ भएकाले यसबाट बच्न विशेष सुरक्षा सावधानी अपनाउनुपर्ने डा. कडेलले बताउँनुभयो ।
चिसोबाट सुरक्षित रहनका लागि दाउरा वा कोईला बाल्दा,गिजर,हिटर लगायतका उपकरण प्रयोग गर्दा हावा छिर्ने गरी भेन्टिलेसन खुल्ला गर्नुपर्ने डा. कडेलले जनाउँनुभयो ।
यसैगरी चिसोबाट बालबालिका र ज्येष्ठ नागरिकहरुलाई रुघाखोकी र निमोनिया जस्ता समस्याबाट जोगिन न्यानो कपडा लगाउने, तातोपानी पिउने,झोलिलो र ताजा खानपान लगायतमा विशेष ध्यान पु¥याउनु पर्ने डा. कडेलले उल्लेख गर्नुभयो ।
हिउँदयामको अत्यधिक चिसो बढेसंगै माथिल्लो मुस्ताङका शैक्षिक संस्थाहरु जाडो छल्न बेसी झरिसकेका छन् । त्यहाँका बालबालिकाहरुलाई चिसोबाट जोगाउन सुरक्षित खोज्दै बेसी झारिसकिएको छ । तर, यहाँको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिका शैक्षिक संस्था सञ्चालनमा छन् ।
चिसोले यहाँका बालबालिकाहरु बिरामी भई प्रादेशिक अस्पतालमा भर्ना हुने क्रम बढेको छ भने अर्कोतर्फ यहाँका सम्वन्धित पालिकाको स्वास्थ्य संस्थामा समेत स्वास्थ्य परीक्षण गर्नेको संख्या पनि उत्तिकै छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली