तीनदिनमै उठ्यो ९ करोड ७० लाख भन्सार राजश्व

जोमसोम ।

मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीनदिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार ३०२ रुपैया राजश्व संकलन भएको छ । नेपाल—चिन उत्तरी कोरलानाकाबाट आयात गरिएका बालवस्तुबाट भन्सारले उक्त राजश्व संकलन गरेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

यहाँको कोरलानाका  एघारदिन अघि पूर्ण रुपमा संञ्चालनमा आएको थियो । तर, यहाँको मुस्ताङ भन्सार कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने भएकाले यहाँको कोरला स्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको कार्यसम्पादन सोमबारदेखि सुरु गरिएको थियो ।

चिन पक्षको भन्सार जाँसपाँच गरी कोरलानाकाबाट हालसम्म एक सय ६० वटा विद्युतीय कारसहित ८५ वटा मालवाहक मझौला कन्टेनरहरु कोरलानाकाको चिनियाँ भन्सारबाट मालवस्तु लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपाँचका लागि रोकिएका छन् ।

चिनिया भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ वटा मालवस्तु ढुवानीका कन्टेनर मध्ये हालसम्म ४५ वटा कन्टेनरको भन्सार जाँचपास भईसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । उहाँले यहाँबाट जाँचपास भईसकेका ४५ वटा मालवाहक कन्टेनरबाट उल्लेखित भन्सार राजश्व संकलन भएको हो ।

 यसैगरी यहाँको मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चिनतर्फ निकासका लागि २ वटा गाडीको भन्सार जाँचपास भईसकेको भन्सार प्रमुख खड्काले बताउँनुभयो । उहाँले यहाँबाट चिनतर्फ निकासी भएका सामानहरु हस्तकलाका सामाग्रीहरु रहेको उल्लेख गर्नुभयो ।

  चिनबाट आयात गरिएका दसै लक्षित मालवस्तुहरु लोड गरिएका कन्टेनर मध्ये जाँचपाँस भईसकेका ४५ वटा कन्टेनर गन्तब्यतर्फ प्रस्थान गरिसकेको र जाँचपाँस हुन बाँकी ४० वटा कन्टेनरको भन्सार जाँचपास हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाई छ । यसैगरी चिनबाट आयात गरिएका १६० वटै विद्युतीय गाडीहरुको पनि भन्सार जाँचपाँस हुन बाँकी रहेको उहाँले बताउँनुभयो ।

यसैगरी कोरला स्थित चिनियाँ भन्सार कार्यालयमा करिव तीन सय भन्दा बढी विद्युतीय गाडी आईसकेको र कतिपय आउन बाँकी रहेको  ओमडा एण्ड जेको नेपाल कम्पनीका प्रतिनिधि कृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँले त्यहाँको चिनिया भन्सारमा आएका विद्युतीय गाडीहरु जाँचपास भई नेपाल भित्र्याउने कार्यमा केही ढिलाई हुन पुगेको उहाँले जनाउँनुभयो । चिनबाट आयात गरिएका विद्युतीय गाडी र मालवस्तु ढुवानीका साधनको जाँचपास गर्न भन्सार कार्यालयको कार्यसम्पादन केही सुस्त रहेको प्रतिक्रिया जनाउँनुभयो । चिनबाट आयात गरेर मुस्ताङ भन्सारमा जम्मा भएका कुनै पनि विद्युतीय गाडीहरुको हालसम्म जाँचपास भईनसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । भन्सार कार्यालयमा सीमित कर्मचारी हुँदा भन्सार जाँचपासमा केही ढिलो हुन पुगेको उहाँको भनाई छ ।

यहाँको कोरलानाकालाई भन्सार विभागले बैकल्पिक नाकाको रुपमा पूर्ण रुपमा खुल्ला गरिएको भएपनि यहाँको नाकालाई रसुवागढी र तातोपानी नाकाजस्तै मान्यता दिएर कोरलानाकालाई सक्रिय बनाईएको छ ।  बैंक तथा वित्तिय संस्थाहरुले चिनबाट आयात हुने मालवस्तुको मुस्ताङ भन्सारमा जाँचपाँस तथा आयात वस्तुका लागि प्रतितपत्र (एससी) खोल्नपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र—२०८१ को संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि यो सुविधा रसुवागढी र तातोपानी भन्सारमा जाँचपासका लागि कार्यान्वयनमा थियो ।


प्रतिक्रिया