मुक्तिनाथ क्रेज : एकैदिन २७ हजारले गरे दर्शन

जोमसोम—हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तिर्थस्थल मुक्तिनाथ मन्दिरमा बुधबार एकैदिन करिव २७ हजारले दर्शन गरेको बताईएको छ । मुक्तिनाथमा अधिकाँश आन्तरिक भक्तजनसहित भारतीय दशनार्थीहरुले दर्शन गरी फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथ मन्दिरमा योनै अहिलेसम्मकै बाँक्लो संख्यामा दर्शनार्थीहरुको उपस्थिती रहेको दावी गरिएको छ । दसै अघिको सोह्र श्राद्ध तिथी र दसै — तिहार पर्वको अवधिमा आएका दर्शनार्थी तथ्यांकमा एकै दिनमा यतिठुलो संख्यामा मुक्तिनाथमा दर्शनार्थी गर्नेको ठुलो भीड लागेको त्यहाँ कार्यरत सुरक्षाकर्मीहरु बताउँछन् । बुधबार सडकमार्ग तथा हवाईमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थीको चापले दर्शन तथा आन्तरिक सुरक्षा व्यवस्थापन हम्मेहम्मे परेको थियो ।
तिहार पर्वको भाईटीका लगाएर  मुक्तिनाथको दर्शन तथा मुस्ताङ जिल्लाको भ्रमण गर्न आउने  दर्शनार्थीको ओईरोले मंगलबार राति मुक्तिनाथ,कागबेनी,जोमसोम,मार्फा र लेतेसम्मका होटल रेष्टुेन्टहरु भरिभराउ भएको मुक्तिनाथ स्थित होटल रोयल मुस्ताङका प्रोपाईटर बिजय थकालीले जानकारी दिए । मुक्तिनाथ दर्शन गर्न आईपुगेका कतिपय  दर्शनार्थीहरु पर्यटक भरिएर होटलमा बाँस नपाउँदा  मुक्तिनाथ धर्मशाला र जोमसोम धर्मशालामा बाँस बस्न पुगेका थिए । बर्सेनि दसै—तिहार र छठ पर्वको लामो बिदा समयमा मुस्ताङमा आन्तरिक भक्तजनहरुको आईरोनै लाग्ने गर्छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार तिहारको भाईटीकापछि मुक्तिनाथको दर्शन गर्न थप उल्लेख मात्रामा नेपाली पर्यटकको आगमन भएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीले बेनी—जोमसोम सडकमार्ग अन्तर्गत म्याग्दी क्षेत्रको बैसरी र महभिरमा सोमबार राति पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ आउँदै गरेका दर्शनार्थीहरुबिच बाटोमै जाममा परेको बताए । उनले सडक अवरुद्ध भएर बाटोमै रोकिएका दर्शनार्थी पर्यटकहरु एकैसाथ मुक्तिनाथ आउँदा होटल व्यवस्थापन तथा अन्य सुविधा प्रदान गर्न अप्ठ्यारो परेको बताए।
बुधबार मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्ने दर्शनार्थीहरुको रौनकले गुल्जार बनेको थियो। बिहानैदेखि अपरान्हसम्म दर्शनार्थीको
भीडले मन्दिर परिसर खचाखच भरिएको थियो । मुक्तिनाथको १०८ धारा र मुक्तिनाथ कुण्डमा स्नान गर्ने,मुक्तिनाथको दर्शन गर्न लाईनमा बसेका दर्शनार्थीको बाँक्लो उपस्थित रहेको जनप्रिय युवाक्लव मुक्तिनाथका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । उनका अनुसार क्लवले ठेक्का लिएर चलाएको रानीपौवा बसपार्कमा बस,जिपकार र मोटरसाईकल पार्किङले ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको थियो । 
तिहार पर्वको भाईटीकापछि मुस्ताङ प्रवेश गर्ने सवारी साधनको (बेनी—जोमसोम¬¬) सडकमार्गमा ताँतीनै लागेको थियो । मुक्तिनाथ बसपार्कबाट मन्दिर पुग्न आधा घण्टा पैदल ठाँडो उकालो उक्लन पर्छ । मन्दिर उक्लन नसक्सने दर्शनार्थीहरुका लागि त्यहाँ सशुल्क घोडाको व्यवस्था समेत गरिएको छ । मुक्तिनाथमा स्थित ४ वटा गाउँका करिव १२० घरधुरीले दर्शनार्थीहरुलाई मुक्तिनाथ उक्लिन नसक्नेका लागि घोडा चढाएर मन्दिर सम्म लाने लैजाने गरिन्छ । नेपालीका लागि ४ सय र भारतीयका लागि ४ सय भारु शुल्क लिएर  त्यहाँ घोडाबाट मुक्तिनाथ लाने लैजाने सेवा प्रदान गरिएको हो । यसले स्थानीय नागरिकहरुलाई वैकल्पिक आम्दानीका साथै लोपोन्मुख अवस्थामा रहेका परम्परागत घोडाहरुको संरक्षणमा समेत टेवा पुगेको छ ।
 प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका दर्शनार्थी मध्ये एक तिहाई दर्शनार्थीले कोरलानाका अवलोकनका लागि उपल्लो मुस्ताङ प्रस्थान गरेको बताईएको छ । दसै—तिहार र छठ पर्वका लामो बिदामा नेपाली आन्तरिक पर्यटकहरुको रोजाई मुस्ताङ बनेकै कारण मुक्तिनाथको दर्शन गर्ने प्रयोजनमा आएकाहरु कोरलानाकासम्म जाने गरको पाईएको छ ।


प्रतिक्रिया