मुस्ताङको चराङमा लोभलाग्दो च्यांग्रा पालन स्रोत केन्द्र

चराङ— मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङमा स्थानीय उपभोक्ता समिति मार्फत सञ्चालन गरिएको लोभ लाग्दो च्यांग्रा फार्म सञ्चालनमा छ । च्यांग्राको नश्ल सुधार,पाठापाठी उत्पादन तथा च्यांग्राको पश्मिना उत्पादन गर्ने खोलिएको यस फार्म अहिले पाठापाठीसहित झन्डै ६ सय बढी च्यांग्रा पालन गरिएको छ ।

 विसं २०७६ साल अघि मुस्ताङको चराङमा च्यांग्रा पालन स्रोत केन्द्र स्थापना गरिएको थियो । नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालयले हिमाली आयोजना अन्तर्गत एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा च्यांग्राको पश्मिना उत्पादन,नश्ल सुधार र च्यांग्रा उत्पादन तथा प्रर्वद्धन गर्ने लक्ष्यसहित च्यांग्रा पालनको स्रोत केन्द्र स्थापना गरिएको थियो ।

  हिमाली आयोजनाले च्यांग्रा पालनको स्रोत केन्द्र स्थापना गरेको केही समपछि उक्त परियोजना फ्रेजआउट भयो । त्यसपछि अलपत्र परेको च्यांग्रा पालन स्रोत केन्द्र स्थानीय उपभोक्ताले सम्हाले । हिमाली आयोजनाले त्यससमय नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण पनि गरेन र स्थानीय उपभोक्ता समितिलाई पनि जिम्मा नदिई च्यांग्रा पालन स्रोत केन्द्र यथावस्थामै छाड्यो । त्यसपछि अलपत्र परेको च्यांग्रा पालन स्रोत केन्द्रको रेखदेख चराङका स्थानीय उपभोक्ता समितिले जिम्मा लिन पुगे । तर, यतिठुलो परियोजना स्थानीय उपभोक्ताले सम्हाल्न चुनौतीपूर्ण थियो । यसले च्यांग्रा पालन स्रोत केन्द्रलाई दिर्घकालिन निरन्तरताको खाँचो प¥यो । यसैको खोजीमा भौतारिएको उपभोक्ता समिति ।

हिमाली आयोजनाले अलपत्र छाडेको उक्त च्यांग्रा पालन स्रोत केन्द्र २०७६ सालमा संघीय सरकार अन्तर्गत राष्ट्रिय पशुपंक्षी स्रोत व्यवस्थापन तथा प्रर्वद्धन केन्द्रले अपनत्व ग्रहण ग¥यो । पूर्ण रुपमा नेपाल सरकारलाई हस्तान्तरण भईनसकेको च्यांग्रा पालन स्रोत केन्द्रको सञ्चालन केन्द्रले लिएपछि चराङमा च्यांग्रा पालन स्रोत केन्द्र लोभलाग्दो बनेको छ । केन्द्रले अपनत्व ग्रहण गरेपछि तत्कालै एक जना फार्म व्यवस्थापकसहित ५ जना गोठालाहरु राख्ने गरी जनशक्ति व्यवस्थापन गरेकोमा २०७९ सालदेखि थप एकजना पशु प्राविधिकको समेत व्यवस्था गरी ६ जनाको जनशक्ति दरबन्दी सुनिश्चित भएको चराङ च्यांग्रा पालन स्रोत केन्द्रका पशु प्राविधिक धिरज बरुवालले जानकारी दिनुभयो । सरकारले अपनत्व लिएपछि त्यहाँको जनशक्ति व्यवस्थापनको तलब भत्ता उपलब्ध गराउनेदेखि च्यांग्रालाई चाहिने दाना,घांस औषधि उपचार लगायतका आवश्यक उपकरण तथा सामाग्री सरकारलेनै दिने गरेको पशु प्राविधिक बरुवालको भनाई छ ।

 तत्कालिन समय हिमाली आयोजनाले च्यांग्रा पालन स्रोत केन्द्र स्थापनाका लागि साविकका सरकारी कार्यालयहरुको करिव ७—८ रोपनी जग्गा उपयोग गरेको थियो । चराङको दुई स्थानमा स्रोत केन्द्रका लागि कार्यालय स्थापना तथा फार्म निर्माण गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको पशु प्राविधिक धिरज बरुवालले उल्लेख गर्नुभयो ।

केही स्थानीय र केही तिब्बती च्यांग्रा ल्याएर च्यांग्रा पालनको नश्ल सुधार गरी पश्मिना उत्पादन तथा प्रर्वद्धनमा जोड दिने गरी स्थापना भएको फार्ममा अहिले लोभलाग्दा च्यांग्रा पाठापाठी उत्पादन भईरहेको पशु प्राविधिक बरुवालले बताउँनुभयो । च्यांग्रा फार्मको स्रोत केन्द्रमा बर्सेनि १५० भन्दा बढी च्यांग्राको पाठापाठी उत्पादन हुने गरेको प्राविधिक बरुवालले जनाउँनुभयो ।‘ च्यांग्रा स्रोत केन्द्रमा पाठापाठी उत्पादन भईरहेको छ’उहाँले भन्नुभयो,‘ गतवर्षदेखि च्यांग्राको पश्मिना उत्पादन गरी बिक्री गर्न थालिसकेका छौं ।’

पूर्ण रुपमा संघीय सरकारलाई हस्तान्तरण भईनसकेको च्यांग्रा पालन स्रोत केन्द्रलाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी प्रक्रिया अघि बढिसकेको स्रोत केन्द्रका पशु प्राविधिक बरुवालले बताउँनुभयो । सरकारले अपनत्व लिएपछि २०७६ सालदेखि निरन्तर फार्म स्रोत केन्द्रलाई चाहिने सम्पूर्ण व्यवस्थापन सरकारले नै गरेको उहाँको भनाई छ ।

च्यांग्रा पालन स्रोत केन्द्रबाट स्थानीय ५ जना व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । स्रोत केन्द्रलाई आउट डोर र ईन डोर घेराबार गरी दुई स्थानमा च्यांग्रा पालन गरिएको छ । एक च्यांग्रा गोठ चराङ माथिको उच्चलेंकमा र अर्को गोठ चराङ गाउँमा रहेको स्रोत केन्द्रका च्यांग्रा रेखदेख गर्ने कर्मचारी आङ्ग्या गुरुङले जानकारी दिनुभयो । स्रोत केन्द्र फार्ममा  उमेर पुगेका च्यांग्रा र काटछाँट गरी हटाउनु पर्ने च्यांग्रा स्थानीय उपभोक्ताले बिक्री गर्ने  गरेको स्रोत केन्द्रका कर्मचारी गुरुङले बताउँनुभयो । समितिले च्यांग्राको मल,पश्मिना र च्यांग्रा बिक्री गर्ने र त्यसवापतको आम्दानी उपभोक्ता समितिको खातामा जम्मा हुने र त्यसको भौचर संघीय कार्यालयमा पठाउने गरिएको उहाँले सुनाउँनुभयो ।

चराङ च्यांग्रा स्रोत केन्द्र फार्ममा उत्पादन हुने च्यांग्राको बजारिकरण र पश्मिनाको बिक्री स्थानीय स्तरमै हुने गरेको छ । च्यांग्रा पालन गर्दा स्थानीय छाँडा कुकुर र हिमचितुवाहरुको जाखिम हुने गरेको स्रोत केन्द्रको भनाई छ । स्रोत केन्द्रमा पालन गरिएका च्यांग्राहरु हिउँदयाममा गाउकै च्यांग्रा फार्म र जेठ लागेपछि उच्चलेंकमा रहेको फार्ममा लगेर पालन गरिने गरिएको छ ।


प्रतिक्रिया