रास्वपा मुस्ताङद्वारा मन्त्री लम्साल र पौडेललाई बुझाईयो ज्ञापनपत्र

मुस्ताङ,२१,असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुस्ताङले  सरकारका दुई मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । कोरला सडक निरीक्षण तथा मुस्ताङको पर्यटन सम्वन्धी सम्भावना लगायतका बिषयमा जानकारी लिन  मुस्ताङ आउनु भएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री खड्कराज पौडेल(गनेश)समक्ष रास्वपा मुस्ताङका पदाधिकारी तथा सदस्यहरुले आईतबार यहाँको थासाङ गाउँपालिका स्थित लेतेमा ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्वाधार विकासमन्त्री लम्साललाई रास्वपा मुस्ताङका उपसभापति भिषण थकालीले ट्रेकिङ रुट सर्वेक्षण सम्वन्धी र रास्वपा मुस्ताङका सचिव पासाङ  डोल्मा गुरुङ (ज्ञानु)ले छुसाङ—तेताङ सडकको स्तरोन्नति गर्ने बिषयमा छुट्टा छुट्दै ज्ञापनपत्र बुझाएको हो ।

 रास्वपा उपसभापति थकालीले बुझाउँनु भएको ज्ञापनपत्रमा  मुस्ताङको पुराना र जीर्ण ट्रेकिङ रुटहरु सडकमार्गको विकासले कतिपय पर्यटकीय ट्रेकिङ रुटहरु मासिएको र कतिपय ट्रेकिङ रुट सडकसंगै जोडिएकाले पर्यटकीय पदमार्ग रुट संकट परेको उल्लेख गरिएको छ । पछिल्लो समयको  भौतिक विकासले मुस्ताङका ट्रेकिङ रुटहरु संकटमा परेकाले यसप्रकारका ट्रेकिङ रुटहरुलाई नयाँ र दीर्घकालिन हुने गरी व्यवस्था गर्न सकिएमा मुस्ताङको पर्यटन विकासमा अतुलनीय योगदान पुग्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


विज्ञप्तिमा सरकारका विज्ञान तथा नवप्रवर्तनमन्त्री  महावीर पुनका अनुसार धौलागिरि ट्रेकिङ रुटको प्रारम्भिक सर्वेक्षणको लागि सर्वे टोली खटाईएकाले मुस्ताङमा पनि ट्रेकिङ रुटको सर्वेक्षण गर्ने व्यवस्था मिलाउन मन्त्री लम्सालको ध्यानाकर्षण गरिएको रास्वपा मुस्ताङका उपसभापति भिषण थकालीले जानकारी दिनुभयो ।

यसैगरी रास्वपाका मुस्ताङ सचिव पासाङ डोल्मा गुरुङ (ज्ञानु)ले पनि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री खड्कराज पौडेल समक्ष  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ स्थित छुसाङ—तेताङ जोड्ने कच्ची सडकलाई थप स्तरोन्नति तथा कालोपत्र गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाउनु भएको छ । मुस्ताङको ऐतिहाँसिक तेताङ गाउँ र नुन खाने जाने छुसाङ—तेताङ सडकलाई स्तरोन्नति गरी कालोपत्र गर्न सकिएमा स्थानीयको आवतजावत  तथा पर्यटकहरुलाई निकै सहज हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सचिव गुरुङले ओझेलमा परेको ऐतिहाँसिक गाउँ तेताङ सडकमार्गलाई आवश्यक बजेट विनियोजन गरी योजनामा राखिदिन ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराईएको बताउँनुभयो ।

 बेनी—जोमसोम सडकमार्गको निरीक्षण गर्दै मुस्ताङ आउनु भएका सरकारका दुई मन्त्री लम्साल र पौडेलले कोरलानाकाको निरीक्षण गरी फर्किनु भएको रास्वपा मुस्ताङले बताएको छ ।


प्रतिक्रिया