पोखरा —जोमसोम हवाई सेवा तीन महिना बन्द

पोखरा —जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ, २०, जेठ ।

 यहाँको पोखरा—जोमसोम नियमित हवाई सेवा बन्द गरिएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाईन्स र समिट एयरलाईन्सले पोखरा—जोमसोम नियमित हवाई सेवा उडान करिव तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।

 बर्खायामको मनसुन , मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायतका कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरुले पोखरा—जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । 

 बेनी हुँदै सडकमार्गबाट मुस्ताङ आउने पर्यटकको चहलपहल यथावत रहेपनि पोखरा—जोमसोम हवाई यात्रु घटेका कारण हवाई सेवा बन्द हुने पुगेका प्रमुख पोखरेलले उल्लेख गर्नुभयो । यहाँ तारा एयरलाईन्सले मे २२ र समिट एयरलाईन्सले जुन २ तारिखदेखि पोखरा—जोमसोम हवाई सेवा बन्द गरेका प्रमुख पोखरेलले बताउँनुभयो ।

 जोमसोम नागरिक उड्यन कार्यालयले बर्सेनि हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रुपमा यहाँको पोखरा—जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ । यहाँ उडान भर्ने साना जहाजहरु हुम्ला सिमीकोट तर्फ उडाईएको छ । भारतीय पर्यटकका लागि तिब्बतको मानसरोवर यात्रा खुल्ला गरिएकाले यहाँ उडान भर्ने साना जहाज त्यसतर्फ पठाईएको हो ।

  यहाँको नियमित हवाई उडान सेवा  बन्द गरिएको भएपनि आकस्मिक चार्टर हवाई तथा हेली उडान  सेवा नरोकिने जोमसोम नागरिक उड्यन प्रमुख पोखरेलको भनाई छ । पर्यटकीय याममा दैनिक तारा र समिटले गरी औसत १० वटा उडान भर्ने गरेको र जसमा पोखराबाट हर्वा मार्ग प्रयोग करिव डेढ सय बढी पर्यटक मुस्ताङ आउने गरेका छन् । 

समिट एयरलाईन्स जोमसोमका स्टेशन ईञ्चार्ज सुमन थकालीले समिट एयरले जुन २ देखि उडान बन्द गरेको जानकारी दिनुभयो । बन्द गरिएको उडान अगस्ट १५ देखि संञ्चालनमा ल्याउने योजना रहेको स्टेशन ईञ्चार्ज थकालीले उल्लेख गर्नुभयो । यसैगरी तारा एयरलाईन्सले पनि मे २२ देखि बन्द गरेको पोखरा—जोमसोम हवाई सेवा सेप्टेम्बरदेखि सञ्चालनमा आउने जोमसोम स्थित स्टशेन ईञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । पर्यटक अफसिजन र मनसुन सुरु भएकाले हवाई सेवा बन्द गर्नु परेको उहाँको भनाई छ ।

यसअघि पोखरा—जोमसोम हवाई उडान सेवा अन्तर्गत तारा एयरलाईन्सले डिसेम्बर चारदेखि मार्च एक सम्म र समिट एयरलाईन्सले डिसेम्बर एकदेखि फेब्रुअरी एकसम्म नियमित हवाई सेवा बन्द गरेका थिए ।

प्रतिक्रिया