वन्यजन्तु पीडित ढाक्मरका गुरुङले पाए ३ लाख ८५ हजार राहत
सुन्दरकुमार थकाली
जोमसोम—वन्यजन्तुको आक्रमणबाट मुस्ताङमा हालसम्मकै ठुलो क्षति व्यवहोर्न बाध्य मुस्ताङका एकजना वन्यजन्तु पीडित पशुपालकलाई राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ले राहत उपलब्ध गराएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ ढाक्मरका स्थानीय पशुपालक मिङ्मार गुरुङले एक्याप कार्यालय मार्फत वन्यजन्तु क्षति वापतको राहत पाएका हुन् ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ ढाक्मरमा गत कार्तिक २४ गते राति ४ वटा हिमचितुवा खोर भित्रै पसेर पशुपालक किसान गुरुङले पालेका झन्डै ८० वटा भन्दा बढी च्यांग्रा मारेको थियो । गुरुङले तारबारसहित पर्याप्त पूर्वाधार निर्माण गरी त्यहाँ च्यांग्रा पालेको भएपनि हिमचितुवाको खोर वरीपरी लगाएर तारबारसहितको पर्खाल नाघेर ठुलो संख्यामा गुरुङ पालेको च्यांग्रा विभत्स रुपमा मारेर क्षति तुल्याएको थियो ।
ढाक्मरका पशुपालक किसान गुरुङले च्यांग्रा क्षति भएको ६ महिनापछि वन्यजन्तुबाट हुने क्षति राहत एक्यापबाट पाएका हुन् । एक्यापले वन्यजन्तु पीडित गुरुङलाई ३ लाख ८५ हजार तत्काल राहत स्वरुप प्रदान गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ , लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र एक्याप प्रमुख प्रमोदराज रेग्मीको उपस्थितीमा वन्य जन्तु पीडित गुरुङलाई राहत प्रदान गरेको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।हाम्रो तर्फबाट तत्काल राहत पू¥याउने हिसाबले ढिलै भएपनि वन्यजन्तु पीडित किसानलाई नगद राहत वितरण ग¥यौं,’कार्यालय प्रमुख रेग्मीले भने,‘ उहाँलाई वन्यजन्तु क्षति निर्देशिका २०८० बमोजिम अर्को राहत पनि पाउँदै हुनु हुन्छ ।’
ढाक्मरका वन्यजन्तु पीडित गुरुङले निर्देशिकामा उल्लेख भए बमोजिम राष्ट्रिय निकुञ्ज विभाग हुँदै संरक्षण क्षेत्र कार्यालय राहत प्रदान गर्ने एक्याप प्रमुख रेग्मीको भनाई छ । उनले राहत निर्देशिका बमोजिम करिव ७ लाख भन्दा बढी राहत पाउँन बाँकी रहेको र यसका लागि सबै कागजात सम्वन्धित निकायमा पठाई सकिएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए ।
अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)को मातहतमा रहेको मुस्ताङमा वन्यजन्तु र मानवबीचको द्धन्दले यहाँका पशुपालक तथा किसानहरु आहत बन्दै जान थालेका छन् । उपल्लो मुस्ताङमा हिमचितुवा र तल्लो मुस्ताङमा कालो भालु आदीका कारण किसानहरु पीडित बनेका हुन् । उच्चलेंकमा चरनक्षेत्रमा वन्यजन्तुको आहारको अभावका कारण वन्यजन्तु वस्ती नजिक आउन थालेपछि यो समस्या देखिएको हो।
वन्यजन्तु पीडितलाई एक्यापले विभिन्न प्रक्रिया पुरा गरी वन्यजन्तु क्षतिको राहत उपलब्ध गराउँदै आईरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता