उच्चघनत्व प्रविधीमा आधारित (हाईब्रिड) स्याउ खेतीतर्फ मुस्ताङका किसानको आर्कषण बढ्दो छ । एक दशक अघि मनाङ एग्रोले परीक्षण गरेको हाईब्रिड खेती मुस्ताङमा विस्तार हुन थालेपछि यहाँका किसानले स्थानीय जाँतका लोकल स्याउ खेतीलाई निरन्तरता दिदै उच्चघनत्व प्रविधीका (हाईब्रिड) स्याउ खेतीलाई व्यवसायिक रुपमा पछ्याउन थालेका छन् ।
मुस्ताङमा गतवर्षसम्म स्थानीय जातका स्याउ ८७३ हेक्टर र उच्चघनत्वको (हाईब्रिड) स्याउ ६२ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । परम्परागत स्याउका विरुवा रोपण घट्दै जाँदा मुस्ताङमा हाईब्रिड स्याउका विरुवा रोपण बढ्दो छ । पछिल्लो एक दशकदेखि मुस्ताङका कृषकहरुले रोपण गरेको दोस्रो वर्षमै फल दिनसक्ने क्षमताको हाईब्रिड स्याउका विरुवा लगाउदै आईरहेका छन् । विरुवा र पूर्वाधार व्यवस्थापनमा स्थानीय लोकल स्याउ भन्दा केही बढी खर्चिलो हुने भएपनि मुस्ताङका किसानले छिटो छरितो उत्पादन दिनसक्ने क्षमताको हाईब्रिड स्याउ खेतीलाई उच्च प्राथमिकता दिईरहेका छन् ।
मुस्ताङमा हाईब्रिड स्याउ खेती सुरु गरिएको करिव एक दशक पुगेको छ । त्यस अवधिमा यहाँका किसानले सरकारी निकायको कृषि अनुदान मार्फत ईटालीबाट आयात गरिएको एम नाईन रुट स्टक हाईब्रिड स्याउका विरुवाहरु रोपण गर्दैआईरहेका छन् । स्थानीय स्याउका विरुवा सस्तो मूल्यमा पाईने भएपनि हाईब्रिड स्याउको एउँटै विरुवाको एक हजार भन्दा बढी मूल्य पर्छ ।
बर्सेनि हजारौ विरुवा विदेशबाट ढुवानी गरी रोपण गरिने भएपनि किसानको माग अनुसार अनुकुल विरुवा रोपण गर्ने समयमा हाईब्रिड स्याउ विरुवाहरु उपलब्ध नहुँदा मुस्ताङका किसानलाई हाईब्रिड स्याउको बगैचा विस्तार गर्नमा समस्या हुने गरेको छ । विदेशबाट आयात गरिने भएकाले ढुवानी शुल्कका कारण यसप्रकारका हाईब्रिड स्याउका विरुवा मुस्ताङ ल्याई किसान समक्ष पु¥याउँदा चर्को मुल्यमा विरुवा खरिद गर्नुपर्ने बाध्यकारी अवस्था पनि छ ।
विदेशबाट आयात गरिने हाईब्रिड स्याउका विरुवा जिल्लामै उत्पादन हुन सकेमा यहाँका किसानलाई सस्तो,सहज र उपयुक्त समयमा विरुवाको माग पुरा गर्न सकिन्छ । मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेका किसान राजन शेर्पाले विस २०७३ सालदेखि उच्चघनत्वको(हाईब्रिड) स्याउका विरुवा उत्पादन गर्न सुरु गर्नुभयो । विस २०५९ सालदेखि स्याउका विरुवा उत्पादन गर्दै आईरहेका व्यवसायी राजन शेर्पाले स्याउको नर्सरी उद्योग सञ्चालन गर्न थालेको तेईस वर्ष पुरा भईसकेको छ । मुस्ताङका किसानहरुको आकर्षण हाईब्रिड स्याउ खेतीतर्फ बढेकाले उहाँले विगत दश वर्षदेखि हाईब्रिड स्याउको विरुवा उत्पादन गर्न नर्सरी हाईब्रिड स्याउ विरुवाको उद्योगलाई पनि विस्तार गर्नुभयो ।
पछिल्लो समय शेर्पाले मुस्ताङको टुकुचे स्थित क्यूपरघाङ क्षेत्रमा आफ्नो ४३ रोपनी जग्गा मध्ये १० रोपनी जग्गामा हाईब्रिड स्याउका नर्सरी विरुवा उत्पादन गरिरहेको बताउँछन् । क्यूपरघाङका बाँकी जग्गामा भने उहाँले स्याउ खेतीसंगै स्थानीय जातका लोकल स्याउका नर्सरी विरुवा उत्पादन गर्नुभएको छ। मुस्ताङका किसानले हाईब्रिड स्याउ खेतीलाई पछ्याउन थालेसंगै शेर्पाले त्यहाँ टुकुचे स्याउ नर्सरी उद्योगका रुपमा स्थानीय र हाईब्रिड स्याउका विरुवा उत्पादन गर्ने गरी नर्सरी उद्योग सञ्चालन गर्नुभएको हो ।
व्यवसायी शेर्पाले नेदरल्याण्डका एकजना स्याउ विज्ञसंग परामर्श गरी नेपालमै पहिलो पटक मुस्ताङको टुकुचेमा जेनेभा जी सिक्टिङ जातका हाइब्रिड स्याउका विरुवा उत्पादन गर्न थाल्नुभएको हो । व्यवसायी शेर्पाका अनुसार नसरी उद्योगमा हाईब्रिड गोल्डेन,गाला,किङ रट,फुजी र सिथलिङ जातका स्याउ विरुवा उत्पादन गर्नुभएको छ । व्यवसायी शेर्पाले विज्ञहरुको मरामर्श लिएर नेपालमै पहिलो पटक मुस्ताङमा हाईब्रिड विरुवा उत्पादन गर्न सुरु गरेको बताउँनुहुन्छ ।
सुरुवाती चरणमा हाईब्रिड स्याउका विरुवा उत्पादनतर्फ लाग्दा सन्तोषजनक परिणाम आउन नसकेपनि गतवर्षदेखि हाईब्रिड स्याउका विरुवाको उत्पादन राम्रो हुन थालेको व्यवसायी शेर्पा बताउँनुहुन्छ । उहाँले गतववर्ष सम्म २० हजार बढी हाईब्रिड स्याउका विरुवा वितरण गर्नुभएकोमा चालुवर्ष १० हजार हाईब्रिड स्याउका विरुवा बिक्री गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
स्वदेशमै पहिलो पटक हाईब्रिड स्याउका विरुवा उत्पादन गर्न कस्सिएका शेर्पाले आफ्नो विरुवा उत्पादनलाई सरकारी निकायबाट साथ सहयोगको आवश्यक रहेको औल्याउनु भयो । सरकारी निकायबाट किसानलाई अनुदान सहुलियत आफ्नो उद्योगको विरुवा बिक्री गर्न र ब्रान्डिङ गर्न नसकेसम्म उद्योग स्थापित हुन गारो हुने व्यवसायी शेर्पाको भनाई छ । ‘हालसम्म गरिएको हाईब्रिड स्याउ विरुवा उत्पादन परीक्षण सफल भएको छ, अब यसको ब्यापक प्रचार÷प्रसार र प्रवद्र्धनको खाँचो छ,’ शेर्पाले भन्नुभयो ।’ आफूले उत्पादन गरेको विरुवाको रोगप्रतिरोधात्मक क्षमता बढी भएकाले किसानले कुनै क्षति व्यवहोर्नु नपर्ने उहाँको भनाई छ ।
यसवर्ष व्यवसायी शेर्पाले आफुले उत्पादन गरेको हाईब्रिड स्याउ विरुवा प्रति विरुवा एक हजार बढीमा बिक्री गर्ने जनाउँनुभएको छ । व्यवसायिक रुपमा विरुवा उत्पादन गर्न उद्योग सञ्चालन गर्नुभएका शेर्पाले उद्योगमा दश जना भन्दा बढीलाई रोजगारी दिनुभएको छ । उच्चघनत्वको एम नाईन रुट स्टक विरुवा भन्दा जेनेभा जी सिक्टिन जातको विरुवा अब्बल भएकाले मुस्ताङ लगायतका किसानलाई विरुवा खरिद गर्न आह्वान गर्नुभएको छ ।
यसका अतिरिक्त व्यवसायी शेपाका उद्योगमा करिव सात हजार बढी स्थानीय जातका स्याउ विरुवा बिक्रीको चरणमा रहेको बताउँनुहुन्छ । आफुले उत्पादन गरेको लोकल स्थानीय जातको स्याउ विरुवा बढी मात्रामा डोल्पातर्फ बिक्री हुने गरेको जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली