महाशिवरात्रिमा मुक्तिनाथमा दर्शनार्थीको भीड

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीहरुको लर्को लागेको छ । महाशिवरात्रि पर्वको दिन बुधबार मुक्तिनाथमा भगवान शिवजीको पुजाआरधनासंगै मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरुको भीडभाड बढेको हो ।

मुक्तिनाथमा भगवान शिवजीको विशेष पुजाअर्चना गरिएको छ । मुक्तिनाथ मन्दिर परिसरको केही तल रहेको भगवान शिवजीको मन्दिर अवस्थित छ । त्यहा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले भगवान शिवजीको विशेष पुजापाठ गरी भक्तजनका लागि दर्शन सहज पारिएको थियो । मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले हिउँदपछि मुक्तिनाथमा यसअघिको भन्दा दर्शनार्थीको संख्या तेब्बरले वृद्धि भएको जानकारी दिनुभयो । कर्मचारी सुवेदीका अनुसार जाडो यामपछि शिवरात्रिको दिन करिव ३ हजार बन्दा बढीले मुक्तिनाथ मन्दिरको दर्शन गरेको बताउँनुभयो ।

‘मुक्तिनाथमा फागुनपछि एक हजारको हाराहारीमा नेपाली आन्तरिक भक्तजनका साथै भारतीय पर्यटक आउने गरेकोमा महाशिवरात्रीको दिन मुक्तिनाथमा घुईचो बढेको छ,’कर्मचारी सुवेदीले भने,‘ हिउँदको जाडो कायमै छ, तैपनी टाढा टाढाबाट दर्शनार्थीहरु मुक्तिनाथ आईपुगेका छन् ।’

 महाशिवरात्रि पर्वको दिन भक्तजनहरुको भीडभाड हुने भएकाले मुक्तिनाथ विकास समितिको पहलमा त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीहरुलाई परिचालन गरी दर्शनार्थीहरुलाई लाईनवद्ध गरी दर्शन गर्नेकार्यमा सहज तुल्याईएको थियो । शिवरात्रि पर्वको दिन धार्मिक आस्थाविश्वाश प्रकट गर्दै अत्यधिक चिसोको परवाह नगरी भक्तजनहरुले १०८ धारा र कुण्डमा स्नान गरेका थिए । 

शिवरात्रि पर्वको अवसरमा मुक्तिनाथ जाने सवारी साधनका चालकलाई सम्भावित सवारी दुर्घटना हुन नदिन जोमसोम चेक पोष्ट नजिक प्रहरी र ट्राफिक प्रहरीबाट सचेत गराईएको थियो ।यस्तै, सवारी साधनका यात्रुहरुलाई पर्वतीय क्षेत्रको उच्चस्थानमा जाँदा हाईअल्टिच्युड लाग्ने सम्भावना रहने भएकाले हाईअल्टिच्युड समेतको पर्चापम्प्लेट र सचेतनामूलक जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।

प्रतिकुल मौसमसंगै हिउँदयामको पुस र माघ महिनापछि मुस्ताङको धार्मिक पर्यटन विस्तारै चलाएमान हुन थालेको छ । अत्यधिक चिसोले गुमनाम बनेको मुस्ताङको पर्यटन शिवरात्रि पर्वसंगै विस्तारै गति लिन थालेको छ ।

 मुक्तिनाथ जाने जेष्ठ नागरिक,अशक्त र अपांगता भएका धार्मिक तिर्थालुहरुका लागि स्थानीय नागरिकहरुले रानीपौवा बसपार्कदेखि मुक्तिनाथको उपल्लो गेटसम्म घोडा चढाएर सशूुल्क सेवा दिएका छन् । घोडामा चढाएर मुक्तिनाथ पु¥याउन नसकेमा स्टेचरमा चढाएरै भएपनि दर्शनार्थीहरुलाई लाने लैजाने गरिएको छ ।


प्रतिक्रिया