मुस्ताङको घरपझोङमा ३ जना नगर प्रहरी दिक्षित

जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिकाले ३ जना नगर प्रहरी नियुक्त गरेको छ । नगर प्रहरी संञ्चालन तथा व्यवस्थापन कार्यविधि अनुसार घरपझोङ गाउँपालिकाले नगर प्रहरी नियुक्त गरेको हो ।

 गाउँपालिका भित्रको शान्ति सुरक्षा,चाडपर्वमा हुने सुरक्षा व्यवस्थापन,फोहोर मैला व्यवस्थापन,पार्किङ व्यवस्थापन र गाउँपालिका भित्रको बिकृति बिसङ्गती न्यूनिकरण लगायत नगरप्रहरीका १२ वटा अधिकार प्रयोग गर्ने गरी घरपझोङले एक जना नगर प्रहरी हवल्दार र २ जना सिपाई गरी ३ जनालाई नियुक्त गरेको हो । घरपझोङले गाउँपालिकाको कार्यविधि ,ऐन नियम र शर्तमा रहेर कार्यसम्पादन गर्ने गरी गत असार १२ गते ३ जना नगर प्रहरी नियुक्त गरेको थियो । गाउँपालिकाले नियुक्त गरेका नगर प्रहरीलाई आवश्यक आधारभुत तालिम प्रदान गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिम्मा दिएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई गाउँपालिकाले गरेको अनुरोध अनुसार नियुक्त ३ नगर प्रहरीलाई आधारभुत नगर प्रहरी तालिमको प्रशिक्षण दिएको थियो ।

मुस्ताङको ५ स्थानीय तह मध्ये घरपझोङ गाउँपालिका नगर प्रहरी व्यवस्थापन गर्ने पहिलो पालिका बनेको हो । घरपझोङले पुजन नेपाली,साजन विक र रोशनी विकलाई नगर प्रहरीमा नियुक्त गरेको थियो । नगर प्रहरीमा नियुक्त ३ जना दलित समुदाय भित्रबाट छनौटमा परेका हुन् ।घरपझोङ गाउँपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुको सेवा सुविधा तोकेको छ ।जसअनुसार नगर प्रहरी हवल्दारले मासिक २५ हजारसहित ५ हजार रासन भत्ता पाउने छ । नगर प्रहरी सिपाईले  मासिक २३ हजारसहित ५ हजार राशसन भत्ता पाउनेछन् ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङद्वारा ९ दिने आधारभुत तालिम प्राप्त गरेका ३ जना नगर प्रहरीलाई औपचारिक रुपमा कार्यभार दिलाउन आईतबार जिल्ला प्रहरी कार्यालय मुस्ताङमा दिक्षान्त समारोहको आयोजना गरिएको थियो ।

उक्त दिक्षान्त समारोहमा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले तालिम प्राप्त गरेका ३ जना नगर प्रहरीहरुलाई  नगर प्रहरी दर्जेनी चिन्हसहित प्रमाणपत्र र फुल गुच्चा  प्रदान गरी दिक्षित तुल्याएका छन् । 

गाउँपालिका नगर प्रहरी दिक्षान्त समारोहमा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले संघीयता कार्यान्वयनको ७ वर्षपछि नगर प्रहरी नियुक्त भएको उल्लेख गरे । अध्यक्ष लालचनले नगर प्रहरीको विधि पद्धतीमा रहेर अनुशासित ढंगले पालिकाले सुम्पिएको कार्यभार पुरा गर्न आग्रह गरे । उनले नियुक्त नगर प्रहरीले लगनशील,कर्मठ र योग्य कर्मचारीको रुपमा रहेर सेवा पू¥याउन सकेमा मात्रै नगर प्रहरीको औचित्य उत्कृष्ट हुने जनाए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले घरपझोङले नियुक्त गरेको ३ जना नगर प्रहरीलाई प्रहरीले जस्तै आधारभुत तालिम प्रदान गरेको बताए । उनले समग्र शान्ति सुरक्षा र बेथिती र सामाजिक सहकार्यका लागि गाउँपालिकाले नियुक्त गरेको नगर प्रहरी नेपाल प्रहरीका लागि सहयोगी बन्ने धारणा राखे ।

नगर प्रहरी दिक्षान्त कार्यक्रम अघि नियुक्ती भई प्रहरी तालिम लिएका ३ जना नगर प्रहरीले तालिम अभ्यासमा लिएको परेड प्रस्तुत गरेका थिए । दिक्षान्त समारोहमा नगर प्रहरी आधारभुत तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुतीकरण गरेको थियो ।


प्रतिक्रिया