हिउँदयाममा पनि मुस्ताङमा विदेशी पर्यटक आगमन संख्या दोब्बर बढीले बढ्यो

जोमसोम ।

हिमाली जिल्ला मुस्ताङको प्रतिकूल चिसो याममा समेत यहाँ पर्यटकको संख्या वृद्धि भएको छ । विगतका वर्षहरु भन्दा यसवर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।

मुस्ताङ स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ । यहाँका एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ जना र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।

 यसअघि सन् २०२५ को जनवरी पहिलो महिनामा   ४ हजार ३४६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसाोम कार्यालयको  पर्यटकीय तथ्यांकमा उल्लेख छ ।  सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा ६ हजार ४७६ जना अर्थात (१४९) प्रतिशतले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाई छ ।

सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट ३ हजार ८३० र अन्य फरेनर विदेशी पर्यटकको संख्या ५१६ जना रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरी भन्दा सन् २०२६ को जनवरीमा  सार्क राष्ट्रतर्फ ६ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको हो ।

मुस्ताङमा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख एकसठ्ठी हजार १४२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन संख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताउँनु भयो । राष्ट्रिय गौरवको बेनी—जोमसाम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेका मुस्ताङमा विदेशी पर्यटकको संख्या अप्रत्याशित रुपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाई छ । यहाँ सन् २०२६ मा  दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याई छ ।

 मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमकका बावजुद पर्यटकको संख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाईएको छ । मुक्तिनाथ होटल एशोसियसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकहरुको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीहरुलाई आशाा जगाएको बताउँनुभयो । विगतका वर्षहरुमा पर्यटक अफसिजनका कारण बन्द हुने मुस्ताङका होटलहरु संञ्चालनमा छन् । मुस्ताङमा सडकको विकाससंगै बाह्रै महिना पर्यटकको आगमन भईरहेकाले यहाँ व्यवसायीहरुलाई मौसम प्रतिकूलता असर नपारेको अध्यक्ष गुरुङले बताउँनुभयो ।

 मुस्ताङमा पुस महिना लागेसंगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माईनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजिवन आशिंक रुपमा प्रभावित रहेपनि पर्यटकको आगमनमा चिसोले बाधा पुगेको छैन ।


प्रतिक्रिया