मुस्ताङ भन्सार बाहिर कन्टेनर चालकहरुको विरोध , सीमापारी लगेको कन्टेनरहरुमा क्षति पुगेको आरोप

मुस्ताङ,२८,भदौ ।

नेपाल—चीन उत्तरी कोरलानाका स्थित मुस्ताङ भन्सार कार्यालय बाहिर सडकमा आईतबार (आज) दिउँसो कन्टेनर चालकहरुले विरोध प्रर्दशन गरेका छन् । कोरलानाका स्थित चिनको स्वायक्त भूमि लिजी पोर्टमा मालसामान लोड गर्न पुगेका कन्टेनर गाडीहरुमा क्षति हुने गरेको भन्दै कोरलानाकामा मालवस्तु लोड गर्न पुगेका कन्टेनर चालकहरु आन्दोलित भएका हुन ।

 कन्टेनर चालकहरु आफ्नो गाडी कोरलानाकाबाट चीन प्रवेश गरिसकेपछि त्यहाँ रहँदा अधिकाँश कन्टेनरहरु क्षति हुने गरेको बताएका छन् । नुवाकोटका ना ६ ख ७२८ नम्बरको कन्टेनर चालक सुरेन्द्र थापाले कोरलानाकाबाट भदौ २१ गतेदेखि चीनको लिजी पोर्ट प्रवेश गरेको आफ्नो कन्टेनर भदौ २६ गते शुक्रबार नाकाबाट सामान लोड गरी बाहिरिदा आशिंक क्षति भएको बताउँनुभयो । चालक थापाले सामान लोड गर्न सीमापारी गएका अधिकाँश कन्टेनरहरु फर्किदा कन्टेनर गाडीमा टुटफुट र बिग्रिने समस्या हुने गरेको बताउँनुभयो ।चालक थापाले चिनियाँ मालवस्तु लोड गर्न चाईना प्रवेश गरेका गाडीहरु एक हप्ता त्यतै रोकिनुपर्ने र त्यस अवधिमा चीनतर्फ सीमापारी मेसका चालक र एजेन्टहरुले जथाभावी चलाईदिनाले नेपालबाट पारी गएका कन्टेनहरुमा क्षति हुने गरेको  बताउँनुभयो ।

नेपाल—चीन उत्तरी कोरलानाका स्थित सीमापारी जिल्ला प्रशासन कार्यालयबाट जारी भएको सीमापार पासका आधारमा चीन पक्षले प्रवेश अनुमति दिने गरेको छ । हाल कोरलानाकाबाट सीमापारी जान जिल्ला प्रशासन कार्यालयले मुस्ताङका नागरिकहरुलाई मात्रै सीमापार पास उपलब्ध गराउने गरेको छ । यस कारण सीमापार पास नभएका नेपालका कन्टेनरहरुको सीमापार नभएकाले उनीहरुले आफ्नो कन्टेनर सामान लोड गर्न सीमापारी जान पाउँदैनन् । नाकामा सीमावर्ती क्षेत्रका स्थानीय चालकहरुलेनै कोरलानाकाको सीमापारी सामान लोड गर्न जाँदा कन्टेनर लाने र लैजाने काम गर्दैआईरहेका छन् । कन्टेनर चालक सुरेन्द्र थापाका अनुसार सीमापारी कन्टेनर लाने र लैजाने काम गर्दा स्थानीय चालकहरुको कुनै गल्ती नभएको उल्लेख गर्नुभयो । स्थानीय चालकहरुले सीमापारी गाडी लाने लैजान गर्दा सीमित शुल्क लिने गरेको भएपनि सामान लोड गर्न सीमापारी पु¥याईएका कन्टेनरहरु एकपछि अर्को कन्टेनरहरुको क्षति हुने गरेको चालक थापाको भनाई छ ।

सोही विषयलाई लिएर कोरलानाकामा मालवस्तु लोड गर्न गएका कन्टेनरका चालकहरुले भन्सार कार्यालयले समन्वय नगरेको भन्दै बिरोध जनाएका हुन् । मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले कोरलानाकाबाट मालवस्तु लोड गर्न गएका कन्टेनरहरु क्षति हुने गरेको बिषयमा चालकहरुले सामान्य बिरोध जनाएको बताउँनुभयो । कन्टेनर चालकहरुले सीमापारी सामान मालवस्तु लोड गर्न जाँदा र निस्किदा कन्टेनरहरुमा कुनै प्रकारको क्षति हुन नहुँने सुनिश्चिताको माग गरेका छन् ।

 भन्सार प्रमुख चुडालले चालकहरुको गुनासोहरुलाई सुन्ने प्रयास भईरहेको र यहाँ समाधान गर्न सकिने भए यहीबाट र नसकिने भए विभागमा कुरा राखिने जानकारी दिनुभयो ।

 यस्तै, कोरला स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी)का ईञ्चार्ज प्रकाश धितालका अनुसार सीमापारी सामान लोड गर्न गएका कन्टेनर टुटफुट भयो भन्ने विषयमा कन्टेनर चालकहरुले सामान्य असन्तुष्टि प्रकट गरेको जानकारी दिनुभयो ।

 कन्टेनर चालकहरुले भन्सार कार्यालयले यसको समन्वय गरी आगामी दिनमा देखिन सक्ने समस्यालाई समाधान गर्न पहल होस भन्दै मौखिक रुपमा विभिन्न माग भन्सार कार्यालय समक्ष राखेका छन् । भन्सार कार्यालय प्रमुख विदुर चुडालका अनुसार अहिले कोरला स्थित मुस्ताङ भन्सार कार्यालयमा कन्टेनर चालकहरुसंग छलफल तथा वार्ता भईरहेको जानकारी दिनुभयो ।


प्रतिक्रिया