ढाक्मर—मराङ चक्रपथ सडकमा उपल्लो मुस्ताङ जाने पर्यटक अनविज्ञ

यहाँको उपल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा १ र वडा २ जोड्ने (ढाक्मर—मराङ) सडक प्रति अधिकाँश पर्यटक अनविज्ञ छन् । राष्ट्रिय गौरवको जोमसोम—कोरला राजमार्गसंगै जोडिएको ढाक्मर—मराङ सडकको दुरी करिव २५ किलोमिटर लामो छ । धार्मिक तथा पर्यटक सम्पदाले महत्वपूर्ण (ढाक्मर—मराङ) सडक बारे उपल्लो मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बेखबर हुँदा त्यहाँको पर्यटन प्रवद्र्धन हुन सकेको छैन ।

मुस्ताङको ढाक्मर गाउँ राताम्मे पहाडको फेदमा अवस्थित छ । गुरु रिप्पार्छे अर्थात पद्यसम्भवले मुस्ताङको घमी खोला नजिक राक्षसको आन्द्राभुडी निकालेर रगत ढाक्मर पहाडमा मिल्काएको हुनाले ढाक्मर गाउँको पुरै सिंगो पहाड राताम्मे बनेको तिब्बतीयन धार्मिक ग्रन्थहरुमा उल्लेख छ । राताम्मे छिद्रैछिद्र राताम्मे पहाडले पर्यटकलाई मोहित तुल्याउन सक्ने भएपनि ढाक्मर—मराङ चक्रपथ सडकको जानकारी नहुँदा धेरैजसो पर्यटकलाई जानकारी नहुँदा उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन हुन नसकेको हो ।

ढाक्मर गाउँ नजिकको करिव दुई किलोमिटर सिंगो पहाडनै रगतले पोतिएको जस्तो राताम्मे देख्न सकिन्छ । त्यहाँको राताम्मे पहाडमा एक सय भन्दा बढी मानव निर्मित प्राचिन गुफाहरु अवस्थित छन् । सदिंयौ वर्ष ढाक्मर गाउँको पहाडमा  निर्मित गुफामा बसेर मानिसहरुले आश्रय लिएर बसेको भन्ने भनाई छ । ढाक्मर पहाडको गुफामा ध्यान साधना र आध्यामिक चिन्तन गर्ने उपयुक्त स्थानको रुपमा समेत लिने गरिएको छ ।

पछिल्लो समय ढाक्मर पहाडसम्मको गुफा जाने स्थानमा स्थानीय तह र एकिकृत सामाजिक विकास कार्यालयले रेलिङसहितको सिंढीबाटो र दृष्यावलोकन लगायतका पूर्वाधारहरु निर्माण गरिसकेको छ । यसका अतिरिक्त ढाक्कमरमा जियोपार्क गुफाबाट नीलगिरि हिमालसहितको सुन्दर हिमऋखंला अवलोकन गर्न सकिन्छ । पछिल्लो समय ढाक्मरको स्थानीयले जियो पार्कमा विशाल बुद्धको मूर्ति स्थापना गरी आकर्षक पार्क निर्माण गरेका छन् ।

 यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङ गाउँ पनि धार्मिक आस्थाको प्रसिद्ध केन्द्रको रुपमा लिने गरिएको छ । करिव चौधौ शताब्दीमा निर्माण गरिएको लोघेकर गुम्बा (घर गुम्बा) बौद्धमार्गीहरुका लागि निकै ठुलो धार्मिक आस्थाको केन्द्र हो । गुरु पद्यसम्भवले राक्षसको बध गरेको स्थानमा गुम्बा निर्माण गरेको र योनै विश्वको पहिलो र पुरानो गुम्बा रहेको दावी गरिएको छ । ऐतिहाँसिक ,धार्मिक र सांस्कृतिक दृष्टिकोणले निकै प्रसिद्ध गुम्बाले हिमाली संस्कृति र तिब्बती बौद्ध संस्कृतिको संरक्षण गर्दैआइरहेको छ ।

प्राचिन शैलीमा निर्माण गरिएको लोघेकर गुम्बामा पुराना भित्तेचित्र,बुद्धका मूर्ति,थाङ्का तथा धार्मिक ग्रन्थहरु सुरक्षित रुपमा राखिएको छ । गुम्बाले धार्मिक गतिविधिसंगै स्थानीय समुदायमा सामाजिक सद्भाव र सांस्कृतिक पहिचान संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ ।

लोघेकरको ढाक्मर—मराङ चक्रपथसंगै जोडिएको यहाँका जैविक तथा धार्मिक सम्पदाको पर्यटकीय प्रचारप्रसार तथा पर्यटन मार्गको पहिचान नहुँदा पर्यटन प्रवद्र्धन अपेक्षा गरिएअनुसार पुरा हुन नसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सुरुवाती चरणमा चक्रपथ सडकको ट्याक खोलेको र त्यसपछि गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति गरेको अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।

 घमी खोलादेखि पश्चिमतर्फ हुँदै ढाक्मर गाउँ जोडिन्छ । त्यहाबाट कच्ची सडकमार्ग हुँदै लोघेकर दामोदरकुण्डको मराङ गाउँ पुग्न सकिने अध्यक्ष बिष्टले जानकारी दिनुभयो । राष्ट्रिय राजमार्गसंगै जोडिने भएकाले उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकले ढाक्मर र मराङ गाउँ पुग्न निकै सहज भईसकेको अध्यक्ष बिष्टको भनाई छ । घमीदेखि ढाक्मर हुँदै मराङ पुगेर राष्ट्रिय राजमार्गसंग जोडिएको चराङ सम्म आईपुग्न सकिन्छ । उपल्लो मुस्ताङ आउने पर्यटकले आउँदा अथवा जाँदा चक्रपथ सडक प्रयोग गरी ढाक्मर र मराङ गाउँको धार्मिक तथा प्राकृतिक सम्पदाहरुको अवलोकन गर्न सकिने मराङ गाउँकी स्थानीय एवं गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले जानकारी दिनुभयो ।

 ढाक्मर र मराङ गाउँ जोड्ने चक्रपथ सहडको ज्ञान नहुँदा पर्यटकको अवस्थित उक्त स्थानमा कम हुने गरेको हो । मुख्य राजमार्गको यात्रा र ढाक्मर —मराङ चक्रपथ सडकको यात्रा गर्दा पर्यटकहरुलाई खासै फेरो नपर्ने भएकाले पर्यटकहरुलाई यसबारे थप जानकारी दिनुपर्ने आवश्यकता रहेको उपाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । कोरलानाका र लोमान्थाङ दरबार अवलोकन गरी फर्किने आन्तरिक तथा बाह्य पर्यटकले चक्रपथ सडक हुँदै लोघेकर गुम्बाको दर्शन र राताम्मे ढाक्मर पहाडको अवलोकन गर्न सकिने स्थानीय बताउँछन् ।


प्रतिक्रिया