दुई महिनापछि खुले तल्लो मुस्ताङका विद्यालय

यहाँ स्थित तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् । हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालयहरु सोमबारदेखि खुल्न थालेको शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ ।

हिउँदयामको अत्यधिक चिसो र सम्भावित हिमपातको जोखिमले विद्यालयको शैक्षिक पठनपाठन तथा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएकाले मुस्ताङका तीन पालिकामा हिउँदयामको पुस र माघ महिना पुरै विद्यालय बन्द गर्ने गरिएको छ । यहाँका विद्यालयहरुले अर्ध वाषर््िाक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरुलाई हिउँदे जाडो बिदा दिईएको थियो ।

 शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछानेका अनुसार मुस्ताङको तल्लो क्षेत्रमा रहेका वारागुङ मुक्तिक्षेत्रका ४ वटा, घरपझोङ गाउँपालिकाका ८ वटा र थासाङ गाउँपालिकाका ६ वटा विद्यालय गरी १८ वटा सरकारी सामुदायिक तथा निजी र गुम्बा बिद्यालयहरुले निर्वाचन सम्पन्न भएलगत्तै संञ्चालनमा आएको जनाउँनुभयो ।

 मुस्ताङमा तल्लो क्षेत्रका तीन पालिकाका विद्यालयहरुको शैक्षिक पठनपाठन सञ्चालनमा आएतापनि माथिल्लो मुस्ताङका बिद्यालयहरु बेसीमै रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछानेले बताउँनुभयो । हिउँदयामको जाडो छल्ने बेसी झरेका माथिल्लो मुस्ताङका घुम्ती बिद्यालयहरुले चालु शैक्षिक सत्रको परीक्षा सकेकाले बेसी झरेका घुम्ती बिद्यालय  डेढ महिना बन्द हुने बताउँनुभयो ।

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा गुम्बा बिद्यालय छन् । यसैगरी माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा तीन सामुदायिक र दुई गुम्बा बिद्यालय पनि जाडो छल्न कार्तिक अगावै बेसी झरेका थिए ।

 यसरी हिउँदयामको जाडो छल्न बेसी झरेका माथिल्लो मुस्ताङका बिद्यालयहरु गर्मीयाम लागेपछि बैशाख महिनामा जिल्ला फर्किएर साविककै स्थानमा नयाँ शैक्षिक पठनपाठन संञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछानेको भनाई छ ।

  मुस्ताङमा हिउँदयाममा पुरै बिद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौति गर्ने गरी दुई महिना बिद्यालय बन्द गर्ने गरिएको छ ।

 यसैगरी हिउँदयामको जाडो छल्न बेसी झरेका माथिल्लो मुस्ताङका बिद्यालयहरुले ४५ दिने सरकारी बिदा गरेर बैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन सुरु गर्ने गर्छन् ।


प्रतिक्रिया