जोमसोम—हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका वडा २,३ र ५ जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन (लेते—धम्पु) मोटरेबलको चैत्रदेखि धमाधम संञ्चालनमा आएको छ । निर्माण कम्पनीको चरम ढिलासुस्तीले लामोसमयदेखि अलपत्र बन्दै आईरहेको (लेते—धम्पु) पक्की मोटरेबल पुल निर्माणको कामलाई गति दिन थालिएको हो ।
बेनी—जोमसोम—कोरला मुख्य राजमार्गसंगै जोडेर निर्माण गर्न लागिएको लेते—धम्पु पक्की पुलको कामलाई पटक÷पटकको ताकेतापछि निर्माण कम्पनीको ठेकेदारलाई संम्पर्कमा ल्याएर पुल निर्माण कार्यलाई अघि बढाईएको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए । मुख्य राजमार्ग सडकदेखि पश्चिमतर्फ रहेका गाउँहरु धम्पु,टिटी,कोखेठाँटी, सिर्खुम,कुञ्जो र ताक्लुङ आदी गाउँलाई सडक संञ्जालले जोड्ने गरी २०७६ फागुन २९ गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । प्रतिकुल मौसम,कोरोना कहर र निर्माण कम्पनीको ढिलासुस्ती लगायतका कारणले पुल निर्माणमा ढिलाई भएकोमा कार्यालयको पहलमा निर्माण कम्पनी फिल्डमा आएर काम गर्न थालेको कार्यालय प्रमुख श्रेष्ठको भनाई छ ।
कालिगण्डकी नदीमा निर्माणधिन लेते—धम्पु ३५ मिटर लम्बाईको पक्की पुल निर्माणका लागि ५ करोड ५ लाख लागतमा देव एण्ड सायर कन्टक्सनले ठेक्का सम्झौता गरेको थियो । फुटपाथसहित ८ दशमलव ४ मिटर चौडा सिंगल स्पानको ३५ मिटर लामो पुलको पछिल्लो भौतिक प्रगती ४ वर्षमा ३० प्रतिशत मात्र छ । निर्माण कम्पनीले हालसम्म १ करोड ६३ लाख ६२ हजार रुपैया भुक्तानी लगिसकेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
४ वर्षअघि ठेक्का सम्झौता भई पुल निर्माणको काम अघि बढाईएको भएपनि ठेकेदार कम्पनीका कारण पुल निर्माणमा चरम ढिलासुस्ती भईरहेको त्यसक्षेत्रका स्थानीयहरुको भनाई छ । लेते—धम्पु पक्की पुलको सुरुवाती ठेक्का सम्झौता बाहेक दुईपटकसम्म म्याद थप भईसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी घनश्याम रोक्कामगरले बताए । उनका अनुसार पुलको लागि म्याद थप गर्ने प्रक्रियामा रहेको छ । पछिल्लो पटक थपिएको म्याद २०७९ चैत २८ गते सकिएको हो । सरकारले सार्वजनिक खरिद नियमावली ऐन १३ संशोधन कार्यान्वयमा ल्याईसकेकाले पुलको म्याद थप गर्न कुनै कठिनाई नहुने कार्यालयका सूचना अधिकारी रोक्कामगरले उल्लेख गरे ।
कालिगण्डकी नदीमा निर्माणधिन लेते—धम्पु पक्की पुल ४ वर्षमा जम्मा ३० प्रतिशत मात्र भौतिक प्रगती हुनु दुर्भाग्य भएको कोखेठाँटीका स्थानीय नविन शेरचनले टिप्पणी गरे । उनले स्थानीय स्तरमा पुलको काम गर्न कुनै समस्या नभएको र निर्माण कम्पनीको आन्तरिक कारण विकासको कामलाई बन्धक बनाउन नहुने उल्लेख गरे । कालिगण्डकी नदीमा निर्माणधिन पुल सम्पन्न भएमा कालिगण्डकी पारीका गाउँहरुलाई यातायात आउजाउका साथै कृषि उत्पादनको बजारिकरणमा निकै ठुलो सहयोग पुग्ने स्थानीय शेरचनको भनाई छ ।
यता, निर्माण कम्पनीका प्राविधिकहरुले पुल निर्माणमा ढिलाई हुनुको कारण निर्माण कम्पनीले मात्र जवाफ दिन सक्ने बताएका छन् ।
लेते—धम्पु पुलको कालिगण्डकी नदीको बाँयातर्फको भागमा एबिटमेन्ट खडा भईसकेको र दाँयातर्फको भागमा फाउन्डेसन संरचना निर्माणको लागि दुई वटा स्काभेटरले जमिन खन्ने कार्य गरिरहेको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले लेते—धम्पु पक्की पुल निर्माणको काम आर्थिक वर्ष २०८२ को असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । पुल निर्माणका लागि हाल १८ जना मजदुर परिचालन भईसकेको बताईएको छ । लेते—धम्पु पुलको डीपीआर निर्माणको काम जेएन कन्टक्सनले गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता