नेपाल—चीन उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम —कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ पुलदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड—२ स्थित घमी पुलसम्मको सडक योजनालाई नेपाल सरकार अर्थ मन्त्रालयबाट तीन अर्ब १५ करोड बजेटको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरिएको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको सोमबारको पत्र अनुसार यहाँको कोरलानाका जोड्ने छुसाङ—घमी ४० दशमलव २० किलोमिटर सडकको स्तरोन्नति तथा कालोपत्रका लागि अर्थ मन्त्रालयबाट उक्त बजेटको बहुवर्षीय स्रोत सहमति भएको हो ।
यसअघि कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयमा गत बैशाख ७ गते नेपाल—चीन जोड्ने कोरला सडक अन्तर्गत छुसाङ—घमी सडक योजनाका लागि तीन अर्ब १५ करोड बजेटको स्रोत सहमतिका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा नेपाल मन्त्रिपरिषदको बैठकले अनुमोदन गरी राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई स्रोत सहमति प्रदान गरिएको पत्रद्वारा जानकारी गराईएको हो ।
आयोगका स्रोत सहमति सिफारिस अनुसार आयोजनाका लागि बहुर्षीय स्रोत सहमति सम्वन्धि (पहिलो संशोधन) मापदण्ड, २०८२ को दफा ४ को उपदफा २ र दफा ७ को खण्ड (ग) बमोजिम प्रचलित कानुन र स्वीकृत मापदण्ड अनुसार खर्च गर्ने गरी सोमबारको मन्त्रिस्तरीय निर्णयले छुसाङ—घमी सडक योजनाका लागि बहुर्षीय स्रोत सहमति भएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । अर्थ मन्त्रालयबाट स्रोत सहमति सुनिश्चित भएकाले चालु आर्थिक वर्षमानै ठेक्का प्रक्रियामा लैजाने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाई छ ।
यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको (९.८) किलोमिटर सडकको कालोपत्र तथा सडक स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको थियो । सोही अनुसार कोरलानाका जोड्ने कागबेनी—छुसाङ सडकको कालोपत्र गर्न गत असार २६ गते २६ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको थियो ।
नेपाल—चिन उत्तरी कोरलानाका सडकलाई कालोपत्र तथा थप स्तरोन्नतिकार्य गर्ने उद्देश्यले आयोजनाले दुई चरणमा गरी प्रारम्भिक वातावरण मूल्यांकन (आईई) सम्पन्न गरेको थियो । आयोजनाले छुसाङ—घमी सडक र घमी—कोरला) सडक गरी दुई चरणमा आईई सकेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली